+
+

हामी सांसद कुनै पार्टीका दास मात्रै हौं त ?

'हामीलाई लाजशरम केही पनि छैन'

संसारमा सबैभन्दा ठूलो हतियार नुन नै रहेछ । मिसाइलले पनि केही गर्न नसक्ने तर नुन खाएपछि गलिहाल्दो रहेछ । त्यसैले ज-जसले एमसीसीको सन्दर्भमा नुन खानुभएको छैन, आवाज दिइराख्नुभएको छ । इतिहासले उहाँहरूलाई सलाम गर्नेछ ।

सुदन किराँती सुदन किराँती
२०७८ माघ २५ गते १३:५८

जब राजनीति बिग्रन्छ, देशको शिक्षा बिग्रन्छ । शिक्षा बिग्रिएपछि संस्कृति बिग्रन्छ । त्यसपछि इन्जिनियरले बनाउँदा बनाउँदै गरेको पुल भत्कन्छ । हावाले पुल उडाउँछ । निलो र कूटनीतिक पासपोर्टबाट मानव तस्कर हुन्छ । राजनीति बिग्रेपछि निलो नम्बर प्लेटको गाडीमा लागूऔषध र हतियार बोकिन्छ । त्यसकारण कूटनीति अर्थात् राजदूत नियुक्तिमा मात्रै समाधान गर्न खोजियो भने हामी समस्याको सही निदानतिर जान सक्दैनौं । अलिकति गम्भीर रूपले नयाँ ढंगले सोच्ने बेला आएको छ ।

मलाई लाग्छ हाम्रो देशमा नीति छैन । दुःखका साथ भन्नुपर्छ- नेपालको आफ्नो नीति छैन । हामीलाई चाहिएको छ खसी, जबरजस्ती हामीलाई खुवाउँछ फर्सी । कसरी भयो त हाम्रो नीति ? के मा छ त हाम्रो नीति ? राज्यको हरेक अंगलाई भित्र पसेर हेर्ने हो भने हाम्रो आफ्नो नीति नै छैन । हामी के गर्दैछौं ?

कूटनीतिक क्षेत्रमा पनि समस्या भएको राजनीति बिग्रेरै हो । एउटै घरानाका व्यापारीहरूलाई किन हामीले त्यसरी अवैतानिक दूत बनाइरहेका छौं ? सबै कूटनीतिक क्षेत्रमा सेवा गर्ने मान्छेहरू झोले छन् । यहाँ कुरा चपाउनुपर्ने कारणै छैन । ठेकेदारहरू प्रधानमन्त्रीको ओच्छ्यानमा सुत्छन् । सांसदले भनेका मान्दैनन् । मन्त्रीभन्दा पावरफुल ठेकेदार हुन्छन् । ठेकेदारसँग टसल गर्‍यो भने मन्त्रीको राजीनामा गराउँछ । यो देखेकै त हो । हामीले कहाँबाट यो समस्याको निदानको प्रारम्भ गर्ने ? यो गम्भीर र जटिल विषय छ ।

पूर्वप्रधानमन्त्री जस्तो व्यक्तित्व र बहालवाला प्रधानमन्त्रीले एमसीसी कार्यालयलाई लेखेको चिठीका विषयमा गम्भीर प्रश्न अहिले देशमा उठेको छ । उक्त चिठीको विषयमा गम्भीर प्रश्न उठेको छ । त्यो लेखाई (पत्र)ले समग्र देशलाई कति फाइदा भो ? यो कुरामा भविष्यमा छलफल र समीक्षा होला । तर, कूटनीतिक क्षेत्रको मामिलामा बसेर हेर्दा त्यो शोभनीय भएन ।

बेलायतको प्रधानमन्त्रीले तोकिएभन्दा बढी मान्छे एउटा पार्टी, भोजमा जम्मा हुँदा आत्मालोचना गर्नुपर्ने । तर, हाम्रो देशको पूर्वप्रधानमन्त्रीलाई कोरोना लागेको पुष्टि हुन्छ, सार्वजनिक समारोहमा गएर हात मिलाएको हुन्छ । हामी कहाँ छौं त ? हामीलाई लाजशरम केही पनि छैन

उतापट्टिबाट सहसचिवले डिल गर्छन् । यताबाट प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले जवाफ दिने वा के के गर्ने, त्यो त मिल्दै मिल्दैन । यत्ति मात्रै होइन, बहालवाला प्रधानमन्त्रीले एउटा खुफिया एजेन्सीको प्रमुखसँग घण्टौंघण्टा वार्ता गर्छन् । (तत्कालीन प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया रअका प्रमुख सामन्त गोयलसँग गरेको भेटको प्रसङ्ग) कस्तो लाजमर्दो कुरा । हाम्रो यो देश हो कि होइन त ? मलाई यस्तो लाग्न थाल्यो यो (नेपाल) देश यो कि होइन ?

