+
+

वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा

रासस रासस
२०७८ फागुन ९ गते १९:५६

९ फागुन, कास्की । बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छिन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले सोमबार बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेकी हुन् ।

पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएका उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गरेको सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार पोलिटले सोमबार बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गरेकी हुन् ।

पोलिटले आफ्नो साइकल यात्राबारे अनुभव सुनाउँदै भनिन् , ‘सोमबारको बिहान निकै रमाइलो भयो । माछापुच्छ्रेको सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो ।’

कोभिड–१९ का कारणले विश्वव्यापी रुपमै पर्यटन क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै उनले अब भिसा प्रोटोकल लुज हुँदै र कोरोना सङ्क्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको सङ्ख्या बढ्ने विश्वाससमेत व्यक्त गरिन् ।

उनले भनिन्, ‘नेपाल भूबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरूका आत्मीयता निकै लोभलाग्दो छ । कोरोना कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ ।’

उनले नेपालमा धेरै सुन्दर ठाउँहरू रहेको यसको प्रवर्द्धनको आवश्यक रहेको बताइन् । उनले पर्यटकलाई साइकल रुटका बारेमा जानकारी दिन सके र साइकल मैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रवद्र्धन हुँदै जाने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा उनले नेपाल बिट्रिसको कूटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताइन् । उनले बिट्रिसहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताइन् ।

राजदूत पोलिटले जलवायु परिवर्तनले नेपालको हिमालयन क्षेत्रमा परेको असरलाई पनि बेलायत सरकारले निकै चासोका रूपमा लिएको बताइन् ।

साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाले लेखनाथको लामास्वाराँदेखि रामदीवेगनास, सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गरेको जानकारी दिए । राजदूतको साइकल यात्राले यस क्षेत्रको प्रचारप्रसारमा सकारात्मक भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

‘उनले साइक्लिङका क्रममा हामीसँग निकै रमाइलो अनुभव साट्नु भयो, सुन्दर दृश्यवलोकनसहित उनले निकै सकारात्मक सन्देश दिने भिडियो पनि खिच्नुभएको छ । यसले हामीलाई निकै उत्साहित बनायो ।’ उनले भने ।

कोइरालाका अनुसार केही समयअघि वेगनास फेरोमा साइक्लिङ गरेका तस्बिर साइकल सिटी सचिव जय गुरुङले ट्विटरमा पोष्ट गरेको देखेपछि राजदूतले रुचि देखाएर सो साइकल रुटका बारेमा जानकारी लिएका थिए ।

सचिव गुरुङका अनुसार साइकल सिटीले पोखरालाई प्रवद्र्धन गर्नका लागि ‘टुर दी पोखरा’ सँगै नयाँ वषर्मा ‘नयाँ ठाउँ एक गन्तव्य’ कार्यक्रम गर्दै आएको छ ।

पोखरा पर्यटकीय सहर भएकाले साइकल मैत्री सहर बनाउनुपर्छ भन्ने अवधारणा अघि सार्दै पोखराका विभिन्न २१ स्थानहरुमा साइकल स्ट्यान्ड राखेको छ ।

त्यसैगरी बाढीपहिरा पीडितलाई सहयोग, वृक्षारोपण, रक्तदानलगायत सामाजिक एवम् वातावरण मैत्री कार्यक्रम पनि गर्दै आएको साइकल सिटीमा एक सयभन्दा बढी सदस्य रहेका छन् । साततालको फेरोको ७४ किलोमिटरको साइकल मार्गको प्राजेक्टका लागि पनि काम गर्ने तयारी भएको उनले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?