+
+

सुरक्षा परिषद बैठकमा अमेरिका र रुसका प्रतिनिधिबीच चर्काचर्की

युक्रेनमा हमला गरे भीषण युद्ध हुने अमेरिकाको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते ११:४९

१८ माघ, काठमाडौं । युक्रेनमा जारी संकटबीच बसेको राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका कुटनीतिज्ञबीच चर्काचर्की भएको छ ।

सोमबार बसेको सुरक्षा परिषद्को बैठकमा राष्ट्रसंघका लागि अमेरिकी र रुसी राजदूतबीच चर्काचर्की भएको हो ।

बैठकमा राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले युक्रेनमा रुसले हमला गरे भीषण युद्ध सुरु हुने र यसबाट अन्तर्राष्ट्रिय सुरक्षा जोखिममा पर्ने चेतावनी दिइन् ।

‘मित्रहरू,  हामीले युरोपमा सामना गरिरहेको अवस्था खतरनाक र तत्काल ध्यान दिनु पर्ने खालको छ’, सुरक्षा परिषद्को विशेष खुला सत्रमा बोल्दै ग्रिनफिल्डले भनिन्, ‘रुसी गतिविधिले राष्ट्रसंघको बडापत्रमाथि प्रहार गर्छ । यसबाट शान्ति एवं सुरक्षामाथि खतरा पर्ने कुरा छर्लङ्ग छ यस्तो खतरालाई सहजै अनुमान गर्न सकिन्छ ।’

तर राष्ट्रसंघका लागि रुसी राजदूत भ्यासिली नेबेन्ज्याले अमेरिकामाथि नै उल्टो आरोप लगाएका थिए । नेबेन्ज्याले युक्रेनमाथि हमला गर्ने आफूहरूको कुनै योजना नभएको बताउँदा समेत अमेरिका र उसका सहयोगी राष्ट्रले युद्धको त्रास फैलाएको आरोप लगाए ।

‘युद्धको चेतावनीसम्बन्धी छलफल आफैंमा उक्साहटपूर्ण छ । तपाईँहरूले युद्धका लागि अपिल गरिरहनु भएको छ । तपाईँहरुले युद्ध होस् भन्ने चाहनुहन्छ’, नेबेन्ज्याले भने, ‘कुनै पनि रुसी राजनीतिज्ञ वा सार्वजनिक व्यक्तिले कहिल्यै युक्रेनमा हमला गर्ने चेतावनी नदिएको र हामीले यी आरोपलाई खण्डन गर्दै आइरहेको अवस्थामा समेत यस्तो कुरा भइरहेको छ ।’

अमेरिकाले युक्रेनलाई लिएर जारी संकटबारे छलफल गर्नुपर्ने अनुरोध गरेपछि सोमबार सुरक्षा परिषद्को बैठक बसेको थियो । युक्रेन संकटलाई कुटनीतिक पहलमार्फत् समाधान गर्नका लागि भइरहेका प्रयासबीच पहिलो पटक परिषदको बैठक बसेको हो ।

यसैबीच, सुरक्षा परिषद्को बैठकलगत्तै ह्वाइट हाउसले युक्रेन संकटलाई कूटनीतिक तबरले समाधान गर्न रुसलाई पुन: अपिल गरेको छ ।

‘यदि रुसले हाम्रा सुरक्षा चासोलाई वार्तामार्फत् सम्बोधन गर्ने इमान्दारिता देखायो भने हामी (अमेरिका) र हाम्रा सहयोगी एवं साझेदारले असल नियतका साथ कुराकानीलाई जारी राख्ने छौं’, अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तर रुसले कूटनीतिलाई बेवास्ता गर्दै युक्रेनमाथि हमला गरे गम्भीर परिणाम भोग्नु पर्न पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?