+
+

रोल्पाको स्मार्ट कृषि गाउँमा हिउँले फर्कायो हर्ष

दुई वर्षअघि हिमपात हुँदा गाउँका स्मार्ट कृषि गाउँका प्रत्येक किसानले कममा दुई लाखदेखि बढीमा १५ लाख रुपैयाँसम्मको स्याउ बिक्री गरेका थिए । गत वर्ष खडेरीले स्याउ, आलु र रायो खेती प्रभावित भएपछि किसानहरु दुःखी थिए । यस वर्षको हिउँले किसानहरूको खुसी फर्काएको छ । 

कुलदीप न्यौपाने कुलदीप न्यौपाने
२०७८ फागुन १ गते ८:३३

१ फागुन, दाङ । रोल्पा मनिमारेका अगुवा किसान भीमबहादुर खत्री यस वर्ष औधि खुसी छन् । किनकी मनिमारेमा अघिल्ला वर्षको तुलनामा यो वर्ष धेरै हिउँ परेको छ । हिउँले बालीनाली सप्रिने र स्याउले धेरै उत्पादन दिनेमा उनी विश्वस्त छन् ।

भिमबहादुर जस्तै अर्का अगुवा किसान कुलबहादुर केसी पनि हिउँमा स्याउ सप्रिनेमा विश्वस्त छन् । हिउँ परेको वर्ष स्याउमा किरा नलाग्ने र फल पनि राम्रो लाग्ने उनको अनुभव छ ।

रोल्पाको गंगादेव गाउँपालिका–३ मनिमारे पश्चिम नेपालकै स्याउ पकेट क्षेत्र हो । यहाँका चार सय बढी परिवारले स्याउ खेती गर्दै आएका छन् ।

उत्तरबाट आउने हिउँको सिरेटो दक्षिणको जथाक लेकमा स्पर्श गरेपछि बनेको वातावरणमा मनिमारेमा स्याउका बगैंचा छन् । हिउँ नपरेका वर्ष पश्चिम धवलागिरीको हिउँ हेरेर चित्त बुझाउने यहाँका किसान यस वर्ष भने आफ्नै गाउँमा मनग्य हिउँ परेपछि हर्षित छन् ।

मनिमारेलाई लुम्बिनी प्रदेश सरकारले कृषि स्मार्ट गाउँ घोषणा पनि गरेको छ । यहाँका किसानहरुले स्याउसँगै रायो र आलु खेती गर्दै आएका छन् । अगुवा किसान भीमबहादुर खत्रीले भने, ‘धेरै हिउँ परेपछि एक हप्तासम्म वस्तुभाउ बाहिर निकाल्न सकेनौं तर पनि कुनै दुःख लागेको छैन । हिउँ धेरै परेकाले स्याउले खुसी दिन्छ भन्ने आश छ ।’

गत वर्ष खडेरीले स्याउ, आलु र रायो खेती प्रभावित भएपछि किसानहरु दुःखी थिए । जबकी दुई वर्षअघि हिमपात हुँदा गाउँका प्रत्येक किसानले कममा दुई लाखदेखि बढीमा १५ लाख रुपैयाँसम्मको स्याउ बिक्री गरेका थिए । यस वर्षको हिउँले मनिमारेका किसानको खुसी फर्काएको छ ।

लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको कृषि व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेका अनुसार हिमपात भएकाले माटोको चिस्यान लामो समयसम्म रहँदा अन्न तथा फलफूललाई फाइदा पुग्छ । यस वर्ष राम्रै हिमपात भएकाले हिमाली र उच्च पहाडी भागका किसानलाई फाइदा पुग्नसक्ने उनले बताए ।

मनिमारेका अगुवा किसान कुलबहादुर केसी हिउँ परेको वर्ष स्याउमा किरा नलागेको अनुभव सुनाउँछन् । हिउँले स्याउमा लाग्ने किरा मार्नुका साथै चिस्यान बढेपछि उत्पादन पनि बढ्ने उनको विश्वास छ । ‘स्याउका लागि सबैभन्दा मुख्य पोषक तत्व नै हिउँ हो,’ उनले भने ।

अर्का किसान तिलबहादुर खत्री यस वर्ष आफूहरुले कल्पना गरेकोभन्दा बढी हिउँ परेको बताउँछन् । हिमपातले स्याउका बिरुवाको आयु दश वर्ष बढ्ने र फल पनि राम्रो लाग्ने उनी बताउँछन् । हिउँको मुख्य शत्रु झ्याउ, लाही र खुम्रे किरा भएको बताउँदै उनले भने, ‘हिउँले किराहरु नष्ट गर्छ, स्याउ पनि राम्रो फल्छ ।’

हरियाली साना किसानका अध्यक्ष रामबहादुर खत्री हिउँ आफूहरुका लागि बरदानसरह भएको बताउँछन् । स्याउ हिउँसँगै रम्ने भएकाले यो वर्षको हिमपात बरदान सावित हुने उनको विश्वास छ ।

तर अर्का किसान रुपबहादुर केसीको भने थोरै फरक चिन्ता छ । स्याउ उत्पादनको पकेट क्षेत्र भए पनि मनिमारे प्रचारप्रसारमा पछि परेको छ ।

