+
+

कोरोनाको तेस्रो लहरपछि स्टेजमा फर्किए गायक-गायिका

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १६:१३
फाइल तस्वीर

१५ फागुन, काठमाडौं । गायक प्रकाश सपूत आइतबार रुपन्देहीको देवदह पुगेका छन् । एक क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ पुगेका उनले सांगीतिक प्रस्तुति दिनेछन् । कोरोना संक्रमणको तेस्रो लहरपछि यसअघि पनि प्रकाशले केही सांगीतिक कार्यक्रम गरिसकेका छन् ।

गायिका मेलिना राई सोमबार अत्तरिया कैलालीमा जारी ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’मा सांगीतिक प्रस्तुति दिंदैछिन् । त्यसको चार दिनपछि उनले धरानमा सांगीतिक प्रस्तुति दिंदैछिन् ।

गायिका प्रीति आलेले आइतबार रुपन्देहीको तिलोत्तमामा सांगीतिक प्रस्तुति दिंदैछिन् । त्यस्तै सोमबार उनले बर्दघाट महोत्सवमा प्रस्तुति दिनेछिन् भने मंगलबार गुल्मी पुगेर सांगीतिक प्रस्तुति दिंदैछिन् ।

गायक हेमन्त शर्माले कोरोनाको तेस्रो लहरपछि पहिलोपटक आगामी बिहीबार चितवनमा सांगीतिक प्रस्तुति दिंदैछन् । कमल खत्री, रचना रिमाल, रमेशराज भट्टराई, कल्पना दाहाल, अर्जुन कौशलजस्ता थुप्रै गायक-गायिकाले तेस्रो लहरपछि सांगीतिक प्रस्तुति दिइसकेका छन् । थुप्रै गायक-गायिकाहरुले सांगीतिक प्रस्तुति तय गरेका छन् ।

मेला-महोत्सव तथा सांगीतिक कार्यक्रमका लागि असोजदेखि फागुनसम्मलाई मुख्य सिजन मानिन्छ । तर मेला महोत्सवको मुख्य सिजनमै कोरोनाको तेस्रो लहर भित्रिएसँगै चलिरहेका थुप्रै सांगीतिक कार्यक्रम बीचमै रोकिन पुगेका थिए । अहिले भने कोरोना संक्रमणदर घट्दै गएपछि सांगीतिक कार्यक्रमहरु पनि सुरु भएका हुन् ।

चितवनमा आइतबारदेखि ‘रत्ननगर महोत्सव २०७८’ शुरु भएको छ । यो महोत्सव कोरोनाको तेस्रो लहर अगाडि गर्ने तयारी थियो । कैलालीमा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’सँगै  नवलपरासी बर्दघाटमा मेला एवं महोत्सव जारी छन् । अन्य केही स्थानमा मेला महोत्सवको तयारी समेत गरिंदैछ ।

तेस्रो लहरपछि फाट्टफुट्ट रुपमै भएपनि सांगीतिक प्रस्तुति दिन पाउँदा गायक-गायिकाहरु खुसी भएका छन् । गायक हेमन्त शर्माले केही समयको अन्तरालमा सांगीतिक प्रस्तुति हुँदै गर्दा उत्साहित रहेको बताए । तर चैतदेखि भने मेला-महोत्सव कमै मात्रामा हुने गायक शर्मा बताउँछन् । चैतपछि कर्पोरेट हाउसहरुसँगै अन्य केही फाट्टफुट्ट रुपमा सांगीतिक कार्यक्रम भएपछि ठूला महोत्सव अब भदौ-असोजपछि मात्र सुरु हुने शर्मा बताउँछन् ।

‘प्राइम टाइम माघ-फागुन कोरोनाले खाइदियो । अब फाट्टफुट्ट सांगीतिक कार्यक्रमहरु भए भयो नत्र एकैचोटि भदौ-असोज कुर्ने हो,’ शर्मा भन्छन् । पछिल्ला दुई वर्ष मेला-महोत्सवको सिजनमै कोरोना उत्कर्षमा पुग्दा स्टेज कार्यक्रम रोकिएका थिए । जसका कारण स्टेजमा केन्द्रित कलाकारहरु मारमा परेका थिए । आगामी वर्षको मेला महोत्सवको सिजन भने राम्रो हुने आशा गायक-गायिकाहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?