+
+

पाँचखालमा स्मार्ट सिटीको अध्ययन अमेरिकन कम्पनीले गर्ने

रासस रासस
२०७८ माघ २३ गते १४:४७

२३ माघ, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को अध्ययन अमेरिकन कम्पनीले गर्ने भएको छ । त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौँस्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले अमेरिकाको जेएलएल नामक संस्थालाई बजार अध्ययन गर्न लगाउने भएको हो ।

निफ्राले काभ्रेपलाञ्चोकको पाँचखाल नगरसँग गत साउन १२ गते नगरलाई ‘स्मार्ट सिटी’ बनाउने सहकार्यमा सात शर्तसहितको सम्झौता गरेको थियो ।

सार्वजनिक-निजी साझेदारीमा (सवल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

नगरप्रमुख महेश खरेल र बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाद्वारा हस्ताक्षरित सम्झौतामा स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने र पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदे सम्झौता गरिएको थियो ।

करिब चार हजार ५०० रोपनी क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब रु दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । कूल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ ।

बैंकका कार्यकारी अधिकृत खतिवडाका अनुसार निफ्राले आफ्नो सञ्चालक समितिको स्वीकृतिमा जेएलएल संस्थालाई बजार अध्ययनको जिम्मा दिने भएको छ ।

निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ । जेएलएलले करिब दुई महिना अध्ययन गर्नेछ ।

निफ्राले स्मार्ट सिटीको विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय जनता तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाइएको छ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काममा सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख महेश खरेलले बताउनुभयो ।

उहाँका अनुसार निफ्राले त्यस कार्यका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिनेछ । विकसित मुलुकमा स्मार्ट सिटीलाई सूचना प्रविधिसँग जोडिएको हरित सहरका रूपमा बुझिन्छ ।

नेपालको हकमा भने एउटा सहरमा हुनुपर्ने आधारभूत सबै प्रकारका सुविधा भएको पूर्वाधारयुक्त सहरका रुपमा लिइन्छ । स्मार्ट सिटीमा सबै क्षेत्रमा विद्युत्, विद्यालय, कलेज, अस्पताल, विविध पार्क, बजार, ढल–निकास, बसपार्क तथा सिनेमा हलजस्ता सुविधा हुनेछन् ।

उद्यमशीलताको विकास एवं प्रबद्र्धन गर्न नगरपालिकाले अन्य वित्तीय संस्थासँग सम्झौता गरिरहेको छ । उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले गत भदौमा नवील बैंकसँग पनि सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको थियो ।

नगरलाई ‘कृषि सहर’का रुपमा विकसित गर्न विभिन्न गतिविधि अघि पनि बढाइएको छ । यसका लागि नगरले विभिन्न शीर्षकमा अनुदान तथा औँजार प्रदान गर्दै आएको छ । विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा तीन वर्षअघि पनि दुई गाविस थपेर अझ वृहत बनाइएको थियो ।

तेह्र वडामा विभाजित नगरपालिकाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको र त्यसभित्र हाल ३५ हजार ९९२ नागरिकको बसोबास रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?