+
+

रुसले युक्रेनमा हमला गर्ने बहाना खोजिरहेको नेटो गठबन्धनको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते ११:५५

६ फागुन, काठमाडौं । नेटो गठबन्धनले रुसमाथि युक्रेनमा हमला गर्ने बहाना खोजिरहेको आरोप लगाएको छ । बिहीबार युक्रेनको डोनबास क्षेत्रमा सरकारी फौज र रुस समर्थित पृथकतावादीबीच गोलाबारी भएपछि नेटो गठबन्धनले यस्तो आरोप लगाएको हो ।

नेटो गटबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले अरुलाई नै दोषी देखाएर रुसले युक्रेनी सीमानाभित्र घुस्ने बहाना खोजिरहेको बताएका हुन् । ‘युद्ध विराम उल्लंघनका घटना बढेका कारण म चिन्तित छु’ स्टोल्टेनबर्गले युरोन्युजसँग कुरा गर्दै भने, ‘रुसले कुनै न कुनै बहाना बनाउन खोजिरहेको कुराले पनि म चिन्तित छु ।’

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत केही दिनभित्रै बहाना बनाएर रुसले युक्रेनमा हमला गर्न सक्ने चेतावनी दिएका छन् ।

‘उनीहरूले अरुमाथि दोषी थुपारेर हमलाका लागि बहाना बनाउन खोजिरहेको हाम्रो विश्वास छ । हामीलाई प्राप्त हरेक संकेतले उनीहरूले युक्रेनभित्र छिरेर हमला गर्ने तयारी गरिरहेको देखाउँछ’ ह्वाइट हाउसमा बोल्दै बाइडेनले भने, ‘आगामी केही दिनमै यो कुरा हुने मेरो बुझाइ छ ।’

तर रुसले उक्त दाबीलाई आधारहीन भन्दै अमेरिकामाथि तनाव सिर्जना गरेको आरोप लगाएको छ ।

यसअघि बिहीबार अमेरिकाका एक वरिष्ठ अधिकारीले सेना फिर्ता गरेको रुसको दाबी गलत भएको बताएका थिए । ती अधिकारीका अनुसार रुसले युक्रेनको सिमानामा केही दिनयता थप सात हजार सेना तैनाथ गरेको छ । थप सेना तैनाथीले रुसी दाबीलाई गलत साबित गरेको उनको भनाइ थियो ।

‘हाल हामीलाई प्राप्त हरेक जानकारीले उनीहरूले मुखले मात्रै वार्ता गर्ने कुरा गरेको र तनाव कम भएको दाबी गरेको देखाउँछ, तर गोप्य रुपमा युद्धका लागि सेना परिचालन गरिरहेका छन्’, ती अधिकारीलाई उदृत गर्दै सीएनएनले लेखेको छ ।

यता रुसले बिहीबार नै मस्कोस्थित सहायक अमेरिकी राजदूतलाई देश निकाला गरेको छ । राजदूतलाई देश निकाला गर्ने क्रममा जारी गरिएको पत्रमा अमेरिकाले आफ्नो सुरक्षा चासो बेवास्ता गरेको पनि उल्लेख छ । तर आफ्ना कुटनीतिज्ञलाई देश निकाला गर्ने कदमले तनाव थप चर्काउने भन्दै अमेरिकाले रुसको आलोचना गरेको छ ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?