मै हुँ भन्नेहरू नै मौन

देशमा अहिले यत्रो ठूलो समस्या छ । मै हुँ भन्ने मान्छेहरू बोलिहरेका छैनन् । किन होला ? जसको ‘साउण्डिङ’ ‘भ्वाइस’ हुन्छ, हाम्रो त हुन्न नि । कि व्यक्तिगत दृष्टिकोणहरू सबै किनबेच भइसकेको हो त हाम्रो देशमा ? १/२ जना अगुवाहरू बोल्नुहुन्छ । अरु त बोलेका छैनन् । उनीहरूको आवाज त माटोमा छ त अहिले । गर्छौं भनेर हिंडिरहेका छन् त । हामी युवा हाँै भनेर गर्जिरहेका छन् ।

म्याक्सिम गोर्कीले भन्नुभएको रहेछ- तन्नेरी शरीरमा जोडिएका ती बुढा टाउकाहरू । यही मलाई स्मरण भइरहन्छ । हामी तन्नेरी भएर के गर्ने ? हाम्रो मस्तिस्क जब बुढा हुन्छ भने । बुढा भएर के भो त उसले नयाँ कुरा उठाउँछ भने । अलिकति विचारमाथि नै हामीले छलफल बहस गर्नुपर्ने बेला भएको जस्तो मलाई लाग्छ ।

बेलायतको प्रधानमन्त्रीले तोकिएभन्दा बढी मान्छे एउटा पार्टी, भोजमा जम्मा हुँदा आत्मालोचना गर्नुपर्ने । तर, हाम्रो देेशको पूर्वप्रधानमन्त्रीलाई कोरोना लागेको पुष्टि हुन्छ, सार्वजनिक समारोहमा गएर हात मिलाएको हुन्छ । हामी कहाँ छौं त ? हामीलाई लाजशरम केही पनि छैन । हामीले के संस्कृति प्रदान गर्दैछौं हाम्रो समाजलाई ? संस्कृतिले विचार निर्माणमा सहयोग गर्दो रहेछ र विचारले संस्कृतिक दिँदो रहेछ व्यवहारमा । कति ठूलो यसको अन्तरसम्बन्ध हुँदो रहेछ भन्ने देखिन्छ ।

शक्ति राष्ट्रहरूको टसल

अब हामी अलिकति स्वतन्त्र भएर सबैले सोचौं । आफूलाई कन्फर्ट हुने विषय मात्रै लिएर त्यसलाई एजेन्डा मात्र बनाएर नजऔं । देशमा उठेका जल्दाबल्दा एजेन्डा हाम्रो समिति (संसदको अन्तरराष्ट्रिय सम्बन्ध समिति) सँग सम्बधित छ भने उठाउनैपर्छ ।

मानिलिऊँ अहिले एमसीसीको कुरा उठेको छ । यो राष्ट्रिय स्वधिनतासँग प्रश्न हो । हामो देशलाई कति विकास हुन्छ भन्ने कुरा होइन । शक्ति राष्ट्रहरूको टसलले हाम्रो देशको सार्वभौमता रहन्छ कि रहन्न ? भन्नेतिरबाट हामीले कहिले हेरेका छौं कि छैनौं ? हामीले त्यतातिर हेर्दैनौं । संसद, संविधान र कानुनको प्रश्न छ । आम जनताको विरोध छ । तर, हाम्रो समिति बोल्न सकेको छैन । के हामी बोल्न सक्दैनौ ?

