+
+

साक्षरता दर बढ्यो, चेतना बढेन

लेखक गिरी भन्छिन् ‘पहिलाको तुलनामा धेरै सुधार भएको छ । तर त्यो पर्याप्त छैन । त्यो अहिले पल शाह घटनाले पनि देखाउँछ । हाम्रो शिक्षा प्रणाली सुधार गर्नुपर्ने देखिन्छ ।’

नुनुता राई नुनुता राई
२०७८ फागुन २४ गते ८:३५

२३ फागुन, काठमाडौं । शैक्षिक गुणस्तर मापन केन्द्रको २०७६ को तथ्यांकअनुसार पछिल्लो १० वर्षमा १० प्रतिशतले नै शैक्षिक गुणस्तर बढेको छ । यो सरकारी तथ्यांकलाई आधार मान्ने हो भने शिक्षा अनुसारको चेतनाको विकास पनि हुनुपर्ने हो । तर सरकारको दाबी अनुसार शैक्षिक गुणस्तर बढेको मान्न नसकिने शिक्षाविद् तथा लेखकहरूको तर्क छ ।

सामाजिक सञ्जाल, सञ्चारमाध्यामको पहुँच, इन्टरनेटको पहुँचसँगै समाजमा भइरहेका हरेक गतिविधि क्षणभरमा नै मासमा पुग्छन् । त्यसको प्रभाव पनि स्वभाविक रुपमा बृहत रुपमा हुने गर्छ ।

संवेदनशील र कानुनले अपराध मानेको घटनाहरू बाहिरिएपछि पक्ष विपक्ष स्पष्ट रुपमा छुटिन्छ । आरोपितभन्दा पीडितहरूको चरित्रमा विभिन्न लाञ्छना लगाउँदै सार्वजनिक रुपमा हिंसा सुरु हुन्छ । जब यस्ता विषयहरूले उग्र रुप लिन्छ तब हाम्रो समाजको चेतनाको स्तर, शैक्षिकस्तरमा पनि प्रश्नचिन्ह उठ्ने गर्छ ।

पछिल्लो समय पल शाह प्रकरणपछि पनि नेपाली समाजको शैक्षिक स्तर, जनचेतनाबारे कुरा उठिरहेको छ । नेपाली शिक्षा प्रणालीले नागरिकको चेतना स्तर नबढाएको, सोचाईं फराकिलो बनाउन नसकेको कुराहरू भइरहेका छन् ।

नेपाली शिक्षा प्रणालीले शिक्षित हुने नागरिक उत्पादन गर्नेभन्दा पनि साक्षर हुने नागरिकको संख्या मात्रै बढाइरहेको लेखक आन्विका गिरी जिकिर गर्छिन । भन्छिन् ‘अहिले सरकारले दाबी गरे अनुसार साक्षर व्यक्तिको दर बढेको होला तर त्यसलाई शिक्षित नागरिकको दर मान्न सकिँदैन । शिक्षाले ज्ञान बढाउँछ । सोचाइ फराकिलो बनाउन सिकाउँछ । त्यो सिकाएको छैन भन्ने ताजा दृश्य त पल प्रकरण नै हो नि ।’

नेपालको शिक्षा प्रणालीले हिंसाविरुद्ध, समानताको बारेमा, हक, अधिकारको बारेमा कहीँ कतै नसिकाउने भएकोले यसलाई शिक्षितको आधार मान्न नसकिने उनको भनाइ छ । लेखक गिरी भन्छिन् ‘हाम्रो शिक्षाले लैंगिक हक, अधिकार, समभाव सिकाउँदैन । हाम्रो शिक्षामा महिला पुरुष समान हुन भन्ने कुरा नै समेटिएको छैन । अझै पनि शक्ति, पहुँच, नेतृत्वको विषयको सामाग्रीमा पुरुषलाई मात्रै चित्रित गरिन्छ । यस्तो शिक्षाले कसरी ज्ञान दिन्छ ।’

त्यसैले अहिलेको शिक्षाले ज्ञान नभएर साक्षर बनाउने काम मात्रै गरिरहेको उनको बुझाइ छ । भन्छिन् ‘शिक्षितको संख्या बढेको भए सभ्य समाज अथवा सभ्य समाज उन्मुख हुन्थ्यौं होला तर हाम्रोमा कुनै घटनासँगै विचार राख्नेहरू हेर्दा हामी त झन पछाडि गइरहेका छौं ।’

कुनै पनि व्यक्तिको व्यत्तित्व निर्माणमा विद्यालयमा सिक्ने, पढ्ने, पाठ्यपुस्तकमा हुने कथाले, चित्रले महत्वपूर्ण छाप पार्ने भएकोले पाठ्यपुस्तक निर्माण गर्दा, पढाउँदा संवेदनशील हुनुपर्ने नील बाराही माध्यामिक विद्यालयको प्रधानाध्यापक जानुका नेपाल पौडेल बताउँछिन् ।

