+
+

‘आपराधिक गिरोहबाट त्रिवि जोगाउन गुहार माग्दैछौं’

डा. धर्मकान्त बास्कोटा डा. धर्मकान्त बास्कोटा
२०७८ फागुन १३ गते ११:०३

त्रिविको सुधार गर्छु, काम गर्दै जाँदा जस्तोसुकै चुनौती आए पनि सामना गर्छु भन्ने दृढसंकल्प लिएर नेतृव सम्हाल्न आएको हुँ । आफूले नेतृत्व सम्हालेको संस्थालाई उँचाइमा पुर्‍याउने दायित्व मेरो हो । त्यो दायित्व अनुसार संस्थाको प्रगतिका लागि म हरसम्भव प्रयास गरिरहेको छु । मेरो यो प्रयासमा पदाधिकारी, त्रिविको प्रगतिका लागि हरसमय खटिरहेका कर्मचारी, प्राध्यापक, विद्यार्थीको साथ छ । यसले केही हदसम्म सफलता पनि पाइरहेको छ ।

नियुक्ति भएको पाँच महिना नपुग्दै कोरोना महामारीको चपेटामा पर्‍यौं । कोरोनाका कारण पटक-पटक भौतिक रूपमा पठन-पाठन बन्द भयो । त्यस्तो अवस्थामा पनि वैकल्पिक विधिबाट पठन-पाठनलाई निरन्तरता दिन वैकल्पिक विधिको पूर्वाधार निर्माण, शिक्षक/कर्मचारीलाई तालिम दिई प्रविधिमैत्री बनाउने, सबै विद्यार्थीको इमेल आईडी तत्काल निर्माण गर्ने जस्ता काम भएका थिए । रात-दिनको प्रयासबाट एकै दिन एकै समयमा दुई लाख ४१ हजार शिक्षक विद्यार्थी माईक्रोसफ्ट टिममा जोडिन सक्ने अवस्थामा आइपुगेका छौं ।

भौतिक पूर्वाधारमा एक्जिम बैंकबाट हाम्रा ३७ निकायहरूको पुनर्निर्माणको आर्थिक स्रोत स्वीकृति, केन्द्रीय पुस्तकालयको निर्माण, २०१६ सालदेखिको बढ्दै गएर बेरुजु २८ अर्ब रुपैयाँ पुगेको थियो, त्यसमध्ये ६ अर्ब रुपैयाँभन्दा बढी बेरुजु फर्स्यौट भइसकेको छ । अब करिब ६ अर्ब रुपैयाँ जतिको बेरुजु फस्र्योट गर्ने तयारीमा छौं । यस बीचमा विश्वविद्यालयभित्र सडक सञ्जालको निर्माण गरिएको छ ।

विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउने उद्देश्य राखेर पहिलोपटक नेपाल सरकारबाट अनुसन्धानको लागि २०७७ मा १० करोड र २०७८ मा १० करोड रुपैयाँ अनुदान प्राप्त भएको छ । मैले नेतृत्व सम्हाल्न अघि विश्वको १३०० हाराहारी उत्कृष्ट विश्वविद्यालयमा पर्ने त्रिवि पछिल्लो वर्षहरूमा ८०० देखि हजारको बीचमा पर्न थालेको छ । एशियामा पनि १०० स्थान माथि उक्लिएको छ । अहिले ढाका विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालय नेपालको त्रिविभन्दा पछाडि छन् ।

वर्तमान पदाधिकारीको नियुक्तिपछि एउटा गिरोह अनेक माग राखेर त्रिवि केन्द्रीय कार्यालयको काममा भाँजो हाल्ने काम गर्दै आइरहेको छ । अदालतले समेत दोषी ठहर गरेको त्यो गिरोहले ७ माघ २०७८ देखि त्रिवि केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । एक वर्षअघि प्रक्रिया नपुर्‍याई विद्यार्थी भर्ना गरेको पाइएपछि कारबाही गरिएको कलेजको विषयलाई उठाएर तालाबन्दी गरिएको छ ।

