+
+

वडाध्यक्ष मृत्युको विरोधमा सुर्खेतको छिन्चुमा विहानैदेखि सडक बन्द

एम्बुलेन्स पनि चल्न नदिने आफन्तको चेतावनी, बल प्रयोग गछौं : प्रजिअ

यज्ञ खत्री यज्ञ खत्री
२०७८ फागुन १४ गते १६:००

१४ फागुन, सुर्खेत । दुर्घटनामा घाइते वडाअध्यक्षको मृत्यु भएपछि आफन्त र स्थानीय वासिन्दाले शनिबार बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।

मोटरसाइकल दुर्घटनामा भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको शुक्रबार राति काठमाडौंको न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित ३० वर्षीय वडाध्यक्ष कार्की सवार मोटरसाइकललाई फागुन ८ गते गाडीले ठक्कर दिएको थियो । उनलँई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

आफन्त र स्थानीयले दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राखेर बजार र सडक बन्द गराएका हुन् ।

बिहान ११ बजेदेखि वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयमा वडाध्यक्षका आफन्त र प्रशासनका अधिकारीहरुबीच छलफल चलिरहेको छ । तर छलफल निश्कर्षमा पुग्न नसकेपछि आफन्तले एम्बुलेन्स समेत चल्न नदिने चेतावनी दिएका छन् ।

‘हाम्रा माग सामान्य छन्, हेलिकप्टर चार्टर्डको खर्चसहित आवश्यक क्षतिपूर्ति मागेका छौं । तर राज्यले हाम्रो माग सम्बोधन गर्नुको साटो झन् दबाउन खोजेको छ’ मृतक वडा अध्यक्षका दाइ नरेन्द्र कार्कीले अनलाइनखबरसँग भने, ‘माग सम्बोधन नभएसम्म एम्बुलेन्स समेत चल्न दिने छैनौं ।’

मृतक वडा अध्यक्ष कार्की वडाकै काममा गएका बेला दुर्घटनामा परे पनि भेरीगंगा नगरपालिकाले समेत बेवास्ता गरेको दाइ नरेन्द्रको गुनासो छ । ‘नगरपालिकाले पनि अहिलेसम्म कुनै वास्ता गरेको छैन, उसको आर्थिक अवस्था पनि कमजोर नै थियो । थोरै भएपनि उपचार खर्च उपलव्ध गराउनुपर्छ भन्ने हाम्रो माग हो’ उनले भने ।

प्रदेशकै मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरु ठप्प भएका छन् । बिहान नेपालगञ्जतर्फत गएका केही सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

‘गाडीको लाम एक किलोमिटर भन्दा लामो छ, बिहानदेखि पानी खान पाएका छैनौं । जंगलको बीचमा रोकिँदा यता न उता भएका छौं’ बिहान ६ बजेदेखि जाममा परेका एक यात्रुले भने ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सडक खुलाउने तयारी भइरहेको बताए । ‘बिहानैदेखि यात्रु भोकै बाटोमा अलपत्र छन, अब बल प्रयोग गरेर भएपनि सडक खुलाउछौं’ प्रजिअ रिजालले अनलाइनखबरसँग भने ।

सडक खुलाउनका लागि आवश्यक प्रहरी समेत पठाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । आफन्तसंग छलफल भइरहेको र सहमतिको प्रयास पनि भएको उनको भनाइ छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?