+
+

‘रणभूमि’ बन्यो बानेश्वर क्षेत्र

होम गर्नेदेखि रबरको गोलीसम्म

अंगद सिंह अंगद सिंह
२०७८ फागुन ८ गते १८:११

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन हुने भएपछि आइतबार बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए । तर प्रदर्शन सुरु हुँदा नहुँदै सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको खबर आएपछि एमसीसी विरोध प्रदर्शनले उग्र रुप लियो ।

नयाँ बानेश्वरको एभरेस्ट होटल नजिक प्रहरीले सडकमा बार राखेर प्रदर्शनकारीलाई संसद भवनतर्फ अघि बढ्न रोक्यो । प्रदर्शनकारीले पनि प्रहरीले राखेको बार भत्काएर संसद भवनतर्फ अघि बढे । त्यसक्रममा प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस र रबरको गोली हान्यो भने प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा र इँट्टा हान्यो ।

सुरुमा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठनले ‘एमसीसी स्वाहा’ भन्दै सडकमै होम गर्‍यो । यो समूहको विरोध कार्यक्रम सकिँदा नसकिँदै माओवादी केन्द्रसम्वद्ध भ्रातृ संगठनका कार्यकर्ता सडकमा आइसकेका थिए ।

प्रदर्शनकारीले बानेश्वरका चौडा सडक भरिँदै गर्दा दुई किनारमा भएका सटरहरु धमाधम बन्द भए । प्रदर्शनकारीले एमसीसी मुर्दावादको नारा मात्र लगाएनन्, निषेधित क्षेत्र तोड्न प्रयास गर्न थाले । प्रदर्शनकारी संसद भवन, बानेश्वरतर्फ अघि नबढुन भनेर एभरेष्ट होटल अगाडि नै प्रहरीले तारजाली राखेको थियो ।

प्रदर्शनकारीले तारजाली तानातान गर्न थाले । केही थान तारजाली खोसेर बिजुलीबजार पुर्‍याए । प्रहरीको नियन्त्रणमा रहेको तारजाली खोस्न सक्दा प्रदर्शनकारी झन् हौसिए, सुरक्षाकर्मीहरुमाथि पानीका बोतल, ढुङ्गामुढा प्रहार गर्न थाले ।

समूह समूहमा बाँडिएका माओवादी केन्द्रसम्वद्ध प्रदर्शनकारी कतै देउडा खेल्न थाले, कतै जनवादी गीतमा नाचे । केही प्रदर्शनकारी भने निरन्तर प्रहरीसँग भिडिरह्यो ।

नजिकैको संसद भवनमा भने एमसीसी अनुमोदनका लागि टेबल गर्नुअघि नेताहरुले बोलेर विरोध गरे । त्यसपछि अर्थमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि प्रस्ताव पेश गर्दा सत्तारुढ माओवादी केन्द्रका केही सांसदले उठेर विरोध गरे, केही मौन बसे ।

संसदमा एमसीसी टेबल भइरहँदा सडकमा भने प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी चलिरहेको थियो । प्रदर्शनकारीले सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा हान्यो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न थाले ।

निकैबेरको घम्साघम्सीपछि निषेधित क्षेत्र तोड्न खोजेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी र पानीको फोहोरा हान्छ ।

प्रहरीको दुई वटा वाटर प्याननले नभ्याएपछि सशस्त्र प्रहरीको वाटर प्यानन आयो । तीनवटा वाटर प्याननको मद्दतमा प्रहरी र सशस्त्र प्रहरीले प्रदर्शनकारीलाई तिरत बितर बनाउन खोज्यो । तर एमसीसीको विरोधमा जम्मा भउको भीड उग्र बन्यो ।

भीड नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले दर्जनौं अश्रुग्यास हान्यो । तर पनि प्रदर्शनकारी रोकिएन । उनीहरु प्रहरीले हानेको अश्रुग्यास जोखिम मोलेर उनीहरुतर्फ फालिदिन्थे । उनीहरुले प्रहरीलाई दुबैतिर बाट च्यापेर बानेश्वर चौकमै सीमित बनाएका थिए ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ढुङ्गा हानाहान भयो । उनीहरुले एकअर्कालाई हानेको ढुंगा सडकमा मात्र थिएन, आसपासको घरहरुसम्म पुगेको छ । बानेश्वर चोक रणभूमि जस्तै बन्यो । आफ्नो थप मद्दत आएपछि भने सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई अश्रुग्यास र लाठी हानेर केहीबेर तितरबितर बनायो । त्यही बेला संसद भवनमा रहेका सांसदहरु आफ्नो घर–कोठातिर लागे ।

तर प्रदर्शन साम्य भएन । प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयासमा प्रहरीले बानेश्वरबाट लखेटेर बिजुलीबजारसम्म पुर्‍यायो । तर प्रदर्शनकारीले सडक छाडेनन् । उल्टै प्रहरीतर्फ ढंगामुढा गरे । त्यसक्रममा प्रहरीले रबरको गोली नै चलाएको छ ।

प्रहरीले फुटफातमा रहेका हिँडिरहेका सर्वसाधारणलाई समेत लाठी हानेर लखेटेको थियो । गल्लीगल्लीमा लुकेर रहेका प्रदर्शनकारीमाथि समेत प्रहरीका लाठी हानेको छ । प्रदर्शनकारीले पनि लुकेर प्रहरीमा ढुंगा हानेका थिए ।

साँझ ५ बजेतिर प्रदर्शनकारी घट्दै गएपछि भने तनाव क्रमशः मत्थर भएको छ र सडक खुलेको छ ।

हेर्नुहोस् थप तस्वीरहरु

तस्वीरहरु : विकास श्रेष्ठ/चन्द्रबहादुर आले/शंकर गिरी/आर्यन धिमाल

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?