विद्यार्थी संगठनको हुँ भन्ने व्यक्तिहरूले प्रक्रिया नपुर्‍याई विद्यार्थी भर्ना गरेको, स्थानीय नागरिक समाजको अगुवाको उजुरीको आधारमा छानबिन गर्दा कमजोरी पाइएपछि सम्बन्धन खारेजी गरेको क्याम्पसको खारेजी नाजायज हो भनेर अहिले भिसी, रेक्टर, शिक्षाध्यक्षको राजिनामा कि बर्खास्तीको माग गर्दै ताला लगाइएको छ ।

त्रिविमा विभिन्न विद्यार्थी संगठनका समूह छन् । जसमध्ये केही गिरोह यस्ता छन् जसले विगतमा विभाग, डीन, प्राध्यापक नियुक्तिमा बार्गेनिङ गर्ने र नियुक्ति दिलाएपछि आर्थिक लाभ लिने गरेका थिए । त्यस्तै निजी क्याम्पसहरूसँग पनि यो कार्यक्रम सञ्चालनको लागि सम्बन्धन दिलाइदिन्छु मलाई कति दिन्छस् भनेर बार्गेनिङ गर्ने र त्रिविमा आएर सम्बन्धन दिनको लागि दबाव दिने गरेका थिए ।

७ माघ २०७८ देखि तालाबन्दी गर्ने तिनैमध्येको एक समूह हो । यो समूहका व्यक्तिहरू म भिसी भएपछि विभिन्न ठाउँमा नियुक्तिका लागि निश्चित व्यक्तिको नाम लिएर आए । हामीले मानेनौं । त्यसपछि उनीहरूले मेरो विरुद्धमा अनेक हर्कत गर्न थाले । पहिलोपल्ट मेरो कार्यालयको टेबल पल्टाइदिए । दोस्रोपल्ट कालो ब्यानर ल्याएर भित्रै टाँसे ।

यतिसम्म कि उनीहरूकै संगठनको मान्छे आएर यसबाट हाम्रो संगठनको बेइज्जत भयो भनेर त्यो ब्यानर उठाएर लगे । तेस्रो पटक त्रिविबाट बैंक हटाउनुपर्छ भनेर १० वर्ष अघिदेखि सञ्चालित बैंक हटाउन दबाव दिए, हामीले पनि मानेनौं । त्यसको अन्तर्य बुझ्दा नयाँ मेनेजर आएपछि पैसा माग गरेका रहेछन्, नदिएपछि हटाउन खोजिएको रहेछ ।

म त्रिविमा जागिर खान आएको होइन । पाँच लाखको जागिर छोडेर ७३ हजारको तलब भएको ठाउँमा नेतृत्व सम्हाल्न आएको छु । म त्रिविमा सुधार गर्छु भनेर आएको हुँ । तर मैले सोचेभन्दा बढी धमिरा लागेको रहेछ भनेर आएपछि मात्रै थाहा पाएँ

बैंक हटाउन नमिल्ने भएपछि भिसी अफिस र बैंकमा ढुंगा हाने । त्यसपछि पनि नभएपछि आएर मेरो कुर्सी जलाए । उनीहरू हामीले भनेको व्यक्तिले भनेको पदमा नियुक्ति हुनुपर्छ भन्ने चाहन्छन् । यो गिरोहलगायत अन्य समूहले नियुक्तिको सिफारिस गर्ने र त्यस अनुसार नियुक्ति दिने काम विगतमा हुने गरेको रहेछ ।

मैले त्यो परम्परा तोडेर एउटा प्रणाली बसाएँ । जो सिनियर छ उनलाई विभागीय प्रमुखको रूपमा नियुक्त गर्छु भनेर नियुक्ति सुरु गरें । समाजशास्त्र विभागमा त्यही अनुसार नियुक्ति गरें । यसो गर्दा उनीहरूले भनेको मान्छे परेन । त्यो नहुने बित्तिकै ताला लगाए । कति प्रयास गर्दा पनि ताला नखुलेपछि पठनपाठन अस्तव्यस्त भो भनेर ताला खोल्यौं ।

त्यो ताला खोल्नमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने उप-प्राध्यापक प्रेम चलाउनेलाई सांघातिक आक्रमण गरे । यो पाँचौं पटक भएको थियो । उक्त घटनामा अदालतले दोषी ठहर गरेको गिरोहले अहिले भिसी र रेक्टर कार्यालयमा ताला लगाएको छ ।

