+
+

कांग्रेसमा ‘छायाँ सभापति’

पार्टीको आन्तरिक जीवनको व्यवस्थापन गर्न देउवाले खड्कालाई अघि सारे । केन्द्रीय सदस्यहरुको वरियता निर्धारण गर्ने जिम्मेवारी समेत देउवाले उनैलाई सुम्पिए ।

लिलु डुम्रे लिलु डुम्रे
२०७८ फागुन २६ गते २१:४८

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचन लक्षित एक महिने अभियान घोषणा गर्दा सभापति शेरबहादुर देउवा उपस्थित भएनन् । पदाधिकारीहरुले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवालाई ल्याउन नचाहेका होइनन्, तर अघिल्लो दिन मात्र केन्द्रीय कार्यालय, सानेपा आएको भन्दै उनले बुधबार बिहान नआउने खबर पठाए ।

उपसभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारीको उपस्थितिमा प्रवक्ता डा. प्रकाशशरण महतले अभियानबारे जानकारी गराए । उपसभापति खड्का र महामन्त्री विश्वप्रकाश शर्माले सञ्चारकर्मीको प्रश्नको उत्तर दिएका छन् ।

नेताहरुका अनुसार १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा सरकार सञ्चालनमा केन्द्रित हुँदा पार्टी सञ्चालनमा भने उपसभापति खड्का हावी भएका छन् । पार्टी कार्यालयमा हुने पदाधिकारीहरुको बैठकको दृश्यले पनि त्यही भन्छ ।

केही दिनअघि भ्रातृ संस्थाको विधान टुंगाउन पदाधिकारी बैठक बोलाइएको थियो, सभापति देउवा उपस्थित थिएनन् । सभापति अनुपस्थित भएपछि स्वाभाविक रुपमा खड्का प्रभावी हुने नै भए । छिटो सकिने छलफललाई लम्ब्याउँदै लाने खड्काको आदत रहेको बताउँदै एक नेताले भने, ‘सभापति बैठकमा नभएपछि उहाँ लम्बेतान कुरा गर्नुहुन्छ । छिटो निर्णयमा पुग्न सकिने विषयलाई लामो समय बोल्नुहुन्छ । सभापतिको शक्ति प्रयोग गर्ने चाहना होला ।’

सभापति देउवा सत्ता सञ्चालनमा केन्द्रित हुँदा ‘पार्टीमा सभापतिकै भूमिका सरह’ उनी देखिंदै गएका छन् ।

खड्का भने सभापतिको अधिकार आफूले प्रयोग गर्नै नमिल्ने भन्दै प्रतिवाद गर्छन् । ‘सभापतिसँगको परामर्शपछि नै बैठक डाकिएको हो । सभापतिसँग छलफल नगरी बैठक बोलाउन कहाँ मिल्छ ?’ खड्काले अनलाइनखबरसँग भने ।

छायाँ सरकारको प्रभावकारी अभ्यास गर्न नसकेको कांग्रेसभित्र छायाँ सभापति बन्ने दौडले कति मूर्त रुप लिन्छ त्यो भने हेर्न बाँकी नै छ । यद्यपि १५ औं महाधिवेशनमा सभापति देउवाको उत्तराधिकारी हुने लक्ष्यका साथ खड्का सक्रिय छन् ।

समीकरणले पनि सहज

संस्थापन समूहमा खड्का बलशाली हुने क्रम बढेको उनी महामन्त्रीमा मनोनित भएदेखि नै हो । २०७५ को वैशाखमा देउवाले मनोनित महामन्त्रीमा खड्कालाई छनोट गरेका थिए । १३ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री डा. शशांक कोइराला पार्टी कार्यमा निष्क्रिय जस्तै भएकाले सभापतिको सारथि खड्काले मनोनित पश्चात बैठकका प्रस्ताव तयार गर्न थाले । संघीयता अनुसारको पार्टीको विधान तयार गर्ने महत्वपूर्ण समिति ‘विधान संशोधन मस्यौदा समिति’ को संयोजक खड्कालाई बनाइयो ।

१४औं महाधिवेशनमा परिणाम पनि पार्टीमा खड्काको बलियो उपस्थितिका लागि अनुकूल बन्यो । सभापतिको प्रत्यासी बनेर विमलेन्द्र निधिले संस्थापन समूहमा खड्कालाई अघि बढ्न बाटो खुला गरिदिए । उपसभापतिमा खड्का २ हजार १२१ मतका साथ विजयी भए । उपसभापतिमा विजयकुमार गच्छदार र महामन्त्रीमा डा. प्रकाशशरण महत पराजित हुँदा संस्थापनमा उनको शक्ति थप बढ्यो ।

