+
+

छाङ्गरुका सुरक्षाकर्मीलाई सम्पर्कमै सास्ती

रासस रासस
२०७८ माघ २४ गते १४:२०

२४ माघ, दार्चुला । अघिल्लो वर्षको वैशाख ३१ देखि व्याँस गाउँपालिका-१, छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित बसेको छ । नेपाल सरकारले भारतले अतिक्रमित गरिराखेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटर नक्सा जारी गरेपछि छाङ्गरुमा सुरक्षाकर्मीको नियमित उपस्थित गराइएको हो ।

छाङ्गरुमा सशस्त्र प्रहरी बसे पनि उनीहरूका लागि प्रभावकारी सञ्चार साधनसमेत छैन । छाङ्गरुका बासिन्दा बस्दासम्म भाइनेटमार्फत इन्टरनेट सुविधा थियो तर, स्थानीयवासी जाडो छल्न गत जेठमा सदरमुकाम खलङ्गा झरेपछि अहिले सुरक्षाकर्मीले भारतीय सञ्चारको भर पर्नुपरेको छ ।

सशस्त्र प्रहरीका लागि नेपाल टेलिकमले दुईवटा ल्यान्डलाइन फोन छुट्टै जडान गरे पनि अत्यधिक हिमपात भएपछि त्यसले काम गर्दैन । मौसम सफा भयो भने त्यो फोनको लाइन सञ्चालन हुने त्यहाँ कार्यरत सुरक्षाकर्मी बताउँछन् । सुरक्षाकर्मीले कुनै खबर गर्नुपर्‍यो भने अहिले सीमा पारि रहेका भारतीय एसएसबीको क्याम्प पुग्नुपर्ने बाध्यता रहेको छाङ्गरुका बासिन्दा बताउँछन् । भारतको छायालेकसम्म भारतीय सञ्चारको पहुँच राम्रो छ । विगतमा नेपालको सञ्चार सुविधा भारतीय सुरक्षाकर्मीले समेत प्रयोग गर्थे, स्थानीयवासीले भने, ‘अहिले भारतको सञ्चार सुविधा प्रयोग गर्नुपरेको छ ।’

ल्यान्डलाइनसँगै व्याँसमा नेपाल टेलिकमको स्काइको टावर छ । त्यो टावर पनि नियमित चल्न सकेन । दुई वर्षदेखि नमस्ते टावर छाङ्गरुमै निर्माणाधीन अवस्थामा छ । त्यो टावरमा उपकरण जडानमा ढिलाइ हुँदा व्याँसवासीले सञ्चार सेवाबाट वञ्चित हुनुपरेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहरा बताउछन् । उनी भन्छन्, “नमस्ते टावरका लागि चाहिने आवश्यक पूर्वाधार निर्माण गरिए पनि उपकरण जडान नहुँदा सञ्चार सेवा चल्न नसकेको हो ।’

गत साता आएको हिमपातका कारण अहिले व्याँससम्म पुग्न सकिने अवस्था छैन । त्यहाँ कार्यरत सुरक्षाकर्मीका अनुसार अहिले नेपाल टेलिकमले काम नगर्दा कहिलेकाहीँ सामाजिक सञ्जाल र कुनै खबर घरमा पुर्‍याउनुपर्‍यो भने भारतीय एसएसबीको क्याम्प पुग्छौं । उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यो भन्नुपर्ने विषय त हैन तर हाम्रो पीडा कसैले सुनिदिएन ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?