+
+

ह्वील चेयरमा काठमाडौंदेखि गोरखासम्म

अपाङ्गता भएकाहरु पनि सक्षम हुन्छन् भन्ने सन्देश फैलाउने उद्देश्यले उनले काठमाडौदेखि गोरखासम्म ह्वील चेयर यात्रा गरेका छन् ।

विकास मरहट्टा विकास मरहट्टा
२०७८ फागुन २९ गते १७:५२

२९ फागुन, गोरखा । बारपाक सुलीकोट गाउँपालिका-८ जराङका दिवश परियार थाहा पाउँदादेखि नै अपाङ्ग छन् । मेरुदण्डको समस्याका कारण उनका दुवै खुट्टा चल्दैनन् ।

उनी ह्वील चेयरको सहारामा हिँडडुल गर्न थालेको धेरै भइसक्यो । अपाङ्गता भएकाहरु प्रति गरिने फरक व्यवहार र हेप्ने प्रवृत्ति उनलाई पटक्कै मन पर्दैन । अपाङ्गता भएकाहरु पनि सक्षम हुन्छन् भन्ने सन्देश फैलाउने उद्देश्यले उनले काठमाडौदेखि गोरखासम्म ह्वील चेयर यात्रा गरेका छन् ।

करिब १ सय ६० किलोमिटर दुरीको यात्रा उनले ६ दिनमा पूरा गरे । अपाङ्गता भएकाहरु प्रति गरिने व्यवहारमा परिवर्तन ल्याउनुपर्ने सन्देश दिने उद्देश्यले यात्रा गरिएको उनी बताउँछन् । ‘अपाङ्गता भएकाहरु कमजोर हुन्छन्, केही गर्न सक्दैनन् भन्ने मानसिकता धेरैमा छ,’ उनले भने, ‘त्यही सोच परिवर्तन गर्न र हामी पनि केही गर्न सक्छौं भन्ने सन्देश दिन यात्रा गरेका हौ ।’

काठमाडौं देखि गोरखासम्मको यात्रामा उनलाई उदयपुरका रौतामाई गाउँपालिका–१ भुटारका अशिष भुजेलले साथ दिएका थिए । २४ बर्षका भुजेल पनि मेरुदण्डको समस्याका कारण हिँडडुल गर्न सक्दैनन् । तर ह्वील चेयरको सहारामा उनले काठमाडौंदेखि गोरखासम्मको यात्रा गरे ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट यात्रा सुरु गरेका उनीहरु पहिलो दिन धादिङको धार्केमा बास बसेका थिए । दोस्रो दिन गजुरी, तेस्रो दिन चुम्लिङटार, चौथो दिन मुग्लिन र पाँचौ दिन गोरखाको बाह्र किलो बसेका उनीहरु शुक्रवार मध्यान्ह बाह्र बजे गोरखा सदरमुकाम आइपुगेका हुन् । ठाउँठाउँमा स्थानीय तह र संघसंस्थाको सहयोग पाएको उनीहरुले बताए ।

अपाङ्गमैत्री संरचना नहुँदा समस्या

यात्राको क्रममा अपाङ्गमैत्री संरचना नभएकाले समस्या भोग्नु परेको उनीहरुको गुनासो छ । ‘स्थानीय तहका भवनहरु, बास बस्ने होटलहरु र सार्वजनिक संरचनाहरु कुनै पनि अपाङ्गमैत्री देखिएन, हामीलाई निकै गाह्रो भयो,’ भुजेलले भने ।

संरचनाहरु अपाङ्गमैनी बनाउन उनीहरुले आग्रह समेत गरेका छन् । गोरखादेखि काठमाडौंसम्म पहिलो पटक ह्वीलचियर यात्रा गरेका उनीहरुले काठमाडौंदेखि गाइघाटसम्म पनि यात्रा गर्ने योजना रहेको बताएका छन् । उनीहरुलाई यात्राको क्रममा नविन रावलले आवश्यक सहयोग र समन्वय गरिरहेका छन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?