+
+

सखुवाप्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच चर्को विवाद

एकले अर्कोलाई लगाए हातपात गरेको अरोप

सुरेश बिडारी सुरेश बिडारी
२०७८ फागुन २३ गते १९:१०

२३ फागुन, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले एक अर्कामाथि हातपात गरेको आरोप लगाएका छन् । १८ फागुनमा भएको आठौं गाउँसभाको विषयलाई लिएर अध्यक्ष प्रदीपकुमार जयसवाल र उपाध्यक्ष फुलमती देवी थरुइनबीच विवाद बढेपछि एकले अर्कोमाथि हातपात गरेको आरोप लगाएका हुन् ।

उपाध्यक्ष थरुइनले आफूलाई थाहै नदिई गाउँसभा गरेको विषयमा जानकारी माग्दा आइतबार गाउँपालिका कार्यालयमा अध्यक्ष जयसवालले आफूमाथि हातपात गरेको बताइन् । उनी आइतबार दिउँसो वीरगञ्जस्थित नारायणी अस्पतालमा समेत भर्ना भएकी थिइन् । अध्यक्षले धकेलेका कारण छातीमा चोट लागेको र देब्रे हातमा निलडाम देखिएको उपाध्यक्ष थरुइनको भनाइ छ ।

अध्यक्ष जयसवालले आफूलाई धकेलेर उपाध्यक्षको कार्यकक्षमा थुनेर राखेको थरुइनले बताइन् । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई फोन गरेपछि मात्रै एक जना कर्मचारीले ढोका खोलिदिएको उनको भनाइ छ ।

अध्यक्ष जयसवालले आफू निकट जनप्रतिनिधिसँग मिलेर लुकिछिपी गाउँसभा गरेको उपाध्यक्ष थरुइनले बताइन् ।

‘अनुगमनबाट फर्केकी थिएँ, वडा अध्यक्षहरु बसिरहनुभएको रहेछ, मलाई पनि बसाइदिनुभयो, पछि अध्यक्ष पनि आउनुभयो’ उनले भनिन्, ‘मलाई र केही कार्यपालिका सदस्यलाई थाहा नै नदिई किन गाउँसभा गरेको ? हामीलाई पत्रसमेत काटेको छैन भनेर सोधेको मात्रै के थिएँ, खाली मेरो सिकायत मात्रै गर्नुहुन्छ, तपाईलाई जे मन लाग्छ त्यही गर्नुहुन्छ भनेर हातपात गर्न थाले । उनीहरु धेरै थिए, म एक्लै थिएँ । मलाई मेरै कार्यकक्षमा लगेर थुनिदिए ।’

वडा नं २ का वडा सदस्य प्रदीपप्रसाद चौधरीले पनि आफूलाई गाउँ सभाको बारेमा जानकारी नभएको बताए । ‘पटक पटक आयव्यय विवरण मागेका छौं देखाउनुहुन्न । योजना पनि मनोमानी ढंगले छनोट गर्नुहुन्छ’ उनले भने ‘निर्णय नै नलेखी हस्ताक्षर गराउनुहुन्छ, नोट अफ डिसेन्ट लेख्यो भने पाना नै च्यातिदिनुहुन्छ ।’

उपाध्यक्षसहित वडा नं २ का दुई जना वडा सदस्य, वडा नं १ को एक जना वडा सदस्य र वडा नं ४ को वडा अध्यक्ष र ४ जना वडा सदस्यलाई बेवास्ता गरेर अध्यक्ष जयसवाले काम गरेको वडा सदस्य चौधरीको भनाइ छ ।

गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले भने उपाध्यक्षले लगाएको आरोप सबै निराधार रहेको बताए । बरु उपाध्यक्ष थरुइनले नै आफूमाथि हातपात गरेको उनले बताए ।

‘मलाई नसोधी आफैं मेरो कार्यकक्षमा आउनुभयो, गाउँसभा किन गरेको भनेर विवाद गर्नुभयो, चर्को चर्को स्वरमा बोल्नुभयो, शान्त भएर बसेर कुरा गर्नुस् भन्दा मान्नुभएन’ उनले भने, ‘मैले हातपात गरेको छैन, उहाँको आरोपमा सत्यता छैन, सिसिटीभी फुटेज हेर्न सक्नुहुन्छ, बरु उल्टै उहाँले हातपात गर्नुभएको छ ।’

उपाध्यक्ष थरुइनले अध्यक्ष जयसवालले हात छोडेपछि आफू चुप लागेर बस्न नसकेको प्रतिक्रिया दिइन् । सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै जना तत्कालिन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन् । तर उनीहरुबीच कार्यकालको धेरै समय सम्बन्ध राम्रो हुन सकेन । जसका कारण गाउँको विकास निर्माणका काम प्रभावित बनेको स्थानीय बताउँछन् ।

अध्यक्ष जयसवालले गाउँसभाको विषयमा भन्दा पनि आगामी चुनावको विषयलाई लिएर उपाध्यक्ष थरुइन आवेशमा आएको प्रतिक्रिया दिए । ‘उहाँको गतिविधि राम्रो नभएकोले आगामी चुनावका लागि उपाध्यक्षमा अर्को उम्मेदवार ल्याउने तयारी भइरहेको छ, अर्कोतिर मैले आफ्नो आमाबुवाको नामबाट गाउँपालिकाका लागि ९ कठ्ठा १० धुर जमिन पास गराउँदैछु’ उनले भने ‘जग्गा पास भएपछि गाउँपालिका भवन शिलान्यासको तयारी छ, यिनै कुराहरुमा अपच भएर उहाँ हातपातमा उत्रनुभयो ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले हातपात भएकोबारे प्रहरीमा उजुरी नआएको बताए ।

‘दिउँसो अध्यक्ष र उपाध्यक्षबीच विवाद भएको जानकारी आएपछि हामीले टोली पठाइदिएका हौं, आन्तरिक विवाद हो भनेर प्रहरीलाई फिर्ता पठाइदिनुभयो’ उनले भने, ‘बजेटको विषयमा विवाद भएको भनिएको थियो, दिउँसो नारायणी अस्पतालमा आएर उपाध्यक्षले आफूमाथि कुटपीट भयो भन्नुभएको रहेछ, उजुरी त आएको छैन ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?