+
+

सीमा क्षेत्रमा रुस र युक्रेनबीच तनाव बढ्नु गम्भीर चिन्ताको विषय : भारत

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १२:५३

१० फागुन, काठमाडौं । भारतले युक्रेनको सीमामा रुसी महासंघसँग तनाव बढ्नु गम्भीर चिन्ताको विषय भएको बताएको छ ।

मंगलबार राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले सीमामा रुस र युक्रेनबीच तनाव बढ्नु गम्भीर चिन्ताको विषय भएको बताएका हुन् ।

‘युक्रेनको सीमामा रुसी महासंघसँग तनाव बढ्नु गम्भीर चिन्ताको विषय हो’, तिरुमूर्तिले भने, ‘यी घटनाक्रमले उक्त क्षेत्रको शान्ति एवं सुरक्षा कमजोर हुन सक्छ ।’ रुस र युक्रेनबीच जारी संकटलाई तत्काल कम गर्नु पर्ने कुरालाई सबैले प्राथमिकतामा राख्नु पर्ने पनि उनको भनाइ थियो ।

विश्व समुदायले सैन्य तनावलाई व्यहोर्न नसक्ने भन्दै सम्बन्धित पक्षलाई सबैले दबाब दिनुपर्ने समेत तिरुमूर्तिले प्रस्ट पारे । ‘हामीले सम्बन्धित पक्षलाई मतान्तर हटाउन थप दबाब दिनुपर्छ’, उनले भने, ‘हामीले कुनै पनि सैन्य तनाव व्यहोर्न सक्दैनौं ।’

त्यस्तै, भारतीय नागरिकको सुरक्षालाई लिएर आफूहरू चिन्तित भएको जोड दिँदै तिरुमूर्तिले भने, ‘सर्वसाधारणको सुरक्षा महत्त्वपूर्ण छ । युक्रेनको सीमा क्षेत्रसमेत गरी त्यहाँका विभिन्न क्षेत्रमा विद्यार्थीसहित २० हजारभन्दा बढी भारतीय नागरिक छन् । भारतीयहरूको सुरक्षा हाम्रो प्राथमिकता हो ।’

भारतले मंगलबार बसेको सुरक्षा परिषद्को बैठकमा सबैलाई स्वीकार्य हुने समाधानका लागि कूटनीतिक प्रयास तीव्र पार्नसमेत आग्रह गरेको छ ।

‘सबै पक्षले चाँडोभन्दा चाँडो संयम अपनाउँदै एवं कूटनीतिक प्रयासलाई तीव्रता दिँदै दुबै पक्षलाई मान्य हुने समाधान खोजेर अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षा कामय गर्नुपर्ने कुरालाई हामीले सशक्त जोड दिन्छौं’, तिरुमूर्तिले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?