+
+
राष्ट्रियसभा निर्वाचन २०७८ :

जनकपुरमा तनाव, हेटौंडामा हात हालाहाल, अन्त शान्तिपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १२:११

१२ माघ, काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सातवटै प्रदेशमा निर्वाचन जारी छ । मतदानको समय अपराह्न तीन बजेसम्म तोकिएको छ ।

मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मधेश प्रदेशमा पटक–पटक झडप भए पनि अन्य प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । यद्यपि मतदान भने नरोकिएको निर्वाचन आयोगले जनाएको छ ।

जनकपुरधाम तनावग्रस्त

मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको छ । जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेश सभा सदस्य मनिष सुमन तथा सर्लाहीको हरिवन नगरपालिकाका मेयर र उपमेयर सवार गाडी तोडफोड गरेका छन् । सो क्रममा सुमन र मेयर गणेश प्रसाईं सामान्य घाइते भएका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव सवार गाडीमा पनि रामानन्द चोकमा तोडफोड भएको छ । गाडी चालक लक्ष्मी कुमार यादव घाइते भएका छन् ।

किसानका मुद्दा उठाउँदै जिल्लामा गतिविधि गर्दै आएका उनीहरुले आज निर्वाचनको दिन बिहानैदेखि जनकपुरधामका चोकहरुमा टायर बालेर प्रदर्शन गर्दै आएका थिए । निर्वाचनस्थलमा समेत प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

बागमतीमा पनि केहीबेर तनाव

बागमती प्रदेशमा पनि केहीबेर तनावको स्थिति देखियो । प्रदेशसभामा माओवादी केन्द्रबाट समानुपातिक सांसद रहेकी हिमाली गोलेले आफूले मतदान गरेको तस्वीर आफैंले खिचेपछि तनाव भएको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनलाई तस्वीर नखिच्न र खिचेको तस्वीर पनि हटाउन भनेपछि भनाभन भएको थियो । त्यही बेला माओवादी केन्द्रका अर्का प्रदेशसभा सदस्य राजकाजी महर्जनले पनि श्रेष्ठसँग बाझेका थिए ।

श्रेष्ठले आफूले बनाएको कानून आफैंले उल्लंघन नगर्न भनेका थिए भने प्रदेशसभा सदस्यहरुले अपराध गरेजस्तो व्यवहार गरेको भन्दै प्रतिवाद गरेका थिए । त्यही बेला धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।

हेटौंडा–८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान बिहान ९ बजे सुरु हुने भनिएको मतदान पानी परेका कारण निर्धारित समयभन्दा ४० मिनेट ढिलो सुरु भएको थियो । त्यही बेला फोटो खिचेको विषयको विवादले फेरि पनि केहीबेर मतदान रोकिएको थियो ।

अन्य प्रदेशहरुमा निर्वाचन शान्तिपूर्ण छ । प्रदेश १ मा सामाजिक विकास मन्त्री जयराम यादवले पहिलो मतदान गरेका थिए । मुख्यमन्त्री राजेन्द्र राईले पनि मतदान गरेका थिए ।

यसैगरी लुम्बिनी प्रदेशको दाङस्थित कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि नै मतदान जारी छ । मुख्यमन्त्री कुलप्रसाद केसीले सुरुमा मतदान गरे । पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि मतदान गरेका छन् ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि निर्वाचन भइरहेको हो । लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको कार्यकाल सकिदैछ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि राष्ट्रिय सभा निर्वाचनको मतदान जारी छ । सुदूरपश्चिममा तीन सिटका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा मतदान शुरू भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्र ‘ख’ मा भोट खसालिरहेका छन् ।

गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?