+
+

ललितपुर महानगरले चार रुटमा सीसीटीभी क्यामेरा जडान गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १३:१२

१७ माघ, ललितपुर । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न ठाउँमा सीसीटीभी क्यामेरा जडान गर्ने भएको छ । महानगरले महानगरीय प्रहरी परिसर जावलाखेलसँग सहकार्य गरेर सीसीटीभी क्यामेरा जडान गर्न लागेको हो ।

सीसीटीभी क्यामेरा जडानका लागि महानगर र प्रहरी परिसर जावलाखेलबीच सोमबार एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र परिसरका वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले हस्ताक्षर गरे ।

महानगरले महानगरभित्रको चारवटा रुटमा दुई करोड लगानीमा सीसीटीभी क्यामेरा जडान गर्ने भएको हो । जडानका लागि प्रहरीले महानगरलाई प्राविधिक सहयोग गर्नेछ । सीसीटीभी क्यामेरा हाललाई स्मार्ट सडकबत्ती जडान भएका रुटमा राखिने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । यो क्यामेरा स्मार्ट सिटीको महत्वपूर्ण अवयव भएको बताउँदै सीसीटीभीले सहरलाई सुरक्षित बनाउने बताए । उनले भने, ‘अन्य रुटहरुमा पनि हामी स्मार्ट सडक बत्ती छिट्टै जडान गर्छौं, त्यसपछि ती रुटमा पनि सीसीटीभी क्यामेरा राख्छौं ।’

महानगरपालिकाले बागमती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६ सय ६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको छ ।

महानगरका प्रवक्ता राजु महर्जनले वडास्तरको बजेटबाट पनि सीसीटीभी क्यामेरा जडान गरेको बताए । सहरलाई सुरक्षित बनाउन यो सीसीटीभी जडानमा महानगरले लगानी गरेको उनको भनाइ थियो ।

अर्को चरण अन्तर्गत महानगरको रिङरोड बाहिरका बस्तीहरु खोकना, बङमती, हरिसिद्धी , सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडान गर्न टेण्डर प्रकाशित भइसकेको छ । त्यसैगरी ललितपुर महानगरभित्र पर्ने रिङरोडमा पनि स्मार्ट बत्ती जडान सडक विभाग र विद्युत प्राधिकरणसँग समझदारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?