+
+

‘डक्टर स्ट्रेन्ज २’को ट्रेलरमा नेपालको दृश्य, वैशाख २३ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १४:४९

१७ फागुन, काठमाडौं । बेनेडिक्ट कम्बरब्याच स्टारर हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज : मल्टिभर्स अफ म्याडनेस’को ट्रेलर यसैसाता सार्वजनिक भएको छ । चलचित्रमा नेपालको कथावस्तु पनि समावेश छ । यो चलचित्रको पहिलो शृंखला काठमाडौं र ललितपुरमा छायांकन भएको थियो ।

दोस्रो शृंखलाको ट्रेलरमा नेपालको हिमालय, पाटन दरबार स्क्वायर लगायतका सम्पदालाई भीएफएक्ससहित चित्रण गरिएको छ । खलपात्रसँग लड्न कथाको निरन्तरतास्वरुप नेपाली थलोलाई यसमा चित्रण गरिएको छ ।

कार दुर्घटनामा गम्भीर घाइते डक्टर स्ट्रेन्ज पात्रले अलौकिक चमत्कारको खोजी गर्दै गरेको नेपालको यात्रालाई चलचित्रमा चित्रण गरिएको छ । नेपालमा छायांकन भएकाले पनि नेपाली दर्शकमाझ यो चलचित्रको क्रेज बढी छ ।

टाइम ट्राभलमार्फत नायकले गर्ने नेपालको यात्रालाई यसमा चित्रण गरिएको छ । काठमाडौं छायांकनको क्रममा आउँदा अभिनेता कम्बरब्याचले नेपालको युगीन संस्कृति र धरोहरको प्रशंसा गरेका थिए ।

हलिउड सुपरस्टार कम्बरब्याच पनि सहभागी रहेको र नेपालमा पनि छायांकन भएकाले घरेलु दर्शकलाई हलसम्म तान्न सक्ने अपेक्षा गरिएको छ । यो चलचित्रको रिलिज मिति आगामी वैशाख २३ गतेलाई तय गरिएको छ । सोही मितिमा रिलिज हुन लागेका दुई नेपाली चलचित्र ‘कबड्डी ४’ र ‘लक्का जवान’लाई पनि ‘डक्टर स्ट्रेन्ज’ चुनौतिपूर्ण हुने अनुमान गरिएको छ ।

गत महिना नेपालमा रिलिज भएको ‘स्पाइडरम्यान : नो वे होम’सँगै नेपालमा ‘डक्टर स्ट्रेन्ज’को टिजर लन्च भएको थियो । मार्भलले निर्माण गरेको यो चलचित्र नेपालमा छायांकन भएको सबैभन्दा ठूलो हलिउड प्रोजेक्ट हो ।

कबड्डी ४अन्यलमा

वैशाख २३ गतेका लागि त्रिपक्षीय भिडन्त हुने तय भएपनि सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेकाले ‘कबड्डी ४’ भने अन्योलमा देखिएको छ । निर्माता मणिराम पोखरेलले सोही मितिमा चलचित्र रिलिज गर्ने वा नगर्नेबारे चाँडै टुंगो लगाइने बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले सकेसम्म पूर्वनिर्धारित मितिमै चलचित्र ल्याउन आफूहरुको पहल हुने बताए ।

शिवहरि पौडेलद्वारा निर्देशित ‘लक्का जवान’ भने सोही मितिमा नेपाली हलमा रिलिज हुने तयारीमा छ । निर्देशक पौडेलले घोषित मितिमै फिल्म ल्याउने अडान दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?