+
+
संगीत :

‘ब्ल्याक पिंक’ : कोरियाली पप संस्कृतिलाई संसारभर फैलाउने सेतु बन्दै

ब्ल्याक पिंकको सफलता ओभरनाइट हासिल भएको होइन । डिस्कोग्राफी हेर्दा लाग्छ, धेरै असफलताको स्वाद चाखेर मात्र ब्याण्ड चुचुरोमा पुगेको हो । सन् २०१६ मा खुलेको ब्याण्डका २० वटा गीत रिलिज गरिसक्दा पनि बिलबोर्डको सूचीमा अटाउन सकेको थिएन । तर जब ‘किल दिस लभ’ ट्रयाक रिलिज भयो, ब्ल्याकपिंकको पटकथा बदलियो ।

विष्णु शर्मा विष्णु शर्मा
२०७८ फागुन २१ गते १९:००

२१ फागुन, काठमाडौं । ‘सौम्य शक्ति’लाई देशको हैसियत मान्ने हो भने निर्विवाद रुपमा दक्षिण कोरिया अहिलेको ‘महाशक्ति’ हो । मानवीय विकास सूचकांकमा सातौं स्थानको यो मुलुकसँग के छैन ? बीटीएस र साईले नेतृत्व गरेको पप-कल्चर छ ।

निर्देशक बोन जोन होले हाँकेको ‘प्यारासाइट’ फिल्मको दृश्यभाषा छ । भिडिओ गेम र टीभी सिरिज ड्रामाहरू छन् । कोरियाली सफ्ट-पावरको यो शृंखलामा अब उनिएको छ, ‘ब्ल्यांक पिंक’ ।

कोरियाली सौम्य शक्तिको बाछिटा यतिबेला ४ हजार १३ किलोमिटर हवाई दूरीमा पर्ने नेपालमा समेत सुरु भएको छ । दक्षिण कोरियाली संगीत, फिल्म र फेसनको प्रभाव नेपाली बजारमा स्पष्ट रुपमा देखा पर्न थालेको छ ।

‘हल्यू’ अर्थात् कोरियाली-वेभ भनिने यो बाछिटा नेपालमा मात्र हैन, विश्वबजारमै रोकिने छाँटकाँट छैन । बरु यसले फेसन, संगीत र फिल्मका राजधानीमा प्रभाव विस्तार मात्र गरेको छैन, ती मुलुकका परम्परागत सफ्ट-पावरलाई समेत धक्का दिन थालेको छ ।

गत पुसको मध्यमा काठमाडौंमा आयोजना भएको ‘ओताकु जात्रा’ र त्यहाँ उपस्थित माहोल हेर्दा लाग्छ, नेपालमा समेत कोरियाली क्रेज जबरजस्त छ । नेपाली टिनएज पुस्तामा कोरियाली पात्र, पपक्रेज र स्टारहरुको छविको प्रभाव बुझ्न उक्त जात्रालाई हेरे पुग्छ ।

उक्त जात्रामा कोरियाली स्टार र पात्रको हुलियामा पुगेका नेपाली तन्नेरी किशोरीमध्ये कतिपय दक्षिण कोरियाली गर्ल-ब्याण्ड ब्ल्याक पिंकका फ्यानहरु थिए । विश्व संगीतको चार्टबस्टरमा पछिल्लो समय ब्लकबस्टर मानिएको उक्त ब्याण्डका कतिपय गीत नेपाली नेटिजनमाझ चर्चित मात्र छैनन्, सोसल साइटमा ट्रेन्डिङमा पनि आउने गरेका छन् ।

सन् २०१६ देखि सांगीतिक करिअर थालेको चार किशोरीको ब्याण्ड ब्ल्यांकपिंकले यतिबेला विश्वको ध्यान खिचेको छ । ब्यान्डका चार सदस्य जिसो, जेनी, रोजी र लिसाले हालै अन्तर्राष्ट्रिय टुर सकेका छन् र त्यसयता लोकप्रियताको ग्राफ ‘रकेट साइन्स’को गतिमा उकालो लाग्दैछ । ब्यान्डको नयाँ गीत ‘डु डु डु डु’ गीतलाई शुक्रबारसम्म १ अर्ब ८२ करोड पटक हेरिएको छ । तर व्यक्तिगततर्फ गायक साईको ‘गङनम स्टाइल’ तीन बिलियन भ्युजसहित शीर्षस्थानमा कायमै छ ।