त्यो पनि एउटा कलेजको सम्बन्धन खारेज गर्दा ‘अनुगमनमा गएको टोलीले घुस माग्दा नदिएपछि खारेज गरेको’ उनीहरूको दाबी छ । जुन सरासर गलत हो । त्यही पनि कुरा उठिसकेपछि मैले तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरी प्रतिवेदन तयार गर्न भनेको छु । त्यसमा यदि विश्वविद्यालयको कुनै व्यक्तिले घुस मागेको रहेछ भने कारबाही हुन्छ । यो कलेजलाई सम्बन्धन दे त्यो कलेजलाई न दे भन्ने विद्यार्थीको दायित्व भित्र पर्छ कि पर्दैन भन्ने प्रश्न आफैंमा अर्थपूर्ण हुने नै भयो ।

अर्को पाटो आंशिक शिक्षकहरूको छ । उनीहरू आन्दोलन, तालाबन्दी गरेर करारमा जान खोजिरहेका छन् । म त्यसरी हुँदैन, यदि त्रिविमा आउनुछ भने खुला प्रतिस्पर्धा गरेर आउनुस् जत्ति दिन ताला लगाउनुहुन्छ लगाउनुहोस् भनेर अडान लिएर बसेको छु ।

उनीहरूले अहिले आन्दोलन चर्काउनुको कारण चाहिं गएको सिनेट बैठकमा गरिएको अप्रिय निर्णय पनि हो । त्यसबेला म नचाहेरै करारमा रहेकालाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने अपि्रय निर्णय गर्न बाध्य भएँ ।

त्यो निर्णय गर्नुपर्ने कारण के रहृयो भने २०४७ सालमा प्रजातन्त्र आएपछि बीसी मल्ल कुलपति हुँदा एक वर्ष करारमा अस्थायी भएकालाई स्वतः स्थायी करार गर्ने निर्णय भयो । उक्त निर्णयपछि जाँच नै नदिई करार शिक्षक, कर्मचारी स्वतः स्थायी भए ।

त्यसपछि केदारभक्त माथेमा कुलपति हुनुभयो । उहाँले नियुक्त गर्नुभएका अस्थायी शिक्षकहरूलाई २०५७ सालमा नवीन प्रकाशजंग शाहले आन्तरिक प्रतिस्पर्धामार्फत फेरि दोस्रो चोटि स्थायी गर्नुभयो । जाँचको विधि पुर्‍याइयो तर बाहिरबाट नयाँ आउन पाएनन् ।

त्यसले विश्वविद्यालय त जागिर खाने ठाउँ रहेछ भनेर अनेक तरिकाले प्रवेश गर्न खोज्नेको भीड बढ्यो । क्याम्पस प्रमुखहरूले आफूखुसी आंशिक प्राध्यापक राखे । नियुक्त भएका उनीहरूले पुरानै प्रक्रियाबाट स्थायी हुने प्रयास गरे । तत्कालीन भिसी माधव शर्माले यो गलत प्रक्रिया भएको भन्दै स्थायी नगर्ने अडान लिएपछि २०६३ सालमा रत्नपार्कमा गएर अनसन बसे ।

उनीहरूको अनसनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जुस खुवाएर अनसन तोडाउनुभयो । त्यही कारण त्रिविमा उनीहरूलाई ‘जुसे प्राध्यापक’ भन्ने गरिन्छ । संख्या दिनु सम्बोधन हुन्छ भनेपछि ८०० को संख्यामा रहेको आंशिक प्राध्यापकहरू रातारात १३८० जना भए । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले करारमा तत्काल लैजाने र दरबन्दी सिर्जना गरेर स्थायीको प्रक्रियामा लैजाने निर्णय गर्‍यो । सोही अनुसार आन्तरिक प्रतिस्पर्धामार्फत २०६८ देखि २०७२ सालसम्म ९०० यस्ता प्राध्यापक स्थायी भए ।

बाँकी ४८० पास हुन सकेनन् । उनीहरू करारमा नै रहिरहे । त्यसपछिका आंशिक प्राध्यापकहरूले २०७४ साल साउनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी पहिलेको दरबन्दी सिर्जना गर्न अनुरोध गरे । प्रधानमन्त्री देउवाले पनि सहमति जनाउनुभयो । मन्त्रिपरिषदले दरबन्दी छुट्यायो । त्यसबेला अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसँग अर्थात् अर्थको राय सल्लाह नलिई प्रस्ताव पेश गरिएकोले बजेट विनियोजन भएन ।

