+
+

किन तनावपूर्ण बन्यो नेपाल-मरिससबीचको खेल ?

जब 'ब्युटिफुल गेम' 'डर्टी' बन्यो

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ माघ १९ गते १३:३२

१९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो पटक अफ्रिकन राष्ट्र विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्यो । मरिसस विरुद्धको दुवै खेल नेपालले १-० ले जित्दै लगातार दुई खेलमा क्लिन सिट पनि राख्यो ।

मंगलबार भएको दोस्रो खेलमा सुजल श्रेष्ठको एक मात्र गोलमा नेपालले मरिससलाई लगातार दोस्रो खेलमा हरायो ।

तर दशरथ रंगशालमा भएको खेलको दोस्रो हाफ भने तनावपूर्ण बन्यो । दोस्रो हाफको अधिकांश समय मरिससले ‘फिजिकल गेम’ खेल्दा कार्डको वर्षा नै भयो । खेलको रेफ्री नविन्द्र महर्जनले कूल ११ पहेँलो कार्ड र चार रातो कार्ड देखाए ।

खेल सकिएको अन्तिम सिठ्ठी बजाउँदा मरिससको नाममा ७ पहेँलो र २ रातो कार्ड थियो । यस्तै नेपालको नाममा ४ पहेँलो कार्ड र २ रातो कार्ड थियो । नेपालको एक रातो कार्ड भने अफिसियलले पाएका थिए । दोस्रो हाफमा खेल तनावपूर्ण हुँदा नेपाली टिमका गोलकिपर प्रशिक्षक रहेका विकास मल्ल मैदान प्रवेश गरेका कारण उनी पनि रातो कार्डको भागिदार बने ।

१५ कार्ड मध्ये २ पहेँलो कार्ड मात्र पहिलो हाफमा देखाइएको थियो र दुवै मरिससका खेलाडीले पाएका थिए । तर दोस्रो हाफमा खेल तनाव उत्पन्न हुँदा थप ९ पहेँलो र ४ रातो कार्ड देखाइयो ।

एक घण्टाको खेलमा खासै तनाव थिएन । ६० मिनेटसम्म नेपालले एक गोलको अग्रता लिइरहेको थियो । त्यसपछि भने खेलमा तनाव शुरु भयो । जब मरिससका वसिस्ट कुलकट्टाले नेपालका सुमन लामालाई फाउल गरे अनि तनाव भयो । सुमनले लगत्तै उठेर विपक्षी खेलाडीसंग प्रतिवाद गर्न थाले ।

मरिससका वसिस्टले सुमनलाई निधारमा धकेले । त्यसपछि मरिससका अन्य खेलाडी पनि आक्रामक बने । दुवै टिमका खेलाडीहरु बीच हात हालाहाल अवस्था सिर्जना भयो । अनि रेफ्री नविन्द्रले नेपालमा सुमन लामा र मरिससका वसिस्टसहित कप्तान एन्डी सोफीलाई पहेँलो कार्ड देखाए ।

नविन्द्रले फोर्थ अफिसियल प्रज्वल क्षेत्रीसंग समन्वयमा मरिससका अर्का खेलाडी एमानुएल फुलचन्दलाई पनि पहेँलो कार्ड देखाए । त्यसपछि खेल झनै फिजिकल बन्यो ।

६९औं मिनेटमा मरिससका एड्रियन बोटलरले नेपालका अन्जन विष्टलाई फाउल हानेर लडाएपछि खेलमा झन् तनावपूर्ण स्थिति बन्यो । अन्जनलाई लडाएपछि नेपाली खेलाडीहरुले प्रतिवाद गरे । फेरि हात हालाहालको स्थिति बन्यो ।

त्यतिमात्र होइन नेपालका अफिसियलकाहरु समेत मैदान भित्र प्रवेश गरे । गोलकिपर प्रशिक्षक विकास मल्ल म्यानेजर मधुसुदन उपाध्याय लगायत अफिसियल नै मैदान प्रवेश गरेपछि फोर्थ अफिसियल प्रज्वल नै भित्र गएर विकासलाई बाहिर ल्याएका थिए ।

त्यसपछि रेफ्रीले ७०औं मिनेटमा तनावमा सामेल भएका नेपालका पुजन उपरकोटीलाई रातो (दोहोरो पहेँलो) कार्ड देखाए भने मरिससका एड्रिएन बोटलरलाई रातो कार्ड देखाए । यस्तै नेपालका गोलकिपर प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्ड देखाए ।

दुवै टिम १० खेलाडीमा समेटिए । तर खेलमा तनाव भने रोकिएन ।

८०औ मिनेटमा नेपालका गौतम श्रेष्ठलाई फाउल गरेपछि मरिससका अर्का खेलाडी एमानुएल फुलचन्दले पनि रातो कार्ड पाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका एमानुएलले ६२औं मिनेटमा पहिलो पहेलो कार्ड खाएका थिए । त्यसपछि ८०औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि उनी रातो कार्ड पाउदै मैदान बाहिरिए । अनि मरिसस ९ खेलाडीमा समेटियो ।