सामाजिक सञ्जालमा समेत ब्ल्यांक पिकलाई पछ्याउने प्रशस्तै छन् । ब्याण्डकी मुख्य डान्सर तथा सदस्य लिसा १६ मिलियन फलोअर्ससहित इन्स्टाग्राममा सर्वाधिक पछ्याइने के-पप स्टार बनेकी छन् । अझै केही वर्ष ब्याण्डको अन्तर्राष्ट्रिय टुर पूर्णरुपमा व्यस्त छ ।

क्यालिफोर्नियामा आयोजना हुने कोएचिला फेस्टिभलमा प्रस्तुति दिने ब्ल्याक पिंक पहिलो कोरियाली गर्ल ब्याण्ड हो । उक्त फेस्टिभलमा यसअघि एरियाना ग्रान्डे, चाइल्डिस गाम्बिनो र टेमी इम्पालाले कन्सर्ट गरिसकेका छन् । ब्यान्डले सन् २०१९ को सुरुवातमा पहिलो अन्तर्राष्ट्रिय टुरअन्तर्गत अमेरिका, युरोप र एसियाली यात्रा समेत पूरा गर्‍यो ।

अनि पछि फर्केर हेर्नुपरेन

भाग्यले कहाँबाट युटर्न लिन्छ पत्तो हुँदैन । यस्तै भयो ब्ल्याकपिंकलाई । सन् २०१६ मा स्थापना भएको ब्यान्डको गीत ‘डु डु डु डु’ले ब्यान्डको लोकप्रियतालाई एकैपटक उचाइमा पुर्‍याइदियो । त्यसयता ब्यान्डले पछि फर्केर हेर्नुपरेको छैन । साथै, रिलिजको २४ घण्टामै यसले ब्वाइ ब्यान्ड बीटीएस र गायक साईका चर्चित गीतहरुको रेकर्डलाई समेत उछिन्यो । केही महिनापछि यसले ५५० मिलियन भ्युज हासिल गर्ने दक्षिण कोरियाली पपगीतको कोसेढुंगा निर्माण गर्‍यो ।

यो हिट ट्रयाकबाहेक गत अक्टोबरमा अमेरिकी पपगायिका डुआ लिपासँगको द्विभाषी गीत ‘किस एण्ड मेकअप’मार्फत ब्ल्याक पिंकले अन्तर्राष्ट्रिय श्रोता-दर्शकमाझ छाप छाड्न सफल भयो । गीतको लोकप्रियता मापन गर्ने अमेरिकी एजेन्सी बिलबोर्डको उत्कृष्ट दश सूचीमा अटाउन सक्यो । उक्त सूचीका विभिन्न विधामा समावेश हुने पहिलो कोरियाली महिला ब्याण्डको कीर्तिमान समेत यसले रच्यो ।

ब्याण्डको नाम ब्ल्याक पिंक राख्नुको पछाडि स्त्रीत्व जनाउने गुलाबी रङको अवधारणा थियो । तर ब्ल्याक पिंक स्थापनापछि वाइजी इन्टरटेनमेन्टले यो ब्याण्डले सौन्दर्यभन्दा बढी सन्देश र काममा मूर्तता दिनु मुख्य उद्देश्य रहेको बतायो । यो सन्देशलार्ई प्रतिविम्बित गर्ने रुपमा गायिका जेनी गाउँछिन्, ‘म राम्री देखिन सक्छु तर सोहीअनुसार अभिनय गर्न सक्दिन ।’ यो वाक्यमा स्त्रीको आवरण र उनीहरुको मनमा उत्पन्न हुने भोगाइको अन्तरविरोधलाई चित्रण गरिएको छ ।

ब्ल्याक पिंकको सफलता ओभरनाइट हासिल भएको होइन । डिस्कोग्राफी हेर्दा लाग्छ, धेरै असफलताको स्वाद चाखेर मात्र ब्याण्ड चुचुरोमा पुगेको हो । सन् २०१६ मा खुलेको ब्याण्डका २० वटा गीत रिलिज गरिसक्दा पनि बिलबोर्डको सूचीमा अटाउन सकेको थिएन । तर जब ‘किल दिस लभ’ ट्रयाक रिलिज भयो, ब्ल्याकपिंकको पटकथा बदलियो । यो गीत अनलाइनमा भाइरल मात्र बनेन, ब्याण्डलाई के-पपमा स्थापित गरिदियो ।

