+
+

जसपा बैठक : विवादका सबै विषयमा छलफल गर्न अध्यक्ष यादव तयार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते २०:३९

१३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक लम्बिने भएको छ । शुक्रबार ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा सुरु भएको बैठकले छलफलका लागि १२ वटा एजेन्डा तय गरेको छ ।

बैठकमा अध्यक्ष यादवले ४ वटा एजेन्डा प्रस्तुत गरेका थिए । कार्यकारिणी सदस्यले थप ८ वटा एजेन्डा थप गर्न माग गरेपछि अध्यक्ष यादव सबै एजेन्डामा छलफल गर्न तयार भएका हुन् ।

आन्तरिक विवाद चुलिएको बेला सुरु भएको बैठकमा शुक्रबार स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगमा पार्टी दर्ताबारे छलफल भएको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

बैठकमा स्थानीय तहमा उम्मेदवार चयन गर्ने विधिबारे छलफल भएको एक सहभागीले जानकारी दिए । ‘गाउँपालिका र नगरपालिकाको वडाको उम्मेदवार छनौट गर्ने जिम्मेवारी सम्बन्धित गाउँपालिका र नगरपालिका कमिटीलाई नै जिम्मा दिने निर्णय भए,’ उनले भने, ‘गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार जिल्ला समन्वय समितिले प्रदेश समितिलाई सिफारिस गर्ने र महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार पार्टी केन्द्रले नै टुंगो लगाउने निर्णय भयो ।’

उम्मेदवार चयनको क्रममा विवाद भए त्यसलाई समाधान गर्नका लागि केन्द्रमा एउटा कार्यदल बनाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा शनिबार एमसीसी सम्झौताबारे छलफल गर्ने तयारी रहेको छ । एमसीसीको एजेन्डामा छलफल सकिएपछि संगठनात्मक कार्यको समीक्षा र समायोजन, कार्यकारिणी समितिमा पद पूर्ति, कार्यकारिणी सदस्यहरूको पदनाम र कार्य विभाजन, पार्टी विधान सम्मेलन, सामुहिक र समावेशी नेतृत्व प्रणाली, सुज अभियान, पार्टीका मन्त्रीहरूको कार्य समीक्षा, केन्द्रीय समिति र संघीय परिषदको बैठक लगायतका एजेन्डामा निरन्तर छलफल हुनेछ ।

केही दिन लम्बिन सक्ने बैठकमा विवादका सबै विषयमा छलफल गर्न अध्यक्ष यादव तयार देखिएको एक केन्द्रीय कार्यकारिणी सदस्यले जानकारी दिए । ‘लामो समयदेखिको विवाद र संवादहिनताबीच सुरु भएको बैठक भए पनि सौहार्दपूर्णरुपमा सुरु भएको छ,’ एक नेताले भने, ‘एमसीसीको विषयमा पनि एकमतले निर्णय हुने सम्भावना छ, कार्यकारी अधिकार बाँडफाँडको विषयलाई पनि अध्यक्षले छलफल गरेर टुङ्ग्याऔं भन्दै एजेन्डामा समावेश गर्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?