उनीहरूको माग सम्बोधन नभई सरकार हटेपछि त्यो कुरा बन्द भएको थियो । त्यसपछि म भिसीको रूपमा आइसकेपछि ‘जुसे करार’ हरूले स्थायी गराउन माग गर्दै आएका थिए । मैले स्पष्ट रूपमा हुँदैन भनें । त्यसपछि फेरि शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि यही नेतृत्वले निर्णय गरेको कुरा हो कार्यान्वयन गराउन सकिन्छ कि भनेर उनीहरू फेरि आए ।

यही बेला आंशिकहरूले पनि करार गराउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरे । प्रधानमन्त्रीले यिनीहरूले धेरै गरेका छन् केही गरौं भन्नुभयो । मैले गराउन नहुने कारण, आउन सक्ने जोखिम र नयाँ आउन चाहनेलाई अन्याय हुने सम्बन्धमा स्पष्ट पारें ।

तय भएको सिनेट बैठक कुलपतिको समय अभावले स्थगित भयो । त्यसबीचमा करार प्राध्यापकहरूले प्रधानमन्त्रीलाई पहिलेदेखि आन्तरिक प्रतिस्पर्धा हुँदै आएको र त्यो हुन सिनेटबाट पास हुनुपर्ने र गराइदिन आग्रह गरेछन् । यसमा पहिलेदेखि नै प्रधानमन्त्रीको सहानुभूति थियो ।

त्यही कारण मैले निर्णर्य गर्नैपर्ने भयो । नगर्नुपर्ने निर्णय गर्नुपर्ने भएपछि मैले शर्त अघि सारें । आन्तरिक परीक्षामा पास हुने स्थायी हुने र फेल हुने घर जानुपर्ने । अर्को खुला प्रतिस्पर्धाको परीक्षामा जे-जे पाठ्यक्रम, प्रक्रिया पार गर्नुपर्छ त्यही प्रक्रियाबाट करारले परीक्षा दिनुपर्ने । गुणस्तर खस्किन नदिन यो प्रक्रियामा जान जरूरी थियो । यो शर्तसहित निर्णय भयो ।

निर्णय आउने वित्तिकै विद्यार्थीले आन्दोलन चर्काए । विद्यार्थीले म आएपछि ‘जुसे प्राध्यापक’लाई नियुक्ति दिनुहुँदैन भनेर ज्ञापनपत्र दिएका थिए । तर निर्णय भयो । करारलाई स्थायी गर्ने प्रक्रिया र शर्तबारे बुझाएपछि ३४औं दिनमा आन्दोलन स्थगित भयो ।

आंशिक प्राध्यापकहरूको पनि यही प्रक्रियाबाट जानका लागि जोड हो । १४२० ले हामी सरकारबाट पैसा ल्याउँछौं हामीलाई करार गर्नुपर्छ भन्ने शर्त अघि सारिरहेका छन् । तर, पैसा आयो भने म सेवा आयोग पठाउँछु लडेर आउनुस् भन्ने मेरो अडान हो । अब कसैले आन्दोलन, तालाबन्दी गरेकै भरमा नियुक्ति दिन सक्दैनौं भनेर स्पष्ट पारिसकेको छु । अब उनीहरूको आन्दोलनको कारण सेवा आयोगको परीक्षा प्रभावित हुन दिन्नँ ।

तर, अहिले त्रिवि आफैंले ताला खोलेर काम गर्न सक्ने अवस्था छैन । आपराधिक गतिविधि भएका गिरोहले जे पनि गर्न सक्ने सम्भावना छ । प्रेम चलाउनेको घटनाले पनि यो देखाएको छ । किनभने उनीहरू राजनीतिक संरक्षणमा छन् ।

म आफैंले आफ्नो प्राध्यापकलाई सुरक्षाको प्रत्याभूति दिनसकेको छैन । उपप्राध्यापक प्रेम चलाउनेलाई सुरक्षा दिन नसक्दा नेतृत्वमा बस्न हुँदैन भनेर राजिनामा दिने तयारी गरेको थिएँ । तर रातदिन त्रिविको लागि काम गरिरहेका, त्रिविको उन्नतिका लागि मलाई साथ दिइरहेका केही कर्मचारीले यसरी राजिनामा दिंदा थप अपराधीलाई बल पुग्छ भनेपछि म पछि हटें ।

