+
+

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

रासस रासस
२०७८ माघ १३ गते १४:५६

१३ माघ, काठमाडौं ।  तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल जिल्लाकै एकमात्र विद्यालय हो ।

सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी र रोचक बनाउने अभिप्रायले विद्यालयले सञ्चालन गरेका कार्यक्रमले उक्त अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए । प्रअ बस्नेतका अनुसार विद्यालयले सातवटा परियोजना गरेको थियो । ‘सन् २०२०/२१ का लागि विभिन्न सातवटा परियोजना गरेर काउन्सिलमा प्रस्ताव पेश गरेका थियौँ, विद्यालयले पेश गरेको प्रस्ताव छनोट भएर प्राप्त अवार्डले विद्यालयको गौरव बढाएको छ’, बस्नेतले भने ।

विद्यालयभित्र स्थानीय पाठ्यक्रममा आधारित रहेर विभिन्न क्रियाकलाप सञ्चालन गरिएको थियो । त्यस्तै सामुदायिक र संस्थागत विद्यालयसँग मिलेर शिक्षण सिकाइ, विदेशी विद्यालयसँग पनि सम्बन्ध राखेर त्यहाँको विद्यार्थी र निर्मलका विद्यार्थीबीच शिक्षण सिकाइ आदान–प्रदान गरिएको बस्नेतले बताए । निर्मलले भारतको एक विद्यालयसँग पनि सहकार्य गरेर काम गरेको थियो । त्यहाँको स्थानीय भाषा र दमौलीको स्थानीय दरै भाषाका विषयमा विद्यार्थीबीच अनुभव आदानप्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय विद्यालय अवार्डले विद्यालयमा अन्तर्राष्ट्रिय आयाम समावेश गर्ने राम्रो अभ्यासलाई मान्यता दिँदै आएको छ । सन् २०१२ यता नेपालका ४९३ विद्यालयले यस अवार्डका लागि भाग लिएकामा १४६ विद्यालयले अवार्ड प्राप्त गरेको काउन्सिलले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?