+
+

स्वास्थ्य मन्त्रायलको हेलचेक्र्याइँले बुस्टर डोजमा ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १८:३४

१४ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई शुक्रबारदेखि बुस्टर डोज दिने निर्णय गरेको थियो ।

तर, शुक्रबार खोपकेन्द्रमा पुगेका जेष्ठ नागरिक तथा दीर्घरोगीले खोप लगाउन पाएनन् । स्वास्थ्य मन्त्रालयका मातहातका निकायबीच राम्रो समन्वय नहुँदा खोप लगाउन गएका सर्वसाधारणले सास्ती भोग्नु परिरहेको छ ।

मन्त्रालयका एक उच्च अधिकारीले दीर्घकालीन योजनाविना नै निर्णय गर्दा खोप अभियान प्रभावित भएको हो । ‘स्वास्थ्य मन्त्रालयका अधिकारीले आफ्नो हिसाबले निर्णय गर्छन् । तल्लो निकायमा के भइरहेको छ भन्ने छलफल समेत हुँदैन,’ ती अधिकारी भन्छन्’, ‘भेरोसेल खोप भण्डार छैन भन्ने थाहा हुँदाहुँदै बुस्टर डोज दिने निर्णय गरियो ।’

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अनुसार अहिले नेपालमा भेरोसेल खोपको मौज्दात शून्य छ । कहिले आउँछ भन्ने पनि टुंगो छैन । बुस्टर डोज दिने निर्णय गरिरहँदा कुन समूहलाई कति खोप चाहिन्छ, खोपको मौज्दात कति छ भन्ने योजना नबनाएको कर्मचारीहरू बताउँछन् ।

‘सरकारले पहिलो, दोस्रो र बुस्टर डोज दिइरहेको छ । कुन–कुन समूहलाई कुन खोप कहिले दिने योजना हुनुपथ्र्यो,’ ती अधिकारी भन्छन्, ‘जति सक्यो खोप खर्च गरेर बढी खोप लगाएको तथ्यांक बढाउन एक सूत्रीय तरिकाले मात्रै काम भएको देखिन्छ ।’

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रा भेरोसेल खोपको मौज्दात सकिएकाले खोप अभियान स्थगित गरिएको बताइन् । ‘अहिले भेरोसेल खोप मौज्दात छैन, त्यसकारण खोप अभियान स्थगित गरेका छौं, खोप आएपछि सुरुवात गर्छौं’ उनले भनिन् ।

परिवार कल्याण महाशाखा र प्रदेश र जिल्लाका स्वास्थ्यसम्बन्धी निकायबीच पनि खोपका विषयमा राम्रो समवन्य भएको छैन । परिवार कल्याण महाशाखाबाट समयमै परिपत्र नहुँदा खोप अभियान सञ्चालनमा विभिन्न बाँधा झेल्नुपरेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्ले बताउँछन् ।

‘परिवार कल्याण महाशाखा अघिल्लो दिन निर्णय गर्दै भोलिदेखि काम गर भन्ने परिपत्र गर्छ,’ काफ्ले भन्छन्, ‘दुईचार दिन अगाडि समवन्य भए हामीलाई पनि खोप अभियान सञ्चालन गर्न सजिलो हुन्थ्यो । समयमै समवन्य नहुँदा पटक–पटक खोप अभियान प्रभावित बन्न पुगेको छ ।’

हुनत यसअघि पनि स्वास्थ्य मन्त्रालयका मातहातमा रहेका निकायले गरेका निर्णय २४ घण्टा नपुग्दै परिवर्तन भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले १९ पुसमा एक सूचना निकाल्दै देशभरका जेष्ठ नागरिक तथा दीर्घरोगीलाई २० पुसदेखि अतिरक्त डोज (बुस्टर) खोप दिने निर्णय गरेको थियो । तर, उक्त निर्णयलाई मन्त्रालयले हस्तक्षेप गर्दै स्थगित गरिदियो । मन्त्रालयले परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लालमाथि मौखिक स्पष्टीकरण समेत सोध्यो ।

मन्त्रालयको ढिलासुस्ती

नेपालमा भेरोसेल खोपको मौज्दात नभएकाले यो खोप लगाएका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कहिले बुस्टर डोज दिने भन्ने अन्योल छ । खोप सल्लाहकार समितिले एक हप्ताअघि भेरोसेल खोप लगाएकालाई बुस्टर डोजमा कोभिशिल्ड खोप दिन सुझाव दिएको छ । खोप सल्लाहकार समितिका सदस्य प्रा.डा. गणेश राई भन्छन्, ‘पहिला भेरोसेल पूर्ण खोप लगाएका लागि भेरोसेल नै बुस्टर डोज दिँदा त्यति प्रभावकारी नभएको देखियो, भेरोसेल खोप लगाएकालाई पनि कोभिसिल्ड दिन सुझाव दिएका छौं ।’

मन्त्रालयले खोप सल्लाहकार समितिको सुझाव अनुसार कोभिशिल्ड खोप नै दिने निर्णय गरे पनि अझैसम्म मातहतका निकायमा पत्राचार गरेको छैन ।

‘भेरोसेल खोप लगाएका व्यक्तिलाई बुस्टर डोजमा कोभिसिल्ड दिने निर्णय भएको छ । तर, उक्त निर्णय बाहिर आएको छैन,’ मन्त्रालयका एक अधिकारी भन्छन्’, ‘ढिलासुस्ती नगरी उक्त निर्णय परिपत्र भएको भए आजदेखि दीर्घरोगीले बुस्टर डोज पाउँथे ।’

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि भेरोसेल खोपको पूर्ण मात्रा लगाएका लागि फाइजर, मोडर्ना वा कोभिसिल्ड खोप बढी प्रभावकारी देखिएको बताउँछन् ।

‘पहिला भेरोसेल लगाएका देशहरूले बुस्टर डोजको रुपमा अन्य खोप दिएका छन्,’ डा. सुवेदी भन्छन्, ‘खोपको प्रभावकारिताको हिसाबले पनि कोभिसिल्ड दिन उपयुक्त हुन्छ ।’

बुस्टर डोज लगाएका मानिसलाई गम्भीर संक्रमण नहुने र मृत्यु हुनबाट धेरै हदसम्म जोगाउने अध्ययनले देखाएको छ । सरकारले नागरिकको स्वास्थ्यप्रति संवेदनशीलता नदेखाएको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् ।

‘बुस्टर डोज खोप दिने भनेर निर्णय गर्दा खोप कति छ, कति आउने त्रममा छ भनेर योजना बनाउनुपर्थो,’ डा. मरासिनी भन्छन्, ‘हचुवाको भरमा निर्णयबाट सरकार कति नागरिकको स्वास्थ्यमा संवेदनशील छ भन्ने प्रष्ट हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?