+
+

एउटा मन्दिर : जहाँ कुमार केटाहरूले पार्वतीको मूर्ति चोर्छन्

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १२:३६

हिन्दु मन्दिरहरूमा मानिसहरू भगवानको दर्शन तथा पूजा आराधना गर्नका लागि आउँछन् । तर दुनियाँमा एउटा यस्तो मन्दिर छ जहाँ मानिसहरू पूजा गर्न होइन मूर्ति चोर्नका लागि आउँदछन् । उक्त मन्दिरमा मूर्ति चोर्ने परम्परा नै रहेको छ ।

भारतको राजस्थानस्थित हिंडौली जिल्लामा रहेको एउटा मन्दिरमा यस्तो अनौठो परम्परा छ ।

गत मंगलबार महाशिवरात्रिको अवसरमा मन्दिरमा ठूलो मेला लाग्यो । तर महाशिवरात्री भन्दा अगाडि मन्दिरमा पार्वती देवीको मूर्ति कसैले चोर्‍यो । मन्दिरबाट मूर्ति चोरी भए पनि त्यसबारेमा कुनै अनुसन्धान गर्ने प्रयास भएन । किनकि त्यहाँ पार्वतीको मूर्ति चोर्ने परम्परा नै छ ।

रघुनाथघाटस्थित शिव मन्दिरमा यो पटक पनि महाशिवरात्रिमा महादेव एक्लो भए । किनकि शिवरात्री अगाडि कुमार केटाहरूले मन्दिरबाट पार्वतीको मूर्ति चोरेर लगे, अघिल्ला वर्षमा झैं ।

स्थानीय परम्परा अनुसार कुमार युवकहरूले मन्दिरबाट चोरेर लगेको पार्वतीको मूर्ति घरमा राख्दछन् र बिहे गरेपछि पत्नीसँगै मन्दिरमा आएर मूर्ति फिर्ता गर्दछन् । त्यसरी फर्काएको मूर्ति अर्को कुमारले उडाइहाल्छ । यसपटक गत फेब्रुअरी १८ मा मन्दिरमा पार्वतीको मूर्ति फिर्ता आएकोमा २२ फेब्रुअरीमा पुनः चोरी भयो ।

मन्दिरका पुजारीका अनुसार पार्वती माताको मूर्ति एक वर्षपछि फिर्ता आएको थियो । मन्दिरबाट मूर्ति कसले चोरी गरेको छ भन्ने जानकारी पुजारीलाई हुन्छ तर चोरी गर्ने बेलाचाहिँ कसैलाई थाहा हुनु हुँदैन भन्ने मान्यता छ ।

अहिलेसम्म यसरी मूर्ति चोर्नेहरू मध्ये एक दर्जनभन्दा धेरैको बिहे भैसकेको छ । पार्वतीको मूर्ति ६० वर्ष पूरानो भएको बताइएको छ ।

एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?