+
+

सुनसरीका किसान ‘बालुवामा उब्जने खेती’मा आकर्षित

सुनसरीका किसानहरु बालुवामा उब्जने खेतीमा आकर्षित भएका छन् । अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १४:१९

११ फागुन, काठमाडौं । सुनसरीका किसानहरु बालुवामा उब्जने खेतीमा आकर्षित भएका छन् । अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका हुन् ।

उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो । कोशी गाउँपालिका वडा नम्बर ५ कुम्याही, हुर्कीटोल घर भएका अली बालुवामा खेती गर्ने नमूना कृषकसमेत हुन्।

उनले यस अघिका बाली भने उठाइसकेका छन्। मनग्यै आम्दानी गर्दै आएका अलीले यतिबेला १२ बिघा भन्दाबढी बालुवामा मौसमी खेतीलगायतका विभिन्न बाली लगाएका छन ।

गाउँपालिकाको सहयोगमा राजस्थानसमेतको भ्रमण गरी सिकेको ज्ञानलाई व्यवहारमा उतारेका अलि यतिबेला कागती खेतीसँगै अन्य बाली उब्जाउको क्रममा छन ।

अलीले बालुवामा लगाएको बालीमा डिप बोरिङ र थोपा सिँचाईको माध्यमबाट पानीको प्रबन्ध मिलाएका छन् । जलकुम्भी लगायतका झारपात कुहाएर प्राङगारिक मल बनाइएको छ । बालुवालाई उब्जाउ योग्य बनाउन बाहिरबाट माटो ल्याएर लेबलिङ गरी अलीले खेती गरेका छन् ।

कृषि पेशालाई निरन्तरता दिएका अली आधुनिक खेती थालेसँगै आम्दानी समेत मनग्यै कमाएको बताउँछन् । उनी भन्छन, ‘घर खर्च मज्जाले चल्छ । पहिला एउटा ट्याक्टर थियो । अहिले तीनटा भैसक्यो । राम्रो आम्दानी छ ।’

अलीसँगै उनका छोरासमेत यही पेशामा छन् । ६ वर्ष विदेशमा श्रम गरेका समी उल्लाह दुःख र कष्ट सहनु परेको र कमाई समेत राम्रो नभएपछि घर फर्किएका छन । उनी समेत बाबुले धानेको पेशामा मनग्यै कमाई देखेपछि खेती किसानीमै रमेका छन् ।

कोशी गाउँपालिकामा ३३ सय विगाह जग्गा बालुवा जमिन छ । सप्तकोशीको बाढीले बालुवामा परिणत गरेको बन्जर जमिनलाई गाउँपालिकाले लेबलिङ गर्नेदेखि किसानकालागि राहत प्याकेजका काममा सघाउदै आएको छ ।

विदेशमा कष्ट सहेर काम गरिरहेकाहरुका लागि सुनसरीको कोशी गाउँपालिकाका यी बाबु र छोराको लगन र परिश्रम पक्कै उदाहरणीय बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?