+
+

टोरेस र उवामेयाङले फर्काएको बार्सिलोनाको आशा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १३:०८

३० फागुन, एजेन्सी । ला लिगामा आफ्नो पुनरागमन यात्रा जारी राख्ने क्रममा बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा ओसासुनामाथि ४–० गोलअन्तरको प्रभावशाली जित हासिल गरेको छ । फेरान टोरेस र पिएर्रे एमरिक उवामेयाङ पुनः एकपल्ट बार्सिलोनाको जितमा नायक बने ।

१४ मिनेटको अन्तरमा तीन गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै खेल आफ्नो पक्षमा पारेको थियो । टोरेसले १४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

२१औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल  र २७औं मिनेटमा उवामेयाङले अर्को गोल थपे ।  दोस्रो र तेस्रो गोलका लागि ओस्मान डेम्बेलेले पास मिलाएका थिए । खेल सकिन १५ मिनेट बाँकी रहँदा रिक्की पिगले अग्रता फराकिलो बनाए ।

बार्सिलोनाको अबको ध्यान यही साता हुने दुई महत्वपूर्ण खेलमा हुनेछ । साताको मध्यतिर युरोपा लिगअन्तर्गत टर्कीको गालातासारेविरुद्ध अवे खेल तथा सप्ताहान्तमा रियल मड्रिडसँगको एल क्लासिको ।

‘यदि हामीले यही तीव्रतालाई कायम राख्न सक्यौं भने हामी जुनसुकै टोलीलाई पनि चुनौती दिन सक्छौं,’ बार्सिलोनाका प्रशिक्षक जाभीले भनेका छन् ।

ला लिगामा लगातार चौथो जितले बार्सिलोनालाई अंकतालिकाको तेस्रो स्थानमा पुर्‍याएको छ । एक खेल बढी खेलेको सेभियासँग ५ अंकको दूरीमा पुगेको छ । जुलेन लोपेटेगी प्रशिक्षित सेभियाले रायो भालेकानोसँग १–१ को बराबरी खेलेपछि बार्सिलोनालाई फाइदा भएको हो ।

सेभियाले ला लिगामा पछिल्लो ८ मध्ये ६ खेल बराबरीमा टुंग्याएको छ । भालेकानोसँगको बराबरीपछि यदि सोमबार रियल मड्रिडले मालोर्कालाई पराजित गरेको अवस्थामा शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने अवसर हुनेछ ।

पछिल्ला साताहरुमा बार्सिलोनाले सेभियासँगको दूरी छोट्याउँदै लगेको छ । यसको अर्थ लिगको दोस्रो स्थानमा रहने उसको वास्तविक लक्ष्य बन्न सक्छ । अहिलेको लय कायम रहेको अवस्थामा सेभियाले शीर्ष चारभित्र रहन पनि संघर्ष गर्नुपर्ने हुनसक्छ ।

सेभियाले लय गुमाउँदै जाँदा बार्सिलोना सुदृढ रुपमा अगाडि आएको छ । जनवरीमा टोरेस र उवामेयाङको अनुबन्धनले बार्सिलोनालाई पुनर्जीवन दिइरहेको छ । यो जोडीले जनवरी ट्रान्सफर विन्डोयता बार्सिलोनाका लागि ५–५ गोल गरिसकेका छन् । बार्सिलोनाले पछिल्लो पाँचमध्ये चार खेलमा कम्तीमा ४ गोल गरेको छ ।

‘फरान जहाँ रहे पनि गोल गर्न सक्छन्,’ प्रशिक्षक जाभीले यो जोडीबारे टिप्पणी गरेका छन्, ‘उवा त स्वर्गबाट प्राप्त उपहार हुन् ।’

नोभेम्बरमा जाभीले बार्सिलोनाको जिम्मेबारी लिँदा टिम नवौं स्थानमा थियो । बार्सिलोनाले अहिले तीव्रता र प्रभावशाली प्रदर्शन गरिरहेको छ, जसको श्रेय जाभीलाई पनि जानुपर्छ । यी सुधार रोनाल्ड कोम्यानको समयमा असम्भवजस्तो देखिएको थियो ।

सम्झौता नवीकरण गर्न अस्वीकार गरेका कारण समर्थकबाट समेत उपहासको शिकार भएका फ्रान्सेली स्ट्राइकर उस्मान डेम्बेलेलाई पनि पुनः एकीकृत गर्न जाभी सफल भएका छन् । यद्यपि अब सिठ्ठी बज्न छोडेको छ । ओसासुनाविरुद्ध बार्सिलोनाको जितमा दुई असिस्टसहित डेम्बेलेको भूमिका सबैभन्दा महत्वपूर्ण थियो ।

‘तपाईंले राम्रो खेल्नुहुन्छ भने मानिसहरु खुसी हुन्छन्,’ जाभीले भनेका छन्, ‘उनले बार्सिलोनाका लागि सबैथोक दिएका छन् । त्यसैले उनीप्रति प्रतिशोध नराख्नुहोस् ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?