+
+

स्थानीय तहको निर्वाचन ६ महिना धकेल्न सकिन्छ : संघीय मामिलामन्त्री श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १७:४२

१२ माघ, काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताएका छन् ।

बुधबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले तीन वटा चरणमा भएको निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष नपुग्ने भएकाले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताएका हुन् ।

जनप्रतिनिधिहरुले आफूहरुले पूरा कार्यकाल चलाउन पाउनुपर्ने माग राखिरहेको भन्दै उनीहरुको माग अगावै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न नमिल्ने तर्क समेत उनले गरे ।

कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्ने भनिएमा सबैको कार्यकाल पनि सकिने र पहिलो निर्वाचन मितिले ६ महिनाभित्र पनि पर्ने हुनाले त्यसरी नै निर्वाचनको मिति निर्धारण गर्दा सबैलाई मिल्ने उनको भनाइ छ।

उनले भने, ‘निर्वाचित जनप्रतिनिधिहरुले के भनिरहेका छन् भने हाम्रो कार्यकाल पाँच वर्षको हुनेछ भन्या छ । तर असारको १४ गते भएको दोस्रो चरणको निर्वाचनको त वैशाखमा चुनाव हुँदा त कार्यअवधि पाँच वर्ष नपुग्ने भयो ।कार्यकाल सकिएको ६ महिनाभित्र भनेपछि ६ महिना नै हुनुपर्छ भन्ने भएन, त्यस हिसाबले सबैको कार्यकाल सकिने तर ६ महिना भित्र पनि पर्ने डेट निर्धारण गर्न गयौँ भने यो सबैलाई मिल्ने हुन्छ भन्ने मलाई लागेको छ ।’

मन्त्री श्रेष्ठले निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनमा छलफल भइरहेको बताए । प्रधानमन्त्रीले तोकेकै मितिमा निर्वाचन हुने उनले दाबी गरे। उनले कतिपय व्यक्तिहरुले सत्तारुढ गठबन्धनको फुटको कामना गरिरहेको भएपनि गठबन्धन नफुट्ने दावी गरे ।

निर्वाचन अघि वा निर्वाचन पछिसम्म नै कुनै न कुनै रुपको गठबन्धन कायमै रहने उनले स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले जुन डेट प्रस्तुत गर्नुहुन्छ, त्यही डेटमा चुनाव हुन्छ । गठबन्धनको बैठकमा सरसल्लाह पनि भइरहेको छ । गठबन्धनले जे निर्णय गर्छ त्यो सहमतीमा गर्छ । गठबन्धन फुटिदिए हुन्थ्यो कि, टुटिदिए हुन्थ्यो कि भनेर कतिपय व्यक्तिहरु धमिलो पानिमा माछा मार्न पनि प्रयत्न गरिरहेका छन् । हामी कुनै न कुनै रुपको गठबन्धनबाटै अगाडी बढ्न चाहन्छौँ ।’

मन्त्री श्रेष्ठले जुनसुकै समयमा निर्वाचन गरेपनि वर्तमान सत्ता गठबन्धन पक्षधरहरुको दुई तिहाई बहुमत आउने दावीसमेत गरे। गठबन्धनका लागि जुनसुकै समयमा निर्वाचन गरेपनि प्रतिकूलता नरहेको उनले जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?