विधानतः उपसभापतिद्वय खड्का र गुरुङको काम, कर्तव्य र अधिकार समान छ । तर खड्का पार्टी सञ्चालनमा हाबी हुँदा उपसभापति धनराज गुरुङको भूमिका गौण बनेको कांग्रेस नेताहरु नै बताउँछन् । मुलुकको बागडोर सम्हालेका देउवाले पार्टीका लागि धेरै समय उपलब्ध गराउन सम्भव हुँदैन । त्यसकारण पनि पार्टीको आन्तरिक जीवनको व्यवस्थापन गर्न देउवाले आफ्नो विश्वासपत्र खड्कालाई अघि सारेका हुन् ।

केन्द्रीय सदस्यहरुको वरियता निर्धारण गर्ने जिम्मेवारी समेत देउवाले उनैलाई सुम्पिएको एक नेताले जानकारी दिए । सभापतिमा पराजितलाई दोस्रो वरियता निर्धारण गर्ने कांग्रेसमा परम्परा थियो । यद्यपि विधानमा उक्त व्यवस्था भने छैन ।

छायाँ सरकारको प्रभावकारी अभ्यास गर्न नसकेको कांग्रेसभित्र छायाँ सभापति बन्ने दौडले कति मूर्त रुप लिन्छ त्यो भने हेर्न बाँकी नै छ । यद्यपि १५ औं महाधिवेशनमा सभापति देउवाको उत्तराधिकारी हुने लक्ष्यका साथ खड्का सक्रिय छन् ।

देउवा समूहको निर्विकल्प भावी सभापतिको उम्मेदवार बन्ने दाउमा रहेका खड्काले १४औं महाधिवेशनमा आफ्नै समूहमा समेत खेलेको कांग्रेसमा चर्चा हुने गर्दछ । देउवा प्यानलमा नपरे पनि महामन्त्रीमा उम्मेदवारी दिएका शर्मालाई विजयी गराउन खड्काको भूमिका रहेको कांग्रेस नेता–कार्यकर्ताहरु नै बताउँछन् ।

देउवाको अघिल्लो कार्यकालमा महामन्त्री रहेका खड्का र प्रवक्ता रहेका विश्वप्रकाश शर्माको ट्युनिङ मिलेको थियो । खड्का र शर्माको निकटता देउवा प्रधानमन्त्री भएलगत्तै एउटा घटनाले पनि पुष्टि गर्दछ । ‘मलाई देउवा मनपर्छ किनभने,’ भिडिओ प्रोपोगान्डाको खड्का र शर्माले संयुक्त रुपमा प्रतिवाद गरेका थिए । खड्का र शर्माले सामाजिक सञ्जालबाटै विरोध गरेका थिए ।

कर्णालीमा एकछत्र

१३ औं महाधिवेशनसम्म कर्णालीमा देउवा पक्ष कमजोर थियो । अघिल्लो अधिवेशनमा हुम्ला बाहेक सबै जिल्लाको सभापति पौडेल पक्षले जितेको थियो । अहिले अवस्था फेरिएको छ । खड्काका कारण कर्णालीमा संस्थापन पक्ष शक्तिशाली बनेको छ ।

१४औं महाधिवेशन नजिकिंदै गर्दा केन्द्रमा भन्दा प्रदेश र गृह जिल्ला सुर्खेतमा सक्रिय रहे । सुर्खेतमा उनी हाबी हुँदा त संस्थापनइतरले जिल्ला सभापतिको उम्मेदवार समेत उठाउन सकेन । १३ औं महाधिवेशनमा पौडेल पक्षले सभापति जितेको त्यहाँ देउवा पक्षका खड्ग पोखरेल निर्विरोध चयन भए । संस्थापनइतरका तत्कालीन जिल्ला सभापति कमलराज रेग्मी र पूर्वमन्त्रीद्वय खड्कबहादुर बस्याल र शिवराज जोशी महाधिवेशन प्रतिनिधिमै पराजित भए ।

सुर्खेत मात्र होइन, प्रदेश सभापतिसहित हुम्ला, डोल्पा, मुगु, जुम्ला, सल्यान, जाजरकोट, रूकुम पश्चिम जिल्ला सभापति देउवा पक्षबाट विजयी भएका छन् । यसपटक कालीकोट र दैलेख जिल्ला सभापति मात्र संस्थापनइतरले जितेको छ ।

आफूलाई पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’का सच्चा अनुयायी बताउने खड्का कांग्रेस विभाजित हुँदा कांग्रेस (प्रजातान्त्रिक) तिर लागेका थिए । त्यसयता उनले देउवालाई अविच्छिन्न साथ दिइरहेका छन् । अब खड्काका निमित्त देउवाले कस्तो भूमिका खेल्छन्, आउँदा दिनहरुमा खुल्दै जाला । खड्का स्वयम् भने १५ औं महाधिवेशनबाट पार्टी हाँक्ने सुरसारमा छन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?