+
+
बालाजु–रानीपौवा सडक :

‘सडकमा काम रोक्नासाथ फोहोरका गाडी पनि रोक्छौं’

सडक विभागका अनुसार ३१ करोड रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा कुल ५८ प्रतिशत काम सकिएको छ । विगतमा बनिसकेको भाग पनि मर्मत नगरेपछि भत्किएकाले भौतिक प्रगति झन खस्किएको विभागको अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १७:००
बालाजु-त्रिशूली सडक कालोपत्रे नभएपछि तीनपिप्लेका स्थानीयले बसमा टाँसेको शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटोसहितको कालो ब्यानर

१९ फागुन, काठमाडौं । बुधबार पनि पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डमास्थानीयले फोहोर बोकेर सिसडोल गइरहेका गाडीलाई रोके । विहान ढिलासम्म पनि ठेकदार कम्पनी मेसिन र कामदार नदेखिएपछि तारकेश्वर नगरपालिक–३ स्थित तीनपिप्लेका स्थानीयले फोहोरका गाडी रोकेका थिए ।

आन्दोलन सुरु भएपछि सडकमा तत्कालै मर्मतको काम त सुरु भयो, तर फोहोरका गाडी चल्न पाएनन् । जनप्रतिनिधिहरु पुगेर छलफल भएपछि मात्रै स्थानीयहरु अवरोध हटउन तयार भए ।

सडक हटाउनुअघि स्थानीयको शर्त थियो, जुन दिन सडक कालोपत्रेका लागि भइरहेको तयारीको काम रोकिन्छ, त्यही दिन फोहोर बोकेका गाडी पनि रोकिन्छन् । अब यो सडक खण्डका स्थानीहरु सकड विस्तारको कामा थप अलमल भए फोहोर रोकेरै काम गराउने रणनीतिमा छन् ।

१ फागुनदेखि नै यो सडकमा फोहोर बोकेर सिसडोलको डम्पिङसाइटमा पुगेका गाडीलाई स्थानीयले रोकेका थिए । एक हप्ताभन्दा बढी अवधि फोहोर रोकिएपछि ठेकदार कम्पनीसँग तत्काल सडक कालोपत्रे गर्ने सहमति भएर बाटो खुल्यो ।

यही आन्दोलनपछि झण्डै डेढ वर्षदेखि गुमनाम सडक विभाग र ठेकदार शैलुङ कन्स्ट्रक्सन इन्जिनियर तथा कामदारहरु सडकका देखा परेका थिए । एक हप्तासम्म काठमाडौंबाट सिसडोलमा फोहोर बोकेर जाने गाडी नै रोकिएपछि उनीहरुलाई सडकमा ग्राभेल गर्न र हेभी मेसिनहरु चलाउन कर नै लाग्यो ।

तर, काममा आलटाल भएकै बखतमा फेरि स्थानीयहरु खबरदारी गर्दै दबाब सिर्जना गरिरहेका छन् । तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष मनोहरि तिवारी काम रोकिएकै क्षणमा फोहोरका गाडी चल्न रोक्ने बताउँछन् ।

शैलुङ कन्स्ट्रक्सन सडक विभागका लागि पप्पु कन्स्ट्रक्सनपछिको सबैभन्दा बढी समस्या सिर्जना गर्ने कम्पनी हो । विभन्न ठाउँमा निर्माणका सडक भत्कएपछि अलपत्र छाडेर शैलुङ सम्पर्कविहीन हुने गरेको छ । स्थानीयको आन्दोलनले फर्किएपनि प्रतिवद्धता अनुरुप काम गरेको एउटै उदाहरण छैन ।

‘अब जनताहरु कुनै पनि हालतमा अरु सम्झौता गर्न तयार छैनन्,’ उनी भन्छन्, ‘काम रोकियो भने फोहोरको गाडी पनि चल्न पाउँदैनन् ।’ उनले आफूहरुले रानीपौवासम्मकै बाटो कालोपत्रे हुनुपर्ने माग गरेको पनि बताए ।

गत बिहीबारसम्म स्थानीयले ‘नो रोड, नो भोट’ अर्थात् सडक नबनाए भोट दिन्नौं भन्ने नारासहित तारकेश्वर नगरपालिकाका स्थानीयले ठेकदार कम्पनी शैलुङका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो समेत सार्वजनिक स्थलमा टाँसेर विरोध गर्दै आएका थिए । अधिकारी पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् ।

विस्तारको काम ८ वर्षसम्म अलपत्र छाडिएको भन्दै नेताहरुलाई समेत सडकबाट हिँड्न रोकेपछि सडक विभाग र ठेकदार शैलुङ कन्स्ट्रक्सन कम्पनीलाई सम्वादमा आउन कर नै लागेको थियो ।

सडक विभागका अनुसार ३१ करोड रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा कुल ५८ प्रतिशत काम सकिएको छ । विगतमा बनिसकेको भाग पनि मर्मत नगरेपछि भत्किएकाले भौतिक प्रगति झन खस्किएको विभागको अनुमान छ ।

बाँकी काम आगामी चैतसम्म सक्ने आश्वासन दिएर बिहीबारबाट फोहोर बिसर्जनको लागि बाटो खुलाइएको हो । तर, विगतको कार्यशैली हेर्ने हो भने शैलुङले अन्य सडक खण्डमा पनि विरोधपछि गरेका यस्ता प्रतिवद्धता घाममा सुकाइदिएको प्रशस्तै उदाहरण छन् । यसैले सडक विभागकै अधिकारीहरु शैलुङले चैतसम्म यो काम नसक्ने निश्चित रहेको बताउँछन् ।

शैलुङ कन्स्ट्रक्सन सडक विभागका लागि पप्पु कन्स्ट्रक्सनपछिको सबैभन्दा बढी समस्या सिर्जना गर्ने कम्पनी हो । विभन्न ठाउँमा निर्माणका सडक भत्कएपछि अलपत्र छाडेर शैलुङ सम्पर्कविहीन हुने गरेको छ । स्थानीयको आन्दोलनले फर्किएपनि प्रतिवद्धता अनुरुप काम गरेको एउटै उदाहरण छैन ।

तर, तीनपिप्लेका स्थानीयहरु यसपटक त्यस्तो इतिहास नदोहरिने बताउँछन् । ‘अन्यत्र शैलुङले के–के गर्‍यो हामी जान्दैनौं, यहाँ एक दिन पनि कम्पनीले छुट पाउँदैन, काम रोकिएको छिनमा काठमाडौंको फोहोर बिसर्जन रोक्छौं,’ स्थानीय हरिकुमार शर्मा भन्छन्,‘हामीले ८ वर्ष धुलो खायौं, अब सहने क्षमता र धैर्य सकियो ।’

काठमाडौं महानगरपालिकाको वातावरण विभागकी निमित्त प्रमुख सरिता राई बुधबार रोकिएका गाडहीहरु शुक्रबारदेखि नियमित फोहोर खसाल्न गइरहेको बताउँछिन् । ‘सडककाम काम रोकिनु भएन भन्ने उहाँहरुको माग छ,’ उनले भनिन्, ‘ संघीय सरकारले त्यसलाई उचित तवरले सम्बोधन गरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?