त्रिविमा कार्यरत कर्मचारी, प्राध्यापकहरूको समस्या पनि उस्तै छ । ८० प्रतिशत कर्मचारी काम नलाग्ने छन् । प्रथम श्रेणीको कर्मचारीले ‘सेलरी सीट’ बनाउन जान्दैन । दोस्रो श्रेणीको कर्मचारीले टिप्पणी लेख्न जान्दैन । अनेक बहानामा स्थायी भएका प्राध्यापक त्यस्तै छन् । उनीहरूलाई कारबाही गर्ने हो भने संगठन जुलुस लिएर आउँछन् ।

अपराधी समूहसँग वार्ता

म त्रिविमा जागिर खान आएको होइन । पाँच लाखको जागिर छोडेर ७३ हजारको तलब भएको ठाउँमा नेतृत्व सम्हाल्न आएको छु । म त्रिविमा सुधार गर्छु भनेर आएको हुँ । तर मैले सोचेभन्दा बढी धमिरा लागेको रहेछ भनेर आएपछि मात्रै थाहा पाएँ । त्यति हुँदाहुँदै पनि म सुधार गर्न सक्छु भनेर लागिरहेको छु ।

७ माघ २०७८ देखि त्रिवि कार्यालय बन्द गर्ने गिरोह आपराधिक समूह हो । यो अदालतले नै ठहर गरेको कुरा हो । तर पनि हामीले यही समूहसँग बसेर पटक-पटक वार्ता गर्ने प्रयास गर्‍यौं । अपराधी समूहसँग वार्ताको लागि बस्न हामी बाध्य भयौं ।

त्रिविमा पदाधिकारी बैठक बसिरहेको अवस्थामा उनीहरू जबरजस्ती पसेका थिए । त्यसपछि मैले गृहमन्त्रीलाई जानकारी गराएँ । त्रिविमा सुरक्षाको लागि प्रहरी व्यवस्थापनको कुरा गर्दा गृहमन्त्रीले ‘विश्वविद्यालयभित्र प्रहरी हुनुहुँदैन भन्नेमा म स्पष्ट छु, वार्ता गरेर मिलाउनुस्’ भन्नुभयो । गृहमन्त्रीको जवाफपछि हामी आफैं मिलाउन प्रयत्न गर्नैपर्ने र त्यसको लागि अपराधी समूहसँग वार्ता गर्न बाध्य भयौं । तर पनि समाधानको बाटो खुलेन ।

मैले कुलपति, सह-कुलपतिलाई भेटेर ताला खोलिदिनुस् म काम गर्न तयार छु । मेरो सुरक्षा हुनुपर्छ भन्ने माग गरेको छु । प्रधानमन्त्रीले गृहमन्त्रीलाई त्रिविको तालाबन्दी खोल्न निर्देशन दिनुभएको छ । तर पनि अहिलेसम्म खुलेको छैन ।

त्रिवि खुलाउनको लागि सबै प्रयत्न असफल भएपछि मैले सार्वजनिक अपील गरेको छु । त्यसैले अब त्रिविलाई बचाउन यस्ता आपराधिक गिरोहबाट जोगाउन, त्रिविको साख जोगाउन शिक्षाविद्, अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी सबैलाई हामी हारगुहार गरिरहेका छौं ।

कुनै अपराधी समूहले सडकबाट राजिनामा माग्दैमा उनीहरूको माग पूरा हुँदैन । उनीहरूको अर्को माग पदाधिकारीको बर्खास्ती हो । त्यो सरकारले गर्छ भने ठिकै छ तर बर्खास्तीको कारण स्पष्ट हुनुपर्छ । म कुनै राजनीतिक दलको लागि काम गर्न त्रिविमा आएको होइन । भोलि कुनै राजनीतिक दलको झन्डा बोकेर हिंड्नु पनि छैन ।

मलाई ढुक्कसँग काम गर्न दिने हो भने म त्रिवि बनाएर देखाउँछु । यत्तिका बाधा बीचमा पनि मैले त्रिविको स्तरोन्नति गरिरहेको छु ।

(त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. बास्कोटासँग अनलाइनखबरकर्मी नुनुता राईले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?