पाठ्यक्रमबाटै समानताका कुरा, महिला हिंसासम्बन्धी जानकारी, कानुनबारे बालबालिकालाई शिक्षा दिनुपर्ने उनको भनाइ छ । भन्छिन् ‘पहिलाको तुलनामा धेरै सुधार भएको छ । तर त्यो पर्याप्त छैन । त्यो अहिले पल शाह घटनाले पनि देखाउँछ । हाम्रो शिक्षा प्रणाली सुधार गर्नुपर्ने देखिन्छ ।’

पल शाह प्रकरणले शैक्षिक प्रणालीमाथि पनि प्रश्न उठाएको उनको बुझाइ छ । समाजमा शिक्षाले सचेतना बढाउँछ । भन्छिन् ‘हुन त यो अहिलेको विषय भएर हो । तर योसँगै घरेलु हिंसाका तथ्यांक, बलात्कारका घटनाहरू हेर्दा हामी शिक्षाबाट सचेतना दिने काममा चुकिरहेका छौं भन्ने लागिरहन्छ ।’

अवस्था देखाएको उनको भनाइ छ । यो प्रकरणपछि बालबालिकाले बलात्कार कस्तो अवस्थामा हुने, हाम्रो देशको कानुनले कुन कुन अवस्थालाई बलात्कार मानेको छ भनेर बुझाउनुपर्ने जरुरी लागेपछि ठानेर कक्षा ११ र १२ को बालबालिकासँग दुई घन्टा अन्तरक्रिया गरेको बताउँछिन् । भन्छिन् ‘यो घटनामा प्रतिकृया दिने, पल शाहको पक्षमा र्‍याली जाने जमात देखेपछि यौन हिंसा, बलात्कार, कानुनी व्यवस्थाबारे छलफल गर्नुपर्छ भनेर दुई घन्टा छलफल गरें । उनीहरूको प्रतिकृया मिश्रति थियो । मैले बुझाउने प्रयास गरें ।’ उनले यस्ता कुराहरुलाई माथिल्लो कक्षाका बालबालिकासँग कसरी नियमित छलफल गर्न सकिन्छ भनेर सोचिरहेको बताइन् ।

नेपालमा आलोचनात्मक चेतको विकास गर्ने शिक्षा अथवा सही गलत छुट्याउन सक्ने ज्ञान दिनको लागिभन्दा पनि आफू जस्तै बनाउनको लागि शिक्षा दिइने गरिएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् ।

उनी भन्छन् ‘हाम्रोमा शिक्षा होइन दीक्षा दिइन्छ । शिक्षाले सही के हो, गलत के हो भन्ने छुट्याउने ज्ञान दिन्छ । दीक्षाले मैले के गरें त्यहि गर्नुपर्छ भन्ने भन्ने दीक्षा दिन्छ ।’

कोइरालाका अनुसार राजनीतिक दलहरूको कारण यस्तो शैक्षिक प्रणालीको विकास विकराल बन्दै गइरहेको छ । उनी भन्छन् ‘शिक्षक बन्न जाने, प्राध्यापक बन्न जाने व्यक्तिहरू राजनीतिक आग्रह कै मान्छेहरू हुन । उनीहरूले शिक्षाभन्दा पनि दीक्षा दिन्छन् । शिक्षा दिने प्राज्ञिक व्यक्तिहरूको जमात अत्यन्तै सानो छ । सानो जमात निरीह छ ।’

पल शाह प्रकरणमा पनि त्यही प्रवृत्तिको देखिएको उनको भनाइ छ । पल शाहले गलत आसयले बालिकालाई आफ्नो प्रभावमा पारेर बलात्कार गरेको भन्ने स्पष्ट हुँदाहुँदै पनि उनकै पछि लाग्नेहरू त्यही दीक्षा प्राप्त जमात भएको उनी बताउँछन् । कानुनले अपराध किटान गरेको कुरालाई सामान्य रुपमा लिनु भनेको दीक्षा प्रवृत्ति मात्रै नभएर कानुन बनाउनेहरूको व्यवहारको कारण पनि हुने गरेको उनको भनाइ छ । ‘१८ वर्षमुनिकाले विवाह गर्नु हुँदैन भनेर कानुन पनि बनाउने अनि तीनै व्यक्ति १८ वर्षमुनिका बालबालिकाको विवाहमा जन्त पनि जान्छन् त्यसले पनि कानुन केही पनि होइन रहेछ भन्ने बनाएको हो,’ कोइरालाको भनाइ छ ।

शिक्षा दिने शैक्षिक प्रणाली नभएसम्म शिक्षित, सभ्य समाज निर्माण गर्न नसकिने शिक्षाविद् कोइरालाको तर्क छ । आलोचनात्मक चेत भएको जमातले मात्रै समाजलाई सकारात्मक बाटोमा लान सक्ने उनी बताउँछन् ।

लेखक गिरी भन्छिन् ‘शिक्षा प्रणाली पाठ्यक्रम मात्रै समावेशी बनाउने होइन, लेख्ने, कार्यान्वयन गराउने स्थानमा समावेशी छन् कि छैनन भन्ने कुरामा जबसम्म हामी ध्यान दिंदैनौं तबसम्म पढेलेखेको व्यक्तिहरूको उत्पादन मात्रै हुन्छ । शिक्षित, सभ्य नागरिकहरू उत्पादन हुँदैनन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?