+
+

करिब १५ सय रोपनी जग्गा चकलाबन्दी गरेर सामूहिक खेती

विकास मरहट्टा विकास मरहट्टा
२०७८ फागुन १३ गते १३:४१

१३ फागुन, गोरखा । जिल्लाको करिब १५ सय रोपनी जग्गामा चकलाबन्दी गरेर सामूहिक खेती गरिएको छ । सिजन अनुसार कृषक समूहले विभिन्न खेती गर्दै आएका छन् ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन गरेको जग्गा चकलाबन्दी कार्यक्रम अन्तर्गत जिल्लाका चार ठाउँमा चकलाबन्दी गरेर खेती सुरु गरिएको हो । अजिरकोट, शहीद लखन, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकामा उक्त कार्यक्रम लागू भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अजिरकोट गाउँपालिका-४ फुरभुजेमा चकलाबन्दी गरिएको १५८ रोपनी जग्गामध्ये ५० रोपनीमा मार्गदर्शक कृषि सहकारीले धैलागिरी जातको गहुँ लगाएको छ । गत वर्ष ८० रोपनीमा गहुँ र ४५ रोपनीमा तोरी खेती गरेको सहकारीले त्यस अघि रैथाने जातको धान लगाएको थियो । चकलाबन्दीका लागि गण्डकी प्रदेश सरकारबाट ३५ लाख रकम अनुदान पाएको सहकारीका पूर्णचन्द्र दवाडीले बताए ।

सिरानचोक गाउँपालिका-४ छोप्राकमा १ हजार ६ रोपनी जग्गा चकलाबन्दी गरेर खेती गरिएको छ । जन्मभूमी कृषि सहकारी संस्थाले तीनवटा प्लट बनाएर धान खेती गरेको छ । हाल हर्दिनाथ–१ र चैते धानको बीउ लगाइएको संस्थाका हरि अधिकारीले बताए । चकलाबन्दीका लागि गण्डकी प्रदेश सरकारले रोपनीको २४ हजारका दरले रकम उपलब्ध गराएको थियो भने २ हजार केजी धानको बीउ अनुदानमा उपलब्ध गराइएको थियो ।

त्यस्तै, सोही क्षेत्रको ३० रोपनी जग्गामा महिला चेतना कृषि तथा पोखरेल एर्गिकल्चर फर्मले आलु खेती गरेको छ । टिपिएस–१ जातको आलु लगाइएको संस्थाका अमर पोखरेलले बताए । ३५ क्विन्टल आलुको बीउ अनुदानमा पाएको उनले जानकारी दिए ।
शहीद लखन गाउँपालिका–३ मनकामनाको कल्लेरीमा १६९ रोपनी जग्गा चकलाबन्दी गरिएको छ । साना किसान सहकारी मार्फत सो क्षेत्रमा आलु, तोरी, गहु, काक्रोलगायत खेती गरिएको छ । करिब १६० रोपनीमा खेती भएको चकलाबन्दी उपसमितिका लाल बहादुर थापाले बताए । ‘गत बर्ष सावित्री जातको धान लगाएका थियौ, अहिले तरकारी खेती गरेका छौ,’ उनले भने ।

चकलाबन्दीका लागि गण्डकी प्रदेश सरकारबाट ३८ लाख ५६ हजार रकम अनुदान पाएको उनले जानकारी दिए ।

त्यस्तै, पालुङटार नगरपालिका–७ को १३६ रोपनी जग्गा चकलाबन्दी गरेर मकै र धान खेती गरिएको छ । लक्ष्मी बहुउदेश्यीय सहकारीले मकै र धान खेती गरेको हो । उक्त सहकारीलाई मकैको बीउसँगै मकै रोप्ने, गोड्ने, ड्याङ बनाउने मेसिनलगायत कृषि औजार अनुदानमा उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चकलाबन्दीका लागि उक्त सहकारीले २० लाख रकम अनुदान पाएको थियो ।

जग्गा फराकिले बनाएर सामूहिक खेती गराउने उदेश्यका साथ गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ बाट जग्गा चकलाबन्दी कार्यक्रम सञ्चालन गरेको हो ।

५० रोपनी देखि १०० रोपनीसम्म जग्गा चकलाबन्दी भएमा दश लाख, १०० देखि २०० रोपनीसम्मलाई बढीमा २० लाख र २०० भन्दा माथि भएमा प्रतिरोपनी दश हजारका दरले अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत प्रमोद गैह्रेले बताए । चकलाबन्दी भएको ठाउँमा यस वर्ष उन्नत प्रविधी प्रदर्शनी कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?