उक्त गीतको सिग्नेचर डान्सलार्ई पछ्याउँदै दक्षिण कोरिया मात्र नभएर विश्वभर नै कभर गीत बने । बोल्ड र्‍यापिङ, शक्तिशाली गायन र सुन्दर स्टाइलबाट प्रभावित भएर फ्यानले ब्ल्याक पिंकलाई त्यसरी पछ्याए । ‘किल दिस लभ’ले दिलाएको चर्चामा गति थप्ने काम गर्‍यो ‘डुडुडुडु’ र ‘स्क्वायर अप’ले । ‘डुडुडुडु’ बिलबोर्डको उत्कृष्ट १०० को सूचीमा ५५ औं स्थानमा छ । यिनै दुई गीतको माध्यमबाट सन् २०१८ मा ब्याण्डले पहिलोपटक अन्तर्राष्ट्रिय ध्यान आकृष्ट गर्न सक्यो ।

बिलबोर्डमा समावेश भएपछि ब्याण्डले पहिलोपटक इन्टरस्कोप रेकर्ड र युनिभर्सल म्युजिक ग्र्रुपसँग सांगीतिक सहकार्यको सम्झौता गर्‍यो । यी विकासक्रमले गर्ल ब्याण्ड ब्ल्याक पिंकलाई सफलताको उचाइमा मात्र पुर्‍याएन, अर्को के-पप ब्यान्डले दक्षिण कोरियाली सौम्य शक्तिलाई विश्वमाझ पुर्‍याउन सक्यो ।

ब्ल्याक पिंकको विकासक्रमलाई विभिन्न खण्डमा बाँडेर हेर्न सकिन्छ । सन् २०१० देखि २०१६ सम्म स्थापना र एल्बम रिलिजअघिका गतिविधिमा ब्याण्ड सक्रिय रह्यो । सन् २०१६ देखि २०१७ सम्म ब्यान्डको उदय, लोकप्रियता र व्यवसायिक सफलताको वर्ष रह्यो । सन् २०१८ देखि २०१९ सम्म पहिलो अन्तर्राष्ट्रिय टुर र प्रभाव विस्तारको वर्ष रह्यो । सन् २०२० यता पहिलो एल्बम रिलिजसँगै विभिन्न स्थानमा कन्सर्टमा ब्याण्ड व्यस्त छ ।

के-पपको सफलता कुनै घटना होइन

एक दशकमै दक्षिण कोरियाली संस्कृति यिनै सौम्य शक्तिको रुपबाट डेढेलोजसरी विश्वभर फैलिने क्रममा छ ।  सन् १९८० दशकको अन्त्यतिर उदारीकरण सुरु भएसँगै सेन्सरसिपमा खुकुलो, यात्रा प्रतिबन्ध खुला र अर्थतन्त्रको विविधिकरणजस्ता कार्यले दक्षिण कोरियाली संस्कृति फैलिने मौका पायोे । यसो हुनुमा कुनै खास घटना जिम्मेवार छैन ।

‘हल्यू’ भनिने कोरियाली सफ्ट-पावरको विकास यसमा जिम्मेवार छ । दक्षिण कोरिया मात्र एक्लो हैन, विभिन्न देशले सांस्कृतिक आयोगमा लगानीदेखि लिएर कूटनीतिक सम्बन्धलाई बलियो तुल्याउनेतर्फ काम गरिरहेका छन् ।

दक्षिण कोरियाली आधुनिक पप संस्कृतिको सुरुवाती बिन्दू चाहिं अघिल्लो दशकदेखि नै थालनी भएको मानिन्छ । सन् १९५९ मा किम दिदीबहिनी पहिलोपटक अमेरिकी राज्य लस भेगासमा सांस्कृतिक प्रस्तुतिको लागि पुग्नुलाई के-पपको अन्तर्राष्ट्रिय टुरको पहिलो चरण मानिन्छ । द एड सुलिभान सोमा २२ पटक प्रस्तुत भइसकेको यो ब्याण्डलाई के-पपको पहिलो सांस्कृतिक दूतदेखि अमेरिकाको मौलिक के-पप स्टार्स समेत बताइन्छ । तर हल्यू अर्थात् कोरियाली सांस्कृतिक लहर चाहिं सन् १९९० दशकको अन्त्यतिर सुरु भएको आर्थिक संकटपछि सुरु भएको हो ।

