+
+

एमसीसी संसदमा जाम भएर बस्दैन : स्वास्थ्यमन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १५:१३

९ फागुन, वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा धेरै समय नरोकिने बताएका छन् । संसद बैठकमा पेश भइसकेपछि छलफल हुने र छिटै पास/फेलको टुंगो लाग्ने उनले बताए ।

सोमबार वीरगञ्जको नारायणी अस्पताल परिसरमा विशिष्ट हृदयरोग उपचार भवन (क्याथ ल्याब), आकस्मिक भवन र कोभिड–१९ उपचार भवनको शिलान्यास गर्दै मन्त्री खतिवडाले एमसीसीमा संसदको बहुमतले जे निर्णय दिन्छ त्यही स्वीकार हुने बताए ।

‘संसदमा बहस, छलफलका लागि गएको छ । बहुमतले जे निर्णय दिन्छ, त्यही नै पारित गर्छ । मत राख्ने, या त सर्वसम्मत गर्ने, सर्वसम्मत हुन सकेन भने पांग्रा जाम भएर बस्दैन । …चाहे कुनै दल होस् वा संघ संस्था अन्तिम निर्णय गर्ने तरिका बहुमतको निर्णय मान्ने हो’ उनले भने ।

सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि आइतबार संसद बैठकमा पेश गरेको थियो । तर, एमसीसी संसदमा पेश हुँदा प्रमुख विपक्षी दलले रोष्ट्रममा नाराबाजी गरिरहेको थियो भने सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका कतिपय सांसदले विरोध जनाएका थिए ।

मन्त्री खतिवडाले एमसीसी सम्झौताका विषयमा राजनीतिक दल र सर्वसाधारणमा फरक फरक मत हुनु स्वाभाविक भएको बताए ।

‘सन्धि सम्झौताका विषयमा, सरकार र पार्टीहरूले गरेका निर्णयका विषयमा समाज विभाजित हुनु, विभिन्न मत आउनु, पार्टीपिच्छे मत भिन्दै हुनु र नागरिक पिच्छेको राय हुनु अनौठो कुरो होइन’ उनले भने, ‘हामीले आ–आफ्नो मत जाहेर गर्नु पनि पर्छ । तर, मेरो मत नमान्ने हो भने आगो बालिदिन्छु, मोसो दलिदिन्छु्, आफ्नो मत नमानेको भनेर अर्कोलाई ठोक्ने अधिकार कसैलाई छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?