+
+

कलाकार जयनन्द लामाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १७:१०
बिहीबार राष्ट्रिय नाचघर, जमलमा कलाकार जयनन्द लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कलाकर्मी तथा सर्वसाधारण

१२ फागुन, काठमाडौं । गायक तथा अभिनेता जयनन्द लामाको अन्त्येष्टि गरिएको छ । ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएका कलाकार लामाको बिहीबार दिउँसो बौद्ध परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको हो ।

लामाको शव बिहीबार बिहान १० बजेदेखि श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा राखिएको थियो ।

नाचघरमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले लामाको शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । त्यस्तै, श्रद्धाञ्जली दिन चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै कलाकारहरुसँगै, शुभचिन्तक, सर्वसाधारण एवं बौद्ध धर्मगुरुहरु समेत नाचघर पुगेका थिए । नाचघरमा झण्डै तीन घण्टाको श्रद्धाञ्जली कार्यक्रमपछि उनको शवलाई अन्त्येष्टिका लागि स्वयम्भू लगिएको थियो ।

कृष्ण मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, करिश्मा मानन्धर, विराज भट्ट, प्रकाश सपूत लगायत कलाकारहरु स्वयम्भू पुगेका थिए ।

गायक तथा अभिनेता लामा भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, कौशलटारस्थित आफ्नै घरअगाडि बुधबार बिहान मृत अवस्थामा फेला परेका थिए । ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’ थुप्रै चर्चित लोकगीत दिएका लामाले ‘मनको बाँध’बाट चलचित्र अभिनय यात्रा थालेका थिए । पछिल्ला वर्ष उनी ‘छक्का पञ्जा’, ‘जय भोले’, ‘दाल भात तरकारी’, ‘साङलो’ जस्ता चलचित्रमा अभिनय गरेका थिए । टेलिसिरियल ‘हल्का रमाइलो’मा उनी नियमित देखिंदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?