+
+

चक्रपथमा साइकल लेन : विभागले अनुमति दिएन, टेन्डर गर्दै महानगर

मेयर चिरिबाबु भन्छन्- सडक विभागको मौनता नै सहमति हो

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ माघ १९ गते १९:१७

१९ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथको ललितपुरभित्र पर्ने विस्तारित खण्डमा  छुट्टै साइकल लेन बनाउन टेन्डर गर्ने भएको छ । सडक विभागले अनुमति नदिए पनि ललितपुरले यसैवर्ष साइकल लेन बनाउने निर्णय गरेको हो ।

ललितपुरको बालकुमारी पुलदेखि बल्खुसम्मको करिब ७.९ किलोमिटर चक्रपथमा छुट्याइने साइकल लेनको डिजाइन तयार भएको महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक-दुई दिनभित्रै टेन्डर आह्वान हुने र केही महिनाभित्रै चक्रपथको साइकल लेन तयार हुने बताए ।

चक्रपथमा साइकल लेनको डिजाइन नेपाल साइकल सोसाइटीले तयार गरेको हो । महानगरपालिकाले डिजाइन स्वीकृत गरेर टेन्डर गर्न लागेको छ ।

योजनाअनुसार चक्रपथको दुवैतर्फका सर्भिस लेनमा साइकल लेनको रेखाङ्कन गरिनेछ । ललितपुर महानगरपालिकाले सडकमा हरियो रंग पोतेर ठाउँ-ठाउँमा साइकलको चित्र राखेर लेन बनाउँदै आएको छ ।

कुपण्डोल, जाउलाखेल, लगनखेल, पुल्चोक मंगलबजारमा पहिलो चरणमा र सानेपासहित चक्रपथ जोड्ने सडकमा दोस्रो चरणमा महानगरपालिकाले साइकल लेन छुट्याएको छ । सडकका दुई भागमा साइकलका लागि लेन बनाएपछि पछिल्लो समयमा साइकल प्रयोगकर्ता बढेको मेयर महर्जन बताउँछन् । त्यसैअनुसार चक्रपथसम्म विस्तारको काम गर्न लागिएको उनको भनाइ छ ।

सडकले दिएन अनुमति

ललितपुर महानगरले साइकलमैत्री शहर बनाउने भन्दै सडकमा साइकल लेनको रेखाङ्कन गरेपछि सडक विभागले असन्तुष्टि जनाउँदै आएको छ । सडकमा साइकल लेन राख्दा दुर्घटना बढ्ने तर्क विभागले गर्दै आएको छ ।

अहिलेको भन्दा थप व्यवस्थित गरेर लेन बनाउनुपर्ने सडक विभागको मत छ । तर, चक्रपथमा साइकल लेन बनाउन विभागले महानगरलाई अनुमति दिएको छैन ।

सडक विभागका महानिर्देशक शिवहरी सापकोटा ललितपुर महानगरले मागेको साइकल लेनको अनुमतिबारे विभागभित्र छलफल भइरहेको बताउँछन् । ‘हामीले अनुमति दिइसकेका छैनौं, उनले भने, साइकल यात्रकिो सुरक्षापक्षलाई हेरेर के र कसरी गर्न सकिन्छ भनेर अध्ययनमा छौं ।’

ललितपुर महानगरपालिकाका मेयर महर्जन भने सडक विभागलाई चक्रपथमा साइकल लेन बनाउन अनुमति माग्दै ताकेतापत्र समेत पठाइसकेको तर, अनुमति नपाएको बताउँछन् । ‘विभाग मौन बसेको छ, हामीले राम्रो काम गर्न लागेका हौं, त्यसमा उहाँहरु मौन बस्नु नै सहमति दिनु हो,’ उनी भन्छन् । मेयर महर्जनले साइकल लेन बनाएर सडक विभागलाई जानकारी दिने बताए ।

काठमाडौंले के गर्छ ? 