दुई खेलाडी कम भएको मरिससविरुद्ध नेपाल गोल थप्न त सकेन कार्डको वर्षाले खेललाई छायामा पारिदियो । इन्जुरी टाइमको १२औं मिनेटमा नेपालका सन्तोष तामाङले पनि पहेँलो कार्ड पाए ।

खेलमा नेपालका ३ खेलाडी र एक अफिसियलले कार्ड पाउँदा मरिससका ६ खेलाडीले कार्ड खाए ।

नाम जस्तै मैत्रीपूर्ण खेल मैत्रीपूर्ण हुन नसक्दा नेपालको जित छायामा पर्‍यो । अनि ‘ब्युटिफुल गेम’को रुपमा चिनिने फुटबल ‘डर्टी गेम’ मा परिणत भयो तब फुटबल हेर्न दर्शक पनि सन्तुष्ट हुन सकेनन् ।

मैत्रीपूर्ण खेलको नतिजा जे आएपनि यसले कुनै उपाधि पाइने होइन । फिफा मान्यता प्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट जित हारको नतिजाले भने फिफा वरियताका लागि अंकमा भने फरक पार्छ । तर दुई देशबीच सम्बन्ध कायम गर्न खेलिएको मैत्रीपूर्ण खेल मैत्रीपूर्ण जस्तो नबन्दा केही खल्लो भने पक्कै हुन्छ । खेलाडीको प्रदर्शन नै छायाँमा पर्छ ।

‘मैत्रीपूर्ण खेलमा रेड कार्डको जित’ खेल हेरेर निस्केपछि एक जना दर्शकले राखेको धारणाले पनि बताउँछ खेल कस्तो भयो भनेर ।

खेलपछि नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले तनावपूर्ण स्थितिमा दुवै टिमका खेलाडीको जिम्मेवारी रहेको बताए । ‘टेन्सका लागि दुव‌ै टिमका खेलाडी ५०-५० प्रतिशत जिम्मेवार छन् । गेम सकियो । अब त्य सबै कुरा बिर्सनुपर्छ,’ अलमुताइरीले पोष्ट म्याच कन्फ्रेन्समा भने, ‘म रेफ्रीको डिसिजनको रेस्पेक्ट गर्छु ।’

अलमुताइरीले खेलमा तनाव केही सेकेण्डका लागि हुने तर बाँकी समय राम्रो खेलेको बताए । ‘फाइट केही सेकेण्डको लागि हो तर ९७ मिनेट उनीहरुले राम्रो खेले’ उनले भने ।

विकास मल्लले रातो कार्ड पाएको विषयमा भने अलमुताइरीले पहेँलो कार्ड मात्र पाउनुपर्ने भन्दै बचाउ गरे ।

उता मरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले भने आफ्नो खेलाडीलाई उत्तेजित पार्दा खेलमा तनावपूर्ण स्थित आएको बताए । रेफ्री र तनावको विषयमा सोध्दा उनले आफू रेफ्रीको निर्णयमा कमेन्ट नगर्ने बताए । ‘यो मैत्रीपूर्ण खेल हो । मलाई रेफ्रीको विषयमा बोल्न मन लाग्द‌ैन र मेरो खेलाडीको जिम्मा मैले लिनुपर्छ । खेलाडीलाई उत्तेजित पार्ने काम भयो र त्यसपछि रातो कार्ड पाए’ उनले भने ।

मैत्रीपूर्ण खेल भएपनि हरेक टिमले जित्न चाहने भन्दै टोनीले अघिल्लो खेलको तुलनामा आज सुधारिएको प्रदर्शन भएपनि स्कोर हुन नसक्दा जित्ने अवसर गुमेको बताए ।

दशरथ रंगशालमा मंगलबार भएको नेपाल र मरिसस बीचको खेलले सन् २००६ मा पोर्चुगल र नेदरल्याण्ड्सबीच भएको फिफा विश्वकपको खेलको झल्को दियो । ‘ब्याटल अफ नुरेमवर्ग’ को नामले परिचित उक्त खेलमा रसियन रेफ्री भ्यालेन्टिन इमानोभले कूल १६ पहेँलो र ४ रातो कार्ड देखाएका थिए ।

जसमा दुवै टिमका २-२ खेलाडीले रातो कार्ड पाएका थिए भने पोर्चुगलका खेलाडीले ९ र नेदरल्याण्ड्सका खेलाडीले ७ पहेँलो कार्ड पाएका थिए । राउण्ड अफ १६ को उक्त खेल पोर्चुगलले १-० ले जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?