+
+

बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माण कछुवा गतिमा

टोपराज शर्मा टोपराज शर्मा
२०७८ माघ १४ गते १९:३८

१४ माघ, बुटवल । बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको काम कछुवा गतिमा अघि बढेको छ । बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित बुटवल मण्डपमा साढे १० बिघा क्षेत्रफलमा ‘बुटवल प्रदर्शनी केन्द्र’ निर्माण भइरहेको छ ।

गत ०७६ जेठ १३ गते शिलान्यास भई २७ महिनामा पूरा गर्ने भनिएको आयोजना समयमा पूरा नहुने भएपछि गत साउन ४ मा आउँदो चैत महिनाको मसान्तसम्म म्याद थपिएको थियो । नेपाल सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभाग अन्तर्गतको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले ग्लोबल टेन्डरमार्फत क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले निर्माणको ठेक्का पाएको थियो ।

थपिएको म्याद सकिन दुई महिना मात्र रहँदा बल्ल ३६ प्रतिशत मात्र पूरा भएको आयोजनाका प्रमुख धर्मेन्द्र पन्थले बताए । ‘रुख कटान प्रकृया र कोरोना महामारीका कारण निर्माणमा ढिला भएको हो’, आयोजनाका प्रमुख धर्मेन्द्र पन्थले भने, ‘आउँदो चैतमा पनि निर्माण पूरा नहुने निश्चित भएपछि फेरि २०७९ सा चैत मसान्तसम्म काम पूरा गर्ने र २०८० वैशाखमा उद्घाटन गर्ने गरी म्याद थप्ने तयारी छ ।’

यस्तो बन्नेछ प्रदर्शनी केन्द्र

बुटवलको राजमार्ग चौराहबाट पूर्वपट्टि बुटवल मण्डपको कुल जग्गा साढे १६ बिघा छ । यही जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थल बन्न लागेको हो । एक अर्ब दुई करोड रुपैयाँभन्दा बढी लागतमा बन्ने यो प्रदर्शनी स्थल मुलुककै नमूना हुने बताइएको छ ।

८३८ वटा स्टलहरु रहने तथा एक हजार जना क्षमताको दुई वटा मिटिङ हल र एक हजार जना क्षमताको फुड कोर्ट रहने प्रदर्शनी केन्द्रमै हरियालीसहितका चिल्ड्रेन पार्क, आधुनिक बैठक कक्ष, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरणका पेभेलियनहरु तयार पारिनेछन् ।

खुला स्थानमा ठूला–ठूला उपकरणहरूको छुट्टै प्रदर्शनी गराइनेछ । त्यहाँ डोजर, लोडर, गाडीलगायत साधनहरूको प्रदर्शनी हुनेछ । प्रदर्शनी केन्द्रका लागि ट्रस सिस्टमको ठूलो हलमा १२ हजार स्क्वायर मिटरमा प्रदर्शनी गर्न मिल्ने गरी मूल स्थलको डिजाइन गरिएको छ ।

निर्माणमा ढिलाइ भएपछि रुपन्देही उद्योग संघले चासो व्यक्त गरेको छ । शुक्रबार संघको एक प्रतिनिधिमण्डलले प्रदर्शनी केन्द्र निर्माण स्थलको अवलोकन गर्दै निर्माण कार्य छिटो पूरा गर्न संघका अध्यक्ष माधव पौडेलले आयोजना प्रमुखलाई आग्रह गरे ।

संघले आउँदो २०७९ सालको पुसमा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएकाले सो अगावै निर्माण सम्पन्न भएमा प्रदर्शनी आयोजनाको अस्थायी संरचनामा हुने लाखौं रुपैयाँ बचत हुने बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?