+
+

बर्दघाट-सुस्तापूर्वमा चैते धानको रोपाइँ सुरु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो ।

रासस रासस
२०७८ फागुन ११ गते १७:०६

११ फागुन, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ ।

धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागबानी विकास अधिकृत शङ्कर पौडेलले धानको पकेट क्षेत्र लागू भएको गैँडाकोट-११ को भेँडाबारीमा चैते धान रोपाइँ सुरु भएको बताए ।

‘चैते धानको उत्पादन वृद्धि गर्नका लागि केन्द्रले पकेट क्षेत्र लागू गर्दै किसानलाई अनुदान वितरण गर्दै आइरहेको छ’, उनले भने, ‘जिल्लाको गैँडाकोट ११, कावासोती १४ र १७ तथा बुलिङटारमा धान पकेट क्षेत्र लागू गरिएको छ ।’

धान पकेट क्षेत्र लागू गरिएको पुरानो स्थानमा प्रति पकेट रु २४ लाखसम्म तथा नयाँ क्षेत्रमा रु १२ लाखसम्म अनुदान दिइने गरेको बागबानी विकास अधिकृत पौडेलले बताए ।

केन्द्रले चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गर्दै चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको उनको भनाइ छ ।

पकेट क्षेत्र लागू भएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, मल, बीउ, यान्त्रिकीकरणलगायतमा अनुदान दिने गरेको अधिकृत पौडेलले बताए ।

धानको पकेट क्षेत्र हुनका लागि एकै ठाउँमा १५० हेक्टर जमिनमा धानखेती गरिएको हुनुपर्ने उनको भनाइ छ । जिल्लामा चैते धान उत्पादनका लागि पकेट क्षेत्र निर्माण गरेसँगै चैते धानतर्फ किसानको आकर्षण बढ्दै गएको पौडेलले बताए ।

गतवर्ष ७०० हेक्टरमा रोपाइँ भएको चैते धान यसवर्ष ७५० हेक्टर क्षेत्रफलमा हुने विश्वास गरिएको उनको भनाइ छ । यसवर्ष कावासोती–१४ लाई धानको पकेट क्षेत्रको रुपमा समावेश गरिएका कारण पनि चैते धान लगाउने क्षेत्रफलमा वृद्धि हुने भएको छ ।

केन्द्रसँगै यहाँका विभिन्न स्थानीय तहले धान उत्पादनको वृद्धिका लागि यसको पकेट क्षेत्र सञ्चालन गरेर किसानलाई सिँचाइ, मल, बीउ र यान्त्रिकीकरणमा सहयोग गर्दै आइरहेको छ । जिल्लाको कावासोती, गैँडाकोट, मध्यविन्दु, विनयी त्रिवेणी र बुलिङटारमा चैतधान उत्पादन हुँदै आएको छ ।

जिल्लामा विशेषगरी चैते धानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सिएच ४५ जातको धान रोप्ने गरिएको अधिकृत पौडेलले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?