‘साउथ कोरियन पपुलर कल्चर एण्ड नर्थ कोरिया’ नामक पुस्तकमा उल्लेख भएअनुसार सरकारले ‘नयाँ आर्थिक पहलको रुपमा मिडिया संस्कृति निर्यात गर्ने योजना अघि सार्‍यो’ । दक्षिण कोरियाले यसो गर्नुमा मुलुकको आर्थिक अस्तित्व र विदेशी राजस्वको स्रोतलाई ध्यानमा राखेको थियो ।

सन् १९९८ मा राष्ट्रपति किम दोय जुङले आफूलाई ‘प्रेसिडेन्ट अफ कल्चर’को रुपमा चिनाएका थिए । उनकै प्रशासनले पहिलोपटक जापानबाट हुने सांस्कृतिक उत्पादनको आयातलाई खुकुलो तुल्याएको थियो । त्यसको केही वर्षमै सरकारले सांस्कृतिक उद्योग प्रवद्र्धन गर्न कानुनसमेत लागु गर्दै १४८.५ मिलियन डलर रकम विनियोजन गरेको थियो ।

नेपालले मौलिक सफ्ट-पावरलाई बलियो बनाउनुपर्छ

नम्रता श्रेष्ठ र कर्मा अभिनित फिल्म ‘सानो संसार’ तथा नम्रता श्रेष्ठ र आर्यन सिग्देल अभिनित ‘मेरो एउटा साथी छ’ समेत कोरियाली सिरिज र फिल्मबाट प्रभावित मानिन्छ । यी दुई फिल्मलाई पहिलोपटक नेपाली फिल्म कसरी दक्षिण कोरियाली सांस्कृतिक आयामबाट प्रभावित भए भन्ने उदाहरणको रुपमा लिन सकिन्छ ।

यी दुई फिल्मले नेपालमा कोरियाली टच दिन भूमिका खेलेको समीक्षक बताउँछन् । आलोक नेम्वाङ निर्देशित फिल्म ‘सानो संसार’ दक्षिण कोरियाली फिल्म ‘माइ सेसी गर्ल’बाट प्रभावित भएको मानिन्छ । मेरो एउटा साथी छ चाहिं कोरियाली फिल्म ‘अ मिलिनियर्स फस्ट लभ’को रिमेक भएको बताइन्छ । समीक्षकहरु यी दुई फिल्मले नेपालमा कोरियाली सिनेमाको प्रभाव विस्तार गर्न भूमिका खेल्ने टिप्पणी गर्छन् ।

अर्कोतर्फ, फिल्म वितरक हरि बरालले पहिलोपटक नेपालमा दक्षिण कोरियाली फिल्मको व्यावसायिक रिलिजको थालनी त गरे, तर व्यावसायिक असफलतापछि उनी पछि हटे । वान सिनमाज् सञ्चालक कम्पनी आइकोर फिल्म्सले नियमित रुपमा नेपालमा कोरियाली फिल्मलाई अंग्रेजी सबटाइटलमा रिलिज गर्ने तयारी थालेको छ । ‘नेपालमा पछिल्लो समय बढ्दो कोरियाली फिल्मका दर्शकको मागलाई ध्यानमा राख्दै फिल्म रिलिज गर्ने तयारीमा छौं,’ आइकोरका निर्देशक प्रज्ज्वल राणा भन्छन् ।

नेपालकै अर्को विदेशी फिल्म वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले त यसै महिनादेखि व्यावसायिक रुपमा जापानी फिल्मको प्रदर्शन थालनी गरेको छ । ‘माइ अकाडेमिया एण्ड सुपरहिरोज’ नामक फिल्मलाई रिलिज गरेको एप्पलले अन्य जापानीभाषी फिल्मलाई समेत रिलिजको योजना बनाएको छ । ‘नेपालमा जापानी फिल्मको बजार पनि राम्रो देखेका छौं,’ एप्पलका रुबेन श्रेष्ठ भन्छन्, ‘सुरुमै पैसा नकमाइएला तर यसले दर्शकलाई बानी पार्न सक्छ ।’

यी दुई फिल्म वितरकले भनेजस्तै, नेपालमा कोरियाली र जापानी सफ्ट-पावरको प्रभाव अझै बढ्न सक्ने देखिन्छ । फिल्म समीक्षक तथा निर्देशक मनोज पण्डित भन्छन्, ‘विदेशी सफ्ट-पावरलाई काउन्टर दिन नेपालले आफ्नै सांस्कृतिक उत्पादनलाई बलियो बनाउनुपर्छ तब मात्र हामी अन्तर्राष्ट्रिय रुपमा खरो उत्रिन सक्छौं ।’

एजेन्सीहरुको सहयोगमा

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?