+
+

‘त्रिविले वार्ताबाटै तालाबन्दीको निकास खोज्नुपर्छ’

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको तालाबन्दी खुलाउने काममा प्रशासनिक शक्ति प्रयोग गर्नु त्यत्ति राम्रो हुँदैन । त्यसैले हामी सकेसम्म वार्ताबाट समस्याको समाधान गर्ने प्रयत्न गरिरहेका छौं।

देवेन्द्र पौडेल देवेन्द्र पौडेल
२०७८ फागुन १३ गते ११:०२

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लामो समयदेखि तालाबन्दी भइरहेको छ भन्नेमा म जानकार छु । देशकै अग्रणी शैक्षिक संस्थामा यसरी लामो समयदेखि तालाबन्दी र काम नै प्रभावित हुनु राम्रो होइन । तर भइरहेको छ । यो विडम्बनापूर्ण अवस्था हो ।

शिक्षासँग सम्बन्धित विषयहरू टेबुलमा बसेर हल गर्ने हो । वार्ता, सहमति, संवादको विन्दु खोज्ने हो । सानो कुरामा आन्दोलन गर्ने, तालाबन्दी गर्ने परिपाटी ठिक होइन । पठनपाठनलाई असर गर्ने, प्रशासनिक कार्य रोक्ने गरी तालाबन्दी हुनु राम्रो होइन ।

राष्ट्रिय मुद्दामा, ठूल्ठूला विषयमा विद्यार्थीले संविधानसम्मत आफ्नो अधिकारको निम्ति विरोध, असहमति राख्न सक्छन् । तर विश्वविद्यालय भनेको पठनपाठनलाई निरन्तरता दिने, शैक्षिक सत्रलाई निरन्तरता दिने, बौद्धिक जमात उत्पादन गर्ने, शिक्षा, ज्ञान, अध्ययन, अनुसन्धानसँग सम्बन्धित कामलाई निरन्तरता दिने उच्च संस्था हो ।

देशकै यस्तो उच्च संस्थामा विभिन्न मागको नाममा निरन्तर तालाबन्दी हुनु राम्रो संकेत होइन । त्यसो भएर विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर हामीले तुरुन्तै सम्बन्धित पक्षसँग वार्तामा बसेर सहमतिको विन्दु खोज्नुहोस् र विश्वविद्यालयलाई सञ्चालन गर्नुहोस् भनेका छौं ।

अहिले आन्दोलन गर्ने, तालाबन्दी गर्ने को हुन्, उनीहरू कस्तो आचरणका हुन् भन्ने विषय भन्दा पनि विश्वविद्यालयसँग सम्बन्धित शिक्षक, विद्यार्थी, प्राध्यापक जोसुकै हुन् उनीहरूसँग वार्ताको माध्यमबाट समाधान खोज्नु जरूरी छ । त्यसैले हामीले त्रिवि पदाधिकारीलाई उनीहरूलाई तत्काल वार्तामा बोलाउनुस् र तालाबन्दी खोलेर कार्यालयका काम सञ्चालन गर्नुहोस् भनेका छौं ।

हामीले तालाबन्दी गर्ने सम्बन्धित पक्षहरूलाई पनि तालाबन्दी भन्दा वार्तामा बस्नुहोस्, आफ्ना मागहरू त्यहीं वार्तामा राख्नुहोस् भनेका छौं । किनकि हामीले वार्ताबाट समस्या समाधान गर्नुको विकल्प छैन ।

म आफैंले पनि आन्दोलनरत विद्यार्थीलाई भेटेर वार्ताबाट समस्याको समाधान गर्नुहोस् र तालाबन्दी खोल्नुहोस् भनेर भनेको छु । कुरा हुँदैछ । वार्ता होला नि ! वार्ता नै नहुने भन्ने पनि छैन । यस विषयमा त्रिवि पदाधिकारीले वार्ता गरेर समस्याको समाधान गर्नुपर्छ ।

नेपालकै ठूलो र प्रमुख विश्वविद्यालयमा तालाबन्दी हुनु राम्रो होइन । यसले कुनै पनि हालतमा सकारात्मक सन्देश दिंदैन । अर्को विश्वविद्यालय आफैं पनि स्वायत्त निकाय हो । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको तालाबन्दी खोलाउने काममा प्रशासनिक शक्ति प्रयोग गर्नु त्यति राम्रो हुँदैन । त्यसैले हामीले सकेसम्म वार्ताबाट समस्याको समाधान गर्ने प्रयत्न गरिरहेका छौं । सम्बन्धित पक्षलाई पनि त्यही अनुसार सुझाव दिएका र अनुरोध गरेका छौं ।

विश्वविद्यालय शैक्षिक संस्था भएकोले कुनै पनि कारणले तालाबन्दी हुनुहुँदैन भन्नेमा हामी स्पष्ट छौं । तर विभिन्न कारणले ताला लाग्ने गरेको छ, लागेको छ । अब तालाबन्दी खोल्ने र सदाका लागि तालाबन्दी अन्त्य गर्ने परिपाटी बसाउनुपर्छ भनेर प्रयास गरिरहेका छौं ।

यो कसरी गर्न सकिन्छ भनेर छलफल भइरहेको छ । त्रिविमा कुनै पनि पक्षले, संगठनले यो वा त्यो माग राखेर तालाबन्दी गर्नु ठिक होइन । समाधानका लागि अरू विकल्पहरू खोज्नु जरूरी छ भनेर बुझाउने प्रयास गरिरहेका छौं । उनीहरूसँग पनि कुरा गरिरहेका छौं । आन्दोलनरत पक्षहरू विद्यार्थी, प्राध्यापकसित पनि तालाबन्दी नगर्न र समस्या समाधानका लागि पहल गर्नुहोस् भनेर अनुरोध गरेका छौं ।

त्रिविलाई तालाबन्दी क्षेत्र मुक्त गर्नको लागि अथवा आन्दोलनकै कारण त्रिविको शैक्षिक गुणस्तर खस्कनुहुँदैन भन्ने कुरामा हामी गम्भीर छौं । पढाइ, दैनिक प्रशासनिक कार्यमा यस्ता गतिविधिले असर गर्नुहुँदैन भनेर त्रिविमा सदाका लागि तालाबन्दीको अन्त्य हुनुपर्छ/गर्नुपर्छ भनेर उपाय खोज्ने प्रयासमा सरकार छ । हामी छिट्टै समस्याको समाधान निकाल्छौं ।

(शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पौडेलसँग अनलाइनखबरकर्मी नुनुता राईले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?