शहरी सडकका सीमित भागमा मात्रै लेन बनाउँदा उपयोगी र व्यवहारिक नहुने भन्दै अन्यत्र पनि लेनको व्यवस्था गर्न माग हुँदै आएको छ ।

विस्तारित चक्रपथका  कोटेश्वर-बालकुमारी र बल्खु-कलंकी  खण्ड काठमाडौं महानगरपालिकाभित्र पर्ने भएकाले कानुनतः आफूहरुले अन्य खण्डमा बनाउन नसक्ने उनको भनाइ छ । ‘अन्यत्र काठमाडौं महानगरपालिकाले नै बनाउला, हाम्रो क्षत्रेमा पर्ने चक्रपथ साइकल यात्रीका लागि सहज खालको हुन्छ,’ उनी भन्छन्,’बेरुजु रहने गरी चक्रपथका अन्य खण्डमा हामी लेन बनाउन सक्दैनौं ।’

साइकल लेन बनाउँदा शहरमा साइकलको प्रयोग बढ्ने र त्यसले शहरको वातावरण र शहरबासीको स्वास्थ्य पनि सु”ने भएकाले आफूहरु अभियान जारी राख्ने पक्षमा रहेको उनले बताए ।

साइकल लेन बनाउन महानगरपालिकाले साइकल पूर्वाधार विकासको छुट्टै ‘टास्कफोर्स’ नै गठन गरेको थियो । महानगरपालिकाले साइकल लेन बनाउन ७० लाखभन्दा बढी खर्च गरिसकेको छ ।

साइकलयात्री भूमराज तिवारी साइकल लेन बनाउने घोषणा गरेर काम नगर्ने प्रवृत्ति शहरी यातायातका लागि चुनौती बनेको बताउँछन् । साइकललाई निरुत्साहित गर्ने र अरु यातायातका साधनको वृद्धिबाट जाम बढाउनु चिन्ताजनक भएको उनको भनाइ छ ।

वातावरण संरक्षणकर्मीले काठमाडौंमा सम्भव भएसम्म सबै सडकमा साइकल लेन बनाउन धेरै पहिलेदेखि माग गर्दै आएका छन् । सहरमा साइकल चलाउने संस्कृति विकास गर्नु वातावरण संरक्षणको दृष्टिले महत्वपूर्ण मानिन्छ । साइकल चलाउँदा प्रदुषण कम हुने र शहरवासीमा शारीरिक व्यायामसमेत हुने वातावरण संरक्षणकर्मीहरु बताउँछन् ।

तर, छुट्टै लेन नभएका कारण काठमाडौंमा साइकल यात्रा सुरक्षित छैन । मूल सडकमा अत्यधिक सवारी साधन र ती साधनको चालकको हेपाहा प्रवृत्तिका कारण साइकल चलाउन कठिन छ ।

साइकलयात्री तिवारी स्वास्थ्य, वातावरण, शहरी जनजीवन र संस्कृतिको लागि महत्वपूर्ण साइकललाई ‘गरिबको सवारी’ मान्ने सोचाइ गलत रहेको बताउँछन् । ‘यो मानसिकता पनि हटाउन पर्‍यो’, उनी भन्छन्, ‘त्यसपछि सडकमा साइकल लिएर हिँड्दा सुरक्षित हुने प्रत्याभूति गराउनुपर्छ । सडक विभागले पनि साइकल लेनबारे सोच्न थाल्नुपर्यो । ’

उपत्यकाका केही सडकमा मात्र लेन बनाएर साइकल संस्कृति विकास नहुने साइकलयात्री बाबुराजा रोकाय बताउँछन् । जहाँबाट पनि साइकलमा हिँड्न सक्नेगरी शहरभरि लेन बनाउनुपर्ने बताउँदै उनी भन्छन्, ‘नत्र, वातावरणमा सुधार आउनेगरी साइकल चल्दैन ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?