असमान हो भने कुरा त स्पष्ट भइक्यो । अमेरिकाको राजदूतदेखि लिएर विभिन्न व्यक्तिहरूले बोलिसके कि यो एमसीसी सुरक्षा रणनीतिसँग सम्बन्धित हो भनेर । तर, अमेरिका सरकारले बोल्न मिल्दैन ? सुरक्षा रणनीतिसँग सम्बन्धित छैन नै भन्दैन भने त्यसै पनि असमान छ । धेरै कुरा हामीले किन बुझ्नु पर्‍यो ? कुनै पनि सहयोग जिटुजीबाट हुन्छ भने यो संसदबाटै लानुपर्छ भन्ने कुरा के छ ? यसैमा असमान छ ।

मिनी संसद बोल्नुपर्छ

हाम्रो यो अन्तरर्राष्ट्रिय सम्बन्ध समितिले एमसीसीलाई एउटा एजेन्डा बनाएर एउटा आवाज दिन सक्नुपर्छ । नत्र भने हामीले जनतामा गएर के भन्ने ? हामीले हाम्रो कार्यकालमा के भूमिका निर्वाह गर्‍यौं ? इतिहासले यसको जवाफ खोज्ला । हामी त मरेर जान्छौं । इतिहासले त चिहानबाट निकाल्दो रहेछ मान्छेलाई । त्यसकारण यो गम्भीर विषय छ ।

अब हामी बोल्दैनौं भने सांसदहरू ल्याप्चे हान्न मात्रै आएका हौं त ? हामी कुनै एउटा पार्टीको दास मात्रै हौं त ? २१ औ शताब्दीको तेस्रो दशक, वैज्ञानिक युगको नागरिक पनि त होला नि हामी । नयाँ ढंगले, आफ्नै ढंगले विवेचना गर्ने सक्ने चेतना भएको नागरिक पनि त हौंला नि त ! तर हामीले यस अनुसार गर्न सकेका छैनौं । अब हामीले भनौं- कि गोलमेच सम्मेलन गरौं न सकिँदैन भने । सकिन्छ भने जनमत संग्रह गरौं न । एमसीसीको बारेमा हामीले यो किन माग गर्न सक्दैनौं । या हामीले एउटा आवाज एकमत भएर दिन सकौं न किनकि यो परराष्ट्रसँग सम्बन्धित विषय हो ।

यस्तो विषयमा अलि गम्भीर रूपमा छलफल/बहस अबको दिनमा होस् । ठूलो संसद् (संसद् बैठक) मा हामी सानो मान्छेले बोल्न पाइँदैन । हामी सबैले यो अनुभव गरेकै हो । हामीलाई तीन मिनेट दिइन्छ । एक मिनेट शून्य समयमा हामी बोल्नुपर्छ । हामी त ३ मिनेटमा छौं । जितेको त उसरी नै हैन ? भोट मागेरै हो, उम्मेदवार भएरै हो, पार्टीले टिकट दिएरै हो । कि उसलाई ठूलो टिकक दिएको हो कि ? हामीलाई सानो टिकट दिएको हो कि ? तँ सानो र ठूलो भनेर संविधानमै लेखिएको छ कि ? त्यहाँ त हामी बोल्न पाउँदैनौं । त्यसकारण यहाँ (मिनी संसद्)बाटै बेस्सरी आवाज दिने गरी एजेण्डा बनाऔं ।

एमसीसी राष्ट्रघाती नै छ । जनताले सडकबाट विरोध गरिराखेको छ । राष्ट्रघाती होइन भने छलफल गरौं न त, पुष्टि गरौं । यतातिर हामी किन बोल्न सकिरहेका छैनौं ? हामीले त खाएका छैनौं होला नि त विदेशी तलब । खाइसक्यौं भने त अर्को केही छैन । सबैभन्दा ठूलो हतियार संसारमा नुन नै रहेछ । मिसाइलले पनि केही पनि गर्न नसक्ने । नुन खाएपछि गलिहाल्दो रहेछ । त्यसकारण जजसले एमसीसीको सन्दर्भमा नुन खानु भएको छैन, आवाज दिइराख्नुभएको छ । इतिहासले उहाँहरूलाई सलाम गर्नेछ । र, यो समिति (अन्तराष्ट्रिय सम्बन्ध समिति)लाई पनि सलाम गर्न लायक बनाऔं ।

(सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ‘कूटनीतिक क्षेत्रमा राजदूत नियुक्ति’का विषयमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले व्यक्त गरेको विचारको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?