+
+

पैसा खुवाए छुटिन्छ भन्ने विश्वासमा नपर्नुस् : मुख्य न्यायाधीश श्रेष्ठ

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले रिहा हुने आशामा कसैलाई पनि पैसा नदिन आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १८:४२

१८ फागुन, विराटनगर । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले रिहा हुने आशामा कसैलाई पनि पैसा नदिन आग्रह गरेका छन् ।

बुधबार जिल्ला कारागार मोरङमा तीन दिने न्यायिक शिविरको उद्घाटन गर्दै उनले न्यायाधीशलाई पैसा खुवाए छुटिन्छ भन्ने विश्वासमा नपर्न आग्रह गरेका हुन् ।

‘कारागारभित्रै बसेकाहरुले न्यायाधीशलाई पैसा खुवाएर छुटाइदिन्छु भनेर कारागारमा बसेका अर्कोको पैसा खाएको पनि भेटियो,’ उनले भने, ‘पैसा खुवाएर छुट्ने भए आफैं छुट्थ्यो नि, आफूचाहिं कैदमा बसिरहने र अर्कोलाई छुटाइदिन्छु भनेर पैसा माग्ने गरेको पनि देखियो, त्यसैले यस्तो कुरामा सतर्क हुनुहोला ।’

कानुनी सेवाका नाममा न्यायाधीशलाई मिलाउनुपर्छ भनेर वा अरु कुनै कारण देखाएर पैसा उठाएको भएमा तत्काल जानकारी दिन मुख्य न्यायाधीश श्रेष्ठले आग्रह गरे । उनले न्यायाधीशसँग ‘सेटिङ’ गरेर मुद्दा मिलाइदिन्छु भन्नेलाई कारबाही गर्ने बताए ।

कारागारमा रहेका कैदीबन्दीका समस्या सम्बोधनका लागि अदालतले शिविर आयोजना गरेको उनले बताए । अदालतले गरेको तीन दिने शिविर शुक्रबारसम्म सञ्चालन हुने छ ।

मुख्यन्यायाधीश श्रेष्ठले पहिलो पटक तीन वर्षअघि राजविराज कारागारमा आयोजित शिविर प्रभावकारी भएपछि दोस्रो पटक विराटनगरमा आयोजना गरिएको बताए । ‘हामी न्यायिक समस्याका कुरा गर्छौं । तर न्याय सम्पादन किन प्रभावकारी भइरहेको छैन भनेर हेर्दैनौं’, उनले भने, ‘सामान्य न्यायिक सेवाबाट कैदीबन्दीले बञ्चित हुन नपरोस् भनेर शिविर चलाइएको हो ।’

पटक–पटक मुद्दा स्थगित हुँदा सुनुवाइ प्रभावित हुने, मुद्दाको फैसला समयमै नहुँदा कारागारमा बन्दी जीवन बिताइरहनुपर्ने, न्याय निरुपणमा ढिलासुस्ती हुँदा त्यसको असर कैदीबन्दीलाई पर्ने मुख्य न्यायाधीश श्रेष्ठले बताए ।

कतिपयमा मुद्दाको फैसला भएको पनि थाहा नपाउने समस्या देखिएकाले कारागारभित्र शिविर आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?