+
+

एमसीसीमाथिको भ्रम निवारण भयो : कांग्रेस प्रवक्ता महत

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १८:५४

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पारित भएपछि यसमा देखिएका भ्रमहरु निवारण भएको बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट ब्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित भएपछि यसमा देखिएका भ्रम निवारण भएको बताएका हुन् ।

‘एमसीसीको सन्दर्भमा भ्रम निवारण संसदमार्फत गरिएको छ । भ्रम र अन्योल हटेको छ । औपचारिक सहभागिता नभए पनि एमाले सहभागी भएको बुझेका छौं । पार्टी सभापतिको सुझबुझ, धैर्यताका कारण अनुमोदन सम्भव भएको छ’ उनले पत्रकार सम्मेलनमा भने ।

एमसीसी अनुमोदनले नेपाली कांग्रेस परिपक्व निर्णय गर्छ र त्यसमा अडिन्छ भन्ने छाप नागरिकमा परेको प्रवक्ता महतले दावी गरे । ‘केही भ्रम रहेको भए त्यसलाई चिर्न कांग्रेस लागिरहन्छ ।  बुझाइमा समस्या रहे हामी बुझाउँछौं’ उनले भने ।

प्रवक्ता डा. महतले ब्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गरेको जिकिर गरे । ‘ब्याख्यात्मक घोषणासहित एमसीसी संझौता प्रतिनिधि सभाबाट पारित भएकोमा दातृ राष्ट्र संयुक्त राज्य अमेरिकाले समेत स्वागत गरिसकेको छ ।’

विगतका सरकार कुनै न कुनै रुपमा एमसीसी सम्झौताको प्रक्रियामा सहभागी भए पनि भ्रम छर्ने काममा लागेको डा. महतले बताए ।

संसदबाट एमसीसी सम्झौता पारित गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नाराबाजीकै क्रममा थियो । कांग्रेस प्रवक्ता महतले एमसीसीमा एमालेको समर्थन नरहेको दावी गरे । ‘प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अन्य कारणले संसदीय प्रक्रियामा सहभागी हुन नसके पनि एमसीसीको पक्षमा नै थियो’ उनले भने ।

एमसीसीको विरोधमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा अभिव्यक्ति नदिएकाले पारित गर्न सहयोग पुगेको कांग्रेसको बुझाइ छ । सम्झौता पारित गर्न र सकारात्मक जनमत सिर्जना गर्न एमालेको कारण सहयोग मिलेको प्रवक्ता डा. महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?