+
+

सराङकोटमा २ अर्बमा केवलकार तयार, शुक्रबारदेखि सञ्चालनमा आउने

अच्युत पुरी अच्युत पुरी
२०७८ फागुन ४ गते १८:१०
Photo Credit : RSS

४ फागुन, काठमाडौं । पर्यटकीय नगरी पोखरामा थप एक आकर्षण थपिएको छ । मुलुककै चौथो केवलकार परियोजनाका रुपमा पोखरा महानगरपालिकामा ‘अन्नपूर्ण केवलकार’ व्यवसायिक सञ्चालनका लागि तयार भएको हो ।

अन्नपूर्ण केवलकार प्रालिका सिनियर अपरेशन अफिसर डीएन कायस्थका अनुसार अब पोखरा महानगरपालिका–१८ स्थित सेदीबाट सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिने छ । कुल २.१६ किलोमिटर लामो यो केवलकारमार्फत फेवाताल किनारबाट ९ देखि १० मिनेटमा सराङकोट पुग्न सकिने भएको छ ।

‘फेवाताल हेर्दाहेर्दै एकै पटक हिमाली दृश्यावलोकन गर्न सकिनु यो केवलकारको विशेषता हो,’ कायस्थले भने । केवलकारमा शुक्रबारबाट यात्रुले टिकट काटेरै यात्रा गर्न सक्ने छन् ।

लगानी करिब २ अर्ब

अन्नपूर्ण केवलकारका लागि करिब २ अर्ब रुपैयाँ लगानी लागेको कम्पनीले जनाएको छ । केवलकारको टप स्टेशनमा जिपलाइन, रक क्लाइमिङ, रेष्टुरेन्टसहितका सुविधा रहेका छन् ।

तल्लो स्टेशनमा समेत रेष्टुरेन्ट सुविधा हुने कायस्थले जानकारी गराए । टप स्टेशनबाट तल फेवातालसहित पोखराको दृश्य अवलोकन गर्न सकिने छ । टप स्टेशनबाट सामुन्नेमा हिमालहरु अवलोकन गर्न सकिने छ । पोखरा घुम्न आउने पर्यटकको बसाइलाई थप एक दिन लम्ब्याउन केवलकारले भूमिका खेल्ने अपेक्षा रहेको उनले बताए । निर्माण सुरु भएको ५ वर्षको अवधिपछि निर्माण पूरा भएको हो । बीचमा कोरोना भाइरस (कोभिड-१९) को महामारीले केही समय काम प्रभावित भएको उनले बताए ।

नेपालकै चौथो केवलकार

अन्नपूर्ण केवलकार नेपालको सञ्चालनमा आएको चौथो केवलकार परियोजना बन्न सफल भएको छ ।

नेपालमा साढे दुई दशक अगाडि मनकामना केवलकार सुरु भएको थियो । त्यसपछि दोस्रो आयोजना चन्द्रागिरि केवलकार हो । तेस्रो परियोजना कालिञ्चोक केवलकार हो । चौथो परियोजनाका रुपमा सराङकोटमा अन्नपूर्ण केवलकार सञ्चालनमा आएको हो ।

कायस्थका अनुसार केवलकार चढ्न ७ सय रुपैयाँ भाडा तोकिएको छ । यसले ‘टु वे’ यात्रा गर्न सकिने छ । केवलकारमा कुल १७ वटा डब्बा रहेका छन् । एउटा डब्बामा एक पटकमा ८ जनाले यात्रा गर्न सक्छन् । यस अनुसार प्रतिघण्टा ५ सय मानिसले यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?