कृषि पर्यटनको सम्भावना

गंगादेव गाउँपालिकामा ९० प्रतिशत जनसंख्या कृषिमा आश्रित छ । कृषि उत्पादन बिक्री गरेर मनिमारेले मात्रै वार्षिक करिब १० करोड रुपैयाँ भित्राउने गरेको स्थानीयको भनाइ छ ।

स्याउ खेतीले आर्थिक उपार्जन त भएको छ नै, त्यससँगै कृषि पर्यटनको गन्तव्य बनाउने सपना पनि स्थानीयले देख्न थालेका छन् । त्यसको प्रयास स्वरुप उनीहरुले कृषि फार्मको नाम पर्यटनसँग जोडेका छन् ।

भीमबहादुरले श्रीमती लक्ष्मी र आफ्नो नामको अगाडिका दुई अक्षर जोडेर ‘लभी पर्यटन व्यवसायी स्याउ खेती फार्म’ नाम राखेका छन् । यसैगरी रामबहादुर खत्रीले पनि ‘रामभूमि पर्यटन स्याउ खेती फार्म’ नाम राखेका छन् ।

रामबहादुरकै फार्म नजिक गंगाराम खत्री र देउमती खत्रीले पनि स्याउ खेती गरेका छन् । झण्डै एक हजार बोट स्याउ खेतीको फार्म चलाएको यो दम्पतीले पनि ‘गंगा–देउस्थल स्याउ खेती पर्यटन फार्म’ नाम राखेको छ । देउमती स्याउ खेतीलाई कृषि पर्यटनको रुपमा विकास गर्ने बताउँछिन् ।

‘हामी चिया बगान हेर्न इलाम पुग्छौं, नमूना खेती हेर्न पाल्पाको मदनपोखरा पुग्छौं, स्याउ खेतीको नमूना देखाउन रोल्पाको मनिमारे पनि आउनुपर्छ,’ भीमबहादुर भन्छन्, ‘हामी पनि स्याउको उत्पादन बढाउँदै यसलाई कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहन्छौं ।’

मनिमारेको ऐतिहासिकता

वस्तीको बीचमा रहेको मनिमारेको चौरसँग ऐतिहासिकता पनि जोडिएको छ । जनयुद्धकालमा ०६२ मंसिर १४ गते मनिमारेमा तत्कालीन शाही सेनाले ठूलो हवाई हमला गरेको थियो । हमलामा परी तत्कालीन जनमुक्ति सेनाका डिभिजन कमाण्डर किमबहादुर थापा (सुनील) र बटालियन सहकमाण्डर झक्कुप्रकाश पुन (निर्मम)को ज्यान गएको थियो ।

उपराष्ट्रपतिसमेत रहेका तत्कालीन जनमुक्ति सेनाका कमाण्डर नन्दबहादुर पुन ‘पासाङ’, नेता नेत्रविक्रम चन्द ‘विप्लव’, विप्लव समूहमै रहेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायतका नेताहरुको उपस्थितिमा पहिलो डिभिजन घोषणा भइरहेको बेला कार्यक्रम उदघोषक सुनील हवाई हमलामा मारिएका थिए । जनयुद्धको क्रममा सेनामार्फत मारिने सुनील नै उच्च पदका व्यक्ति मानिन्छन् ।

सो समयमा मारिएका कमाण्डरहरु किमबहादुर थापा (सुनिल) र झक्कुप्रकाश पुन (निर्मम)को स्मृतिमा मनिमारेमा शहीद स्मारक बनाइएको छ । गाउँको बीचमा रहेको चौरमा बनाइएको स्मारक पनि यहाँका आकर्षणको एउटा केन्द्र बनेको छ ।

मनिमारेमा विभिन्न जिल्लाबाट स्याउ बगैचा हेर्न पुग्ने आन्तरिक पर्यटकहरु शहीद स्मारक पनि पुग्छन् । स्याउका बेर्ना र मार्फा रायोको बीउ लिन पनि अन्य ठाउँबाट मानिस आउने गरेको स्थानीय बताउँछन् ।

अझै सुध्रिएन बाटो

स्मार्ट कृषि गाउँ भनिए पनि यहाँको बाटो भने जीर्ण छ । दाङबाट सल्यानको कपुरकोट वा रोल्पाको होलेरी हुँदै निगालपानी, कोइला हुँदै झ्यामसम्म जाने बाटो कालोपत्रे नभए पनि आवागमन सहज छ । दाङबाट तीन घण्टामै फ्याम पुग्न सकिन्छ ।

तर, झ्यामदेखि मनिमारे, नाउलीसम्मको कच्ची सडक अप्ठेरो र साँघुरो छ ।

कृषि उत्पादन ढुवानी गर्न धेरै समस्या छ किसानहरुलाई । त्यसैले झ्याम–मनिमारे–पारे खण्डको झण्डै ८ किलोमिटर सडक विस्तार गरेर तत्काल कालोपत्रे गर्न स्थानीयले माग गर्दै आएका छन् ।

 

लेखकको बारेमा
कुलदीप न्यौपाने

न्यौपाने नेपाल पत्रकार महासंघ दाङ जिल्ला सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?