+
+

विद्यार्थीबीच ‘ड्रिम विग च्यालेन्ज’ प्रतियोगिता, उत्कृष्ट आइडिया दिनेलाई साढे तीन लाख

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १८:०६

८ फागुन, काठमाडौं । स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि ‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले कार्यक्रम आयोजना गर्न लागेको हो ।

आइतबार शिक्षा पत्रकार समूह र गैर आवासीय नेपाली संघ अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको घोषणा गरिएको हो । यसमा स्नातक तह अध्ययनरत अमेरिका र नेपाल दुवैै देशका विद्यार्थीहरु सहभागी हुन पाउनेछन् ।

‘दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२’ कार्यक्रमका संयोजक एवं साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीका अध्यक्ष डा. माधव पाण्डेले नेपाल र अमेरिकामा रहेका विद्यार्थीहरुलाई समूहगत प्रतिस्पर्धा गराइने जानकारी दिए । विद्यार्थीहरुमा ‘क्रिटिकल थिङ्किङ’को विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको डा. पाण्डेले बताए । प्रतिस्पर्धामा समूहकार्यबाट सिकाइ आदानप्रदान हुने, एकअअर्कामा सांस्कृतिक ज्ञान र अन्तरघुलन हुने, सिकाइ सीप सिक्ने अवसर पाउने अपेक्षा राखिएको उनको भनाइ थियो ।

दुवै देशमा अध्ययनरत विद्यार्थीलाई संयुक्त रुपमा प्रतिस्पर्धा गराएर प्रथमलाई तीन हजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार अमेरिकी डलर प्रदान गर्ने संघका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । यसअघिको च्यालेन्जमा अमेरिकामा विद्यालयतहमा अध्ययनरत विद्यार्थी मात्रै सहभागी गराइएको थियो । यसपटक भने स्नातक तहका र नेपालका विद्यार्थीलाई पनि सहभागी गराउन लागिएको हो ।

प्रतिस्पर्धामा एक मिलियन डलर पाएमा त्यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भनेर विद्यार्थीहरुले आफ्नो योजना र अवधारणा प्रस्तुत गर्नुपर्ने जनाइएको छ । जसमा विद्यार्थीहरु समूहमा बसेर काम गर्ने र समूहमै ‘आइडिया’ प्रस्तुत गर्ने डा. पाण्डेले जानकारी दिए ।

स्नातक तहमा जुनसुकै संकायमा अध्ययनरत विद्यार्थीहरु यस प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धामा सहभागी हुनुपर्नाको कारण, आफ्नो योजना र आइडियासहितको दुईसय शब्दको लेखन दुई हप्ताभित्र पठाउनुपर्नेछ । सोही लेखनका आधारमा आवेदकमध्येबाट १०० विद्यार्थी छनोट गरिनेछ । यसरी छानिएका दुवै देशका विद्यार्थीहरुलाई २५ समूहमा राखी प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । छानिएका विद्यार्थीलाई विज्ञबाट प्रशिक्षित गराइनेछ । अप्रिल ३० भित्र आफ्नो योजनालाई लिखित रुपमा बुझाउनुपर्नेछ । अन्त्यमा मे २८ र २९ मा समूहका प्रत्येक सदस्यलाई जुममार्फत् योजना प्रस्तुत गर्न लगाई विजेता घोषणा गरिने आयोजकको भनाइ छ ।

सीप क्षमता आदानप्रदान गर्ने र स्रोत प्रदान गरेर त्यसको परिचालनका विषयमा प्रस्तुत गरेका प्रस्तावका आधारमा राम्रो प्रस्तुतिलाई पुरस्कृत गरिने डा. पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?