+
+

मरिससविरुद्ध नेपालको जितका ५ विशेषता

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ माघ १६ गते ९:४०

१६ माघ, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले शनिवार मरिसलाई पराजित गर्दै पहिलो पटक अफ्रिकन राष्ट्रसँग आधिकारिक रुपमा मैत्रीपूर्ण खेल खेल्यो ।

फरवार्ड विमल घर्तीमगरले दुई वर्षभन्दा बढी समयपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै गोल गरेपछि नेपालले मरिससलाई पहिलो मैत्रीपूर्ण खेलमा १–० ले हरायो ।

कोभिड–१९ महामारीको समयमा एक तिहाइ दर्शकसहितको उपस्थितिमा खेल्दा राष्ट्रिय टिमले घरेलु मैदानमा जितसहित दर्शकलाई खुशी दियो ।

यस्तै नेपालका मुख्य प्रशिक्षक अबदुलाल्ह अलमुताइरीले पनि नेपालको प्रशिक्षकको रुपमा घरेलु मैदानमा पहिलो जित हात पारे ।

शनिबारको खेलमा नेपालले जितको अन्तर बढाउन सक्थ्यो । तर दोस्रो हाफमा अन्जन विष्ट र जगजित श्रेष्ठले गोलको अवसरलाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा पनि अन्जन र विमलले अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

दोस्रो हाफको सुरुमै मरिससका ज्याक्सनले गोल गर्ने राम्रो अवसर बनाए पनि पोष्ट बाधक बन्दा अग्रता लिनबाट चुकेको थियो । तर ५५औं मिनेटमा अन्जन विष्टले मध्य भाग नजिकबाट उपलब्ध गराएको पासमा अनमार्क रहेका विमलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । मरिससका कप्तान तथा गोलकिपर केभिनले रोक्ने कुनै अवसर पाएनन् ।

अर्कोतर्फ मरिससले साढे दुई वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेद पनि नेपालले घरेलु मैदानमै चुनौती दिएको थियो । मरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले ४५ दिनको तयारीमा नेपालमा खेल्न आएको र आफ्नो टिमले राम्रै खेलेको बताए ।

नेपालले अफ्रिकन टिमविरुद्ध ऐतिहासिक खेल खेल्दै जित हात पार्दा बनेको केही विशेषताहरु यस्ता छन् ।

मैत्रीपूर्ण खेलमा एक दशकपछि जित

नेपाली फुटबल टिमले मैत्रीपूर्ण खेल जितेको एक दशकपछि यो पहिलो पटक हो । नेपालले सन् २०११ मा भुटानलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको थियो । त्यसपछि देश भित्र र देश बाहिर गरी २३ मैत्रीपूर्ण खेलमा नेपालले जित हात पार्न सकेको थिएन ।

मरिससलाई हराएपछि नेपालले मैत्रीपूर्ण खेलमा जितविहीन यात्रालाई समाप्त गरेको छ । नेपालले पछिल्लो मैत्रीपूर्ण खेल गत मेमा इराकसँग खेलेको थियो र उक्त खेलमा नेपाल ६–२ ले पराजित भएको थियो ।

नेपालले मैत्रीपूर्ण खेल खेल्न थालेपछि दशरथ रंगशालामा पनि यो पहिलो मैत्रीपूर्ण जित हो । साथै मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले पनि प्रशिक्षकको रुपमा दशरथ रंगशालमा पहिलो खेल जितेका छन् । उनी प्रशिक्षक बनेपछि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक खेल बराबरी गर्दा अर्को खेलमा पराजित भएको थियो ।

पुनरागमनमा विमलको गोल

२३ वर्षीय विमल घर्ती मगरले दुई वर्षपछि राष्ट्रिय फुटबल टिममा पुनरागमन गर्दै गोल गरे ।  पछिल्लो पटक सन् २०१९ नोभेम्बरमा म्यानमारसँग मन्डालामा मैत्रीपूर्ण खेल खेलेका विमलले २६ महिनापछि राष्ट्रिय टिमबाट पहिलो खेल खेलेका हुन् । जसमा उनले गोल नै गरे । प्रतिवन्ध र घुँडाको चोटका कारण विमल दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।

मुख्य प्रशिक्षक अलमुताइरीले विमललाई यसपटक टिममा राख्दा पहिलो रोजाइमा अवसर दिए । घरेलु दर्शकलाई विमलले पनि निराश पारेनन् ।

मरिसस विरुद्धको गोल राष्ट्रिय टिमका लागि विमलको नवौं गोल हो । उनी नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझीको १३ गोलभन्दा मात्र ४ गोलले पछि छन् ।

यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेशविरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लो पटक गोल गरेका थिए ।

३ खेलाडीको पुनरागमन

मरिसस विरुद्धको खेलमा विमलसँगै ३ खेलाडीले राष्ट्रिय टिममा पुनरागमन गरे । विमलसँगै डिफेण्डर देवेन्द्र तामाङले दुई वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दा मिडफिल्डर जगजित श्रेष्ठले झण्डै ७ वर्षपछि राष्ट्रिय टिमबाट खेले ।

विमल र देवेन्द्रले पहिलो रोजाइमै खेलेका थिए भने जगजित दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । विमलले ७४ मिनेट मैदानमा बिताए । देवेन्द्रले पूरै समय मैदानमा बिताए । जगजित भने ६१औं मिनेटमा सुनिल बलको स्थानमा मैदान प्रवेश गरेका थिए ।

विमलले सन् २०१९ नोभेम्बरपछि नेपालका लागि पहिलो पटक खेलेका हुन् । यस्तै देवेन्द्रले सन् २०१९ नोभेम्बरमै भुटानको थिम्पुमा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध खेलेपछि नेपालका लागि पहिलो खेल खेलेका हुन् । उनी खुट्टाको चोटका कारण राष्ट्रिय टिमबाट दुई वर्ष मैदान बाहिर थिए ।

यस्तै जगजितले सन् २०१५ पछि पहिलो पटक नेपालको लागि खेलेका हुन् । उनले सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिपमा पछिल्लो पटक भारतविरुद्ध नेपालका लागि खेलेका थिए ।

२ खेलाडीको डेब्यु

३ खेलाडीले पुनरागमन गर्दा २ खेलाडीले मरिससविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरे । सातदोबाटो युथ क्लबबाट घरेलु फुटबल खेल्ने मिडफिल्डरद्वय सुदिप गुरुङ र आकाश बुढामगरले राष्ट्रिय टिममा पहिलो पटक खेलेका हुन् ।

सुदिप ८५ औं मिनेटमा सुरज ज्यु ठकुरीको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै उमेर समूहको राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका आकाशले इन्जुरी टाइममा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।

सुदिप र आकाश पहिलो पटक बन्द प्रशिक्षणमा पर्दै राष्ट्रिय टिममा परेका हुन् । पहिलो अवसरमै मुख्य प्रशिक्षक अलमुताइरीले दुई खेलाडीलाई अवसर दिए ।

पहिलो पटक राष्ट्रिय टिममा परेका सातदोबाटोकै प्रशान्त अवस्थी र गोलकिपर टिकेन्द्र थापाले भने डेब्युको अवसर पाएनन् । यस्तै टिममा रहेका अर्का गोलकिपर दीप कार्कीले पनि डेब्यु गर्न बाँकी छ ।

प्रशिक्षक अलमुताइरीले मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीमा ४ नयाँ खेलाडी समावेश गरेका थिए ।

अब मंगलबार हुने दोस्रो मैत्रीपूर्ण खेलमा ५ नयाँ खेलाडीसहित ११ फरक खेलाडी हुनेछन् । पहिलो खेलका लागि टिममा रहेका १२ खेलाडी मात्र दोस्रो खेलका लागि पनि टिममा रहनेछन् ।

महामारीमा एक तिहाइ दर्शक

अहिले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको असर बढ्दो छ । यस्तो अवस्थामा सरकार र स्थानीय प्रशासनले धेरै भिडभाड नगर्न आग्रह गरिरहेका छन् । तर शनिवारको खेलमा दशरथ रंगशालाको कूल क्षमताको एक तिहाइ अर्थात ५ हजार दर्शकका लागि प्रवेश अनुमति थियो । सरकारको स्वास्थ्य प्रोटोकल र स्थानीय प्रशासनको निर्णय अनुसार एक तिहाइ दर्शकलाई रंगशालामा प्रवेश अनुमति थियो । रंगशाला प्रवेश गर्नेले कोभिड–१९ को खोप लगाएको कार्ड देखाउनुपर्ने थियो ।

महामारीकै समयमा पनि पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा नेपाली टिमले घरेलु मैदानमा केही मात्रामा भए पनि दर्शकको साथ पायो ।

प्रशिक्षक अलमुताइरीले पनि घरेलु दर्शकको अगाडि खेल जितेपछि पोष्ट म्याच कन्फ्रेन्समा खुशी व्यक्त गरे । उनले नेपाल आफ्नो परिवार जस्तै रहेको र आफूले यहाँ जस्तो माया अन्त नपाएको समेत बताए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?