+
+
७ महिनापछि बालुवाटारमा ओली :

एमालेले एमसीसीमा मुख खोलेन, सदन खोल्न सभामुखको राजीनामा माग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १९:५६

२३ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सात महिनापछि आइतबार पहिलो पटक बालुवाटार पुगे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएका थिए । छलफलको एजेण्डा थियो, संसदको अवरोध, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र स्थानीय तहको निर्वाचन ।

महासचिव शंकर पोखरेललाई लिएर बालुवाटार पुगका ओलीले एमसीसीमा के गर्ने प्रष्ट दिएनन् । बरु यसअघि झैं सत्ता पक्षले नै आफ्नो दृष्टिकोण नराखेकाले बोल्न तयार हुने बतायो । एमाले महासचिव पोखरेलका अनुसार आइतबारको छलफलमा पनि एमसीसीबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फरक–फरक धारणा राखे । प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनका लागि सहयोग मागे भने प्रचण्डले सत्तापक्षी प्रतिपक्ष मिलेर एमसीसीलाई चुनाव पछाडि मात्रै अगाडि बढाउने प्रस्ताव

जवाफमा एमालेले भने ‘सत्तापक्षले आफ्नो दृष्टिकोण एउटै राख्नु उचित हुने भन्दै प्रश्न गर्यो । बरु प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले भनेको आधिकारिक हुने भन्दै माओवादी अध्यक्ष प्रचण्डमाथि दबाब दिने रणनीति अख्तियार गरेको देखिन्छ । ‘प्रधानमन्त्रीय प्रणालीमा सत्तापक्ष राष्ट्रिय मामिलामा अलग अलग कुरा गर्नु राम्रो होइन । यो विषयमा सबभन्दा पहिले सत्तापक्ष स्पष्ट होस्’ छलफलमा राखेको भनाइ उद्धृत गर्दै महासचिव पोखरेलले भने ।

एमसीसीबारे सत्तापक्षको दृष्टिकोण नआई एमालेले आफ्नो धारणा नबनाउने उनको भनाइ छ । ‘एमसीसीमा सत्तापक्षले आफ्नो दृष्टिकोण के हो ? प्रष्ट नगरेसम्म हाम्रो धारणा यो भन्नु उचित हुन्न’ महासचिव पोखरेलले भने ।

सभामुखको राजीनामा माग

छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले एमालेले संसदमा जारी अवरोध खोल्नुपर्ने बताए । जवाफमा एमालेले संसदको अवरोध खोल्न सत्तापक्ष तयार हुनुपर्ने बताए । संसदको अवरोध खोल्नका लागि ओलीले शर्तहरु तेर्‍साए– ‘माधव नेपाल सहितका १४ जना सांसदलाई संसदमा उपस्थित गराउँदासम्म एमाले संसदको कामकारबाहीमा सामेल हुँदैन । १४ जना सांसदलाई एमालेले गरेको कारबाहीको सूचना टाँस्न नसक्ने भए सभामुखले मार्गप्रशस्त (राजीनामा) दिनुपर्छ ।’

अन्यथा संसद नखुल्ने एमालेको अडान छ । ‘प्रतिनिधिसभामा हाम्रो उपस्थितिका लागि सत्तापक्षले वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यो नहुँदासम्म प्रतिनिधिसभाको कारबाहीमा हामी समेल हुँदैनौं र अहिलेसम्म जे भइरहेको छ त्यही हुन्छ ।’

माधव नेपाल सहित १४ जना सांसदलाई गैर सांसदको संज्ञा दिँदै एमालेले २३ भदौदेखि प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आएको छ ।

एमालेले स्थानीय तहको निर्वाचन तोक्न दबाब दिएको छ । निर्वाचन आयोगले पछिल्लो पटक ४ जेठमा चुनाव गर्ने प्रस्ताव गरेको छ, तर सरकारले मिति घोषणा गरेको छैन । आइतबार भएको छलफलका क्रममा प्रधानमन्त्री देउवाले छिट्टै मिति तोकिने बताएको एमाले महासचिव पोखरेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?