+
+

अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिताको स्वर्ण नेपाली सेनालाई

रासस रासस
२०७८ फागुन २९ गते १८:२६

२९ फागुन, काठमाडौं । नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी स्वर्ण पदक जित्न सफल भएको थियो ।

प्रतियोगितामा प्रमुख सेनानी सुधीर केसी, सहसेनानी पवन खत्री, उपसेनानी अनमोल प्रसाईं, जमदार राजकुमार सारु मगर, हुद्दाद्वय कृष्ण गुरुङ र मानकाजी तामाङ, प्युठ मनोज थापा, निकराज गुरुङ, युवीन अमगाईं, कपिल लामा र सिपाही अशोकबहादुर बम सहभागी थिए । नेपाली सेनाले उक्त प्रतियोगितामा पहिलो पटक भाग लिएको हो ।

प्रतियोगितामा भाग लिनुअघि सेनाले पूर्वतयारी स्वरुप विभिन्न गण र गुल्मबाट छानिएका सकल दर्जालाई चार हप्ताको तालिम प्रदान गरेको थियो । प्रतियोगितामा नेपाल, श्रीलङ्का, केन्या, मोरक्को, उज्वेकिस्तान, टर्की, जोर्डन, साउदी अरेबियालगायत मुलुकका सेना सहभागी थिए । पहिलो प्रयासमा अब्बल नतिजा हासिल गर्नुमा नेपाली सेनाको व्यावसायिकता, पेसागत दक्षता, दृढ सङ्कल्पसहितको अठोटले ठूलो बल पुर्‍याएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली टोलीमा सहभागी अधिकृत, पदिक र अन्य दर्जालाई ‘प्रधान सेनापति प्रशंसा पदक’ प्रदान गरे ।

सो अवसरमा सैनिक तालिम महानिर्देशक सीताराम खड्काले प्रतियोगितामा सहभागी नेपाली सैनिक टोलीले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने काम गरेको भनी प्रशंसा गरे । उनले भने, ‘छोटो तयारीमा पनि कडा परिश्रम र उच्च अनुशासनमा रही सैनिक व्यावसायिकता प्रस्तुत गर्दै अरु मुलुकका सेनाबीच नेपाली सैनिक टोलीले पृथक पहिचान स्थापना गर्न सफल भएको छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?