+
+

कोरोनाको तेस्रो लहरसँगै रोकिएका सांगीतिक कार्यक्रम फेरि सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १४:३८
एक सांगीतिक कार्यक्रममा गायिका मेलिना राई । फाइल तस्वीर

६ फागुन, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरसँगै रोकिएका स्टेज कार्यक्रम विस्तारै शुरु हुन थालेका छन् । कोरोना संक्रमण दर कम हुँदै गएपछि स्टेज कार्यक्रमहरु फेरि हुन थालेको गायक-गायिकाहरुले बताएका छन् ।

थुप्रै गायक-गायिकाहरुले ‘भ्यालेन्टाइन डे’को अवसरमा गत सोमबार सांगीतिक प्रस्तुति दिएका थिए । कोरोना संक्रमणदर कम हुँदै गएसँगै साना सांगीतिक कार्यक्रमसँगै केही मेला-महोत्सव समेत आयाजना हुने तयारीमा छन् ।

स्थगित भएको पाँचौं ‘बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला’ फागुन १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने तयारी भएको छ । बाँसगढी उद्योग वाणिज्य संघ, बर्दियाले यसअघि पुस २९ देखि माग ९ गतेसम्म तय गरेको महोत्सव कोरोनाको तेस्रो लहरका कारण स्थगित भएको थियो ।

त्यस्तै, रत्ननगर उद्योग वाणिज्य संघ चितवनले फागुनमा ‘रत्ननगर महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । फागुन १५ गतेदेखि २३ गतेसम्म महोत्सव हुन लागेको हो । यो महोत्सव पनि कोरोनाको तेस्रो लहर अगाडि गर्ने तयारी थियो ।

स्थगित भएका अन्य स्थानका महोत्सव तथा सांगीतिक कार्यक्रम समेत सुरु हुने तयारीमा छन् । गायक कमल खत्रीले ‘भ्यालेन्टाइन डे’देखि सांगीतिक कार्यक्रमहरु हुन थालेको बताए । शुक्रबार साँझ पनि सप्तरीमा सांगीतिक कार्यक्रम रहेको उनले जानकारी दिए । केही स्थानमा महोत्सवका लागि समेत कुरा भइरहेको कमलले बताए ।

गायक खेम सेञ्चुरीले फागुनको दोस्रो साता गुल्मीमा आफ्नो दुई दिनको लागि सांगीतिक कार्यक्रम तय भएको जानकारी दिए । अन्य स्थानमा पनि सांगीतिक कार्यक्रमबारे कुराकानी भइरहेको उनले बताए । पुसदेखि फागुनसम्म मेला महोत्सवको सिजन मानिन्छ । तर मेला महोत्सवको सिजनमै कोरोना संक्रमण दर बढ्दा स्टेज कलाकारहरु निकै मारमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?