+
+

पूर्वी युक्रेनमा आज पनि गोलाबारी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १७:१७

६ फागुन, काठमाडौं । युक्रेनको पूर्वी क्षेत्रमा शुक्रबार समेत गोलाबारी भएको छ । पछिल्लो गोलाबारीसँगै सरकारी सेना र रुस समर्थित पृथकतावादीले एक-अर्कालाई निशाना बनाएको भन्दै आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।

रुसले नक्कली बहाना बनाएर कुनै पनि युक्रेनमा हमला गर्न सक्ने त्रास बढिरहेका बेला सरकारी सेना र रुस समर्थित पृथकतावादीले एकअर्कामाथि गोलाबारी गरेको आरोप लगाएका हुन् । रुसको समर्थन प्राप्त स्वघोषित डोनेट्स्क पिपुल्स रिपब्लिकले सरकारी सेनाले आफूहरूको नियन्त्रणमा रहेको पेट्रिभ्स्के गाउँमा शुक्रबार बिहान गोलाबारी गरेको बताएको छ ।

त्यस्तै, लुहान्स्क पिपुल्स रिपब्लिकले सरकारी पक्षबाट कैयौ पटक मोर्टार आक्रमण भएको दाबी गरेको छ । यता पृथकतावादीले शुक्रबार चार पटकसम्म तोप प्रहार गरेको सरकारको दाबी रहेको छ ।

युक्रेनको पूर्वी क्षेत्रमा हिजोसमेत गोलाबारी भएको थियो । बिहीबार भएको गोलाबारीमा परी एक किन्डरगार्टेनका तीन जना घाइते भएका थिए । सरकारी फौज र पृथकतावादीले स्टानित्सिया लुहान्स्का शहरमा भएको उक्त गोलाबारीका लागि एक-अर्कालाई दोष लगाएका थिए ।

युक्रेनको डोनबास क्षेत्रमा आठ वर्षदेखि सरकारी फौज र रुस समर्थित विद्रोहीहरू युद्धरत छन् । सन् २०१४ मा युद्ध रोक्न भन्दै भएको मिन्स्क सम्झौतापछि दुवै पक्षले बेला-बेला युद्धविरामको उल्लंघन गर्दै आएका छन् ।

उक्त क्षेत्रमा यो हप्ता दुवै पक्षबीचको तनाव पुन: चर्किन लागेको छ । नेटो र अमेरिकाले रुसमाथि नक्कली बहाना बनाएर युक्रेनमा हमला गर्न खोजेको आरोप लगाइरहेका बेला पछिल्लो गोलाबारी भएको हो । योसँगै युक्रेन र रुसबीचको तनाव थप चर्किन सक्ने अनुमान हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?