+
+

पूर्वी चितवनका चार नगरको फोहोर व्यवस्थापनमा संयुक्त प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १८:४१

२८ माघ, चितवन । पूर्वी चितवनका चारवटा नगरपालिका मिलेर फोहोर व्यवस्थापनको दिगो पहल अगाडि बढाएका छन् ।

पाँच बर्षे कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेका बेला पूर्वी चितवनको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिका मिलेर संयुक्त रुपमा फोहोर व्यवस्थापनको तयारी अगाडि बढाएका हुन् ।

यी नगरपालिकाले जर्मनी र कोरियाली दूतावासमार्फत जर्मनीको एक संस्था भिस्तारा इन्टरनेशनलसँगको सहकार्यमा सबैलाई पायक पर्ने ठाउँमा फोहोर व्यवस्थापनको प्रक्रिया थालेका हुन् । त्यसका लागि सो संस्थाले प्रारम्भिक समझदारीका लागि पत्र पठाएपछि स्थानीय तहका प्रमुखहरुले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेर पठाएका छन् ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको समन्वयमा खैरहनी नगरपालिकामा चार स्थानीय तहका जनप्रतिनिधिको वैठक वसेर प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेर पठाइएको छ ।

प्रारम्भिक समझदारी पत्रमा रत्ननगरका मेयर नारायण वन, खैरहनीका मेयर लालमणि चौधरी, राप्तीकी मेयर प्रभा बराल र कालिकाका मेयर खुमनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसअघि सौराहामा पनि चार पालिका र सो संस्थाका प्रतिनिधिबीच छलफल भएको थियो ।

हस्ताक्षरको प्रतिउत्तर आएपछि काठमाडौंमा जर्मनी राजदूतसहितको बैठक बसेपछि प्रक्रिया अगाडि बढाइने जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटीले जानकारी दिए ।

भिस्तारा इन्टरनेशनलले आधुनिक प्रविधिको मेसिन प्रयोग गरेर फोहोर व्यवस्थापन गर्ने जनाएको छ । संकलित फोहोर मेसिनमा हालेपछि आफैं वर्गीकरण हुने हुँदा व्यवस्थापनमा सहज हुने डल्लाकोटीले बताए । त्यस्तो प्रविधि जडिन मेसिनसहित उद्योगका लागि झण्डै ७५ करोड रुपैयाँ लागत लाग्ने जनाइएको छ ।

३३ प्रतिशत चार नगरपालिकाको हुनेछ भने बाँकी लगानी दूतावासमार्फत कम्पनीले गर्ने जनाइएको छ । जग्गा पालिकाले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । खैरहनी र रत्ननगरमध्ये एक नगरपालिकामा प्लान्ट राखिने डल्लाकोटीले जानकारी दिए ।

सो कम्पनीले भारतको दिल्लीमा गरिरहेको फोहर व्यवस्थापन हेर्नका लागि जाने कार्यक्रम तय भएको डल्लाकोटीले बताए । रत्ननगर, खैरहनी र राप्तीले दैनिक रूपमा फोहोर संकलन गर्दै आएका छन् भने कालिकाले व्यवस्थापनका लागि ठाउँ नपाउँदा उठाउन सकेको छैन ।

रत्ननगरमा दैनिक २५ टन, खैरहनीमा दैनिक ६ टन, राप्तीमा दैनिक २ टन फोहोर निस्कने गरेको सम्बन्धित पालिकाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?