+
+

हिमपातले जुम्लाको विद्युत् सेवा अवरुद्ध

कर्णाली राजमार्गमा जमेको हिउँ पन्छाउन थालियो

रासस रासस
२०७८ माघ २२ गते १८:०४

२२ माघ, जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा गत बिहीबार रातिदेखि भारी हिमपात भएको छ । सो हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिमपातले विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ ।

हिमपातले ठाउँठाउँमा पोल र तारमा क्षति पुगेपछि विद्युत् अवरुद्ध हुँदा जुम्लावासी अन्धकारमा बस्ने बाध्य भएको स्थानीयवासी कर्ण बुढाले बताए ।  विद्युत् प्रसारण लाइन पुगेपछि बिजुली बाल्ने ग्राहक पछिल्लो समय थपिएका छन् ।

विद्युत् अवरुद्ध भए पछि खलङ्गाका झन्डै तीन हजार ५०० ग्राहक प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार लगातारको हिमपातले विद्युत्का खम्बा र तारमा क्षति पुगेको हुँदा विद्युत् सेवा अवरुद्ध भएको छ ।

मौसम सफा भएपछि कुन ठाउँमा विद्युत् क्षति पुगेको छ सोही ठाउँमा कर्मचारी खटाएर विद्युत् सञ्चालन गर्न लागिपरेको कार्यालय प्रमुख रावलले बताए । हिमपातका कारण जुम्ला जिल्ला पूरै हिउँले सेताम्य भएको छ । हिउँले विद्यालयको पठनपाठन रोकिएको छ । हवाई तथा सडक यातायात पूर्णरुपमा ठप्प हुँदा यात्रुलाई सास्ती भएको छ ।

कर्णाली राजमार्गमा जमेको हिउँ पन्छाउन थालियो

कर्णाली राजमार्गमा जमेको हिउँ डोजर लगाएर पन्छाउन थालिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको टोलीले डोजर लिएर हिउँ पन्छाउन थालेको छ ।

कर्णाली राजमार्गको जुम्ला खण्डको सडकमा झण्डै एक फिट हिउँ जमेको छ । हिउँमा सवारी चलाउँदा चिप्लिने डरले गर्दा सवारीसाधन चल्न सकेका छैनन् ।

आजदेखि मौसम सफा भएपछि काम गर्न सहज भएको सहायक प्रजिअ प्रमिला रिजालले बताए । सडक खुलाउनका लागि सदरमुकाम खलङ्गाबाट दुई डोजर प्रयोग भएका छन् ।

सडक डिभिजनलाई सडक खुलाएर सञ्चालन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताए । हिमपातका कारण कर्णालीको सडक मार्ग खुलेको छैन । भारी हिमपातका कारण जुम्लाको हवाई सेवा प्रभावित बनेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?