+
+

सिद्धबाबा सुरुङमार्ग पनि नारायणगढ-बुटवल सडक विस्तार गरिरहेको कम्पनीले बनाउने

७ अर्ब ३४ करोडमा लाग्दै ठेक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १४:४६

२४ माघ, काठमाडौं । सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग  ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ले नै बनाउने भएको छ । यो अहिले नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी हो ।

सडक विभाग स्रोतका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणाका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ । यो प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिस्पर्धा गरेका ४ कम्पनीमध्ये सबैभन्दा कम रकमको कबोल अंक भएकाले कम्पनी छनोट भएको हो ।

विभिन्न कारण देखाउँदै कम्पनीले काममा ढिलाइ गर्दा नारायणगढ-बुटवल सडकखण्ड विस्तार आयोजना रुग्ण अवस्थामा पुगेको छ । यो कम्पनीले काठमाडौं-तराई मधेश द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको काम पनि जिम्मा पाएको छ ।

सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्छ ।

तर, अझै सडक विभागल ठेक्का स्वीकृत गर्ने आशयपत्र जारी भने गर्न भने बाँकी छ ।

यो ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङको निकटतम् चीनकै प्रतिद्वन्द्वी कोभेक-सीआरईजीसी जेभीले ७ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ कबोल गरेको छ । चीनकै सीसीईसीसी सीआरसीसी १४ सियुआन जेभीले ९ अर्ब ८० करोड १६ लाख रुपैयाँ कबोल गरेको छ । चाइना फर्स्ट हाईवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ कबोल गरेको छ ।

ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकाले चाइना स्टेट इन्जिनियरिङलाई नै ठेक्का दिने स्वीकृतिका लागि आयोजनाले सडक विभागसमक्ष सिफारिस गरेको छ । तर, विभागले यसबारे अन्तिम निर्णय गरिसकेको छैन ।

१  मंसिर २०७७मा बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ को लागि बजेटको सहमति प्रदान गर्ने निर्णय गरेको थियो । सडक विभागले ९ जेठ, २०७८मा ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आहृवान गरेको थियो ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडिसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आहृवान भएको थियो । यो सुरुङमार्ग १.१२६ किलोमिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) राखिनेछ । करिक ५ वर्षमा यो सुरूङमार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने सरी लक्ष्य छ ।

सिद्धबाबा खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ । हरेक वर्ष वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा जनधनको क्षति हुने गरेको छ ।

गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची,  स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म गाडी चल्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?