+
+

युरोपमा हतियार आयात ह्वात्तै बढ्यो, हतियार धेरै बेच्ने मुलुकमा अमेरिका पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १६:५४

३० फागुन, काठमाडौं । युरोपमा रुसबाट हुन सक्ने खतराबीच हतियार आयात ह्वात्तै बढेको छ । युरोपमा पछिल्लो पाँच वर्षभित्र हतियार आयातमा विश्वमै धेरै वृद्धि भएको एक अध्ययनले देखाउँछ ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सीप्री) ले सार्वजनिक गरेको एक अध्ययन अनुसार पछिल्लो पाँच वर्ष (२०१७ देखि २०२१ सम्म) मा विश्वभर हतियार आयातमा ४.६ प्रतिशतले वृद्धि भएको छ । तर, युरोपमा भने उक्त अवधिभित्र हतियार आयातमा १९ प्रतिशतले वृद्धि भएको अध्ययनमा उल्लेख छ ।

‘युरोप नयाँ हटस्पट बनिरहेको छ’, सीप्रीको वार्षिक अध्ययनको सह-लेखन गरेका साइमन वेजेमेनले एएफपीसँग भने, ‘हामीले हाम्रो सैन्य बजेट निकै धेरै मात्रामा बढाउन गइरहेका छौं । हामीलाई नयाँ हतियार चाहिन्छ र यसमध्ये अधिकांश आयातबाट पूर्ति हुनेछ ।’ अधिकांश हतियार अमेरिकासहितका मुलुकबाट आउने पनि उनले बताए ।

विशेषगरी जर्मनीले आफ्नो सैन्य बजेट बढाउने घोषणा गरिसकेको छ । डेनमार्क र स्विडेनले पनि सैन्य बजेट बढाउने तयारी गरेका छन् । युक्रेनमा रुसी हमलापछि तर्सिएका युरोपेली मुलुकले आफ्नो सेनालाई अमेरिकाको एफ-३५ सहितका लडाकु विमान, क्षेप्यास्त्र र अन्य भारी हतियारले सुसज्जित पार्ने अपेक्षा गरिएको छ ।

वेजेमेनका अनुसार रुसले २०१४ मा क्राइमियालाई गाभेपछि युरोपमा हतियार आयात उकालो लाग्न थालेको हो । पाँच वर्षको अवधिमा विश्वव्यापी हतियार आयातको हिस्सामध्ये युरोपमा १० प्रतिशतबाट बढेर १३ प्रतिशत पुगेको र आगामी दिनमा निकै बढ्ने पनि उनले बताए ।

सीप्रीका अनुसार पछिल्लो पाँच वर्षमा धेरै हतियार किन्ने मुलुकमा एसिया र ओसेनिया क्षेत्रका छन् । विश्वभर हुने हतियार आयातको ४३ प्रतिशत हिस्सा ओगट्ने उक्त क्षेत्रका भारत, अष्ट्रेलिया, चीन, दक्षिण कोरिया, पाकिस्तान र जापानले सबैभन्दा धेरै हतियार आयात गर्छन् ।

संसारकै धेरै मानिस बसोबास गर्ने क्षेत्रमा पाँच वर्षभित्र हतियार आयात झण्डै ५ प्रतिशतले घटेको छ । तर पूर्वी एसिया र ओसेनियामा भने क्रमश: २० र ५९ प्रतिशतले आयात बढेको देखिन्छ । ‘चीन र एसिया एवं ओसेनियाका कैयौं मुलुकबीच जारी तनाव नै यो क्षेत्रको हतियार आयातको प्रमुख कारक हो’, सीप्रीको प्रतिवेदनमा उल्लेख छ ।

विश्वव्यापी हतियार आयातको ३२ प्रतिशत हिस्सा ओगट्ने र दोस्रो ठूलो हतियार बजारको रुपमा रहेको मध्यपूर्वमा ३ प्रतिशतले आयात बढेको छ । खाडीका आफ्ना छिमेकीसँगको तनावबीच कतारले सैन्य क्षेत्रमा लगानी बढाएका कारण यस्तो भएको हो ।

तर विश्वव्यापी हिस्साको ६/६ प्रतिशन ओगट्ने अमेरिका (उत्तर र दक्षिण दुवै) र अफ्रिकामा भने हतियार आयात क्रमश: ३६ र ३४ प्रतिशतले घटेको छ ।

त्यस्तै, सबैभन्दा धेरै हतियार खरिद गर्ने पाँच मुलुकमा भारत र साउदी अरब (११ प्रतिशत हिस्सा) शीर्ष स्थानमा छन् । शीर्ष पाँच सूचीमा रहेका अन्य मुलुकमा इजिप्ट (५.७ प्रतिशत), अष्ट्रेलिया (५.४ प्रतिशत) र चीन (४.८ प्रतिशत) रहेका छन् ।

यता धेरै हतियार बिक्री गर्ने मुलुकको सूचीमा अमेरिका पहिलो स्थानमा छ । विश्वभर हुने हतियार निर्यातमध्ये अमेरिका एक्लैले ३९ प्रतिशत हिस्सा ओगट्छ । दोस्रो स्थानमा रहेको रुसको हिस्सा घटेर १९ प्रतिशत पुगेको छ । चीनले किन्ने हतियारको मात्रा घट्दा रुसको हिस्सा समेत खुम्चिएको हो ।

त्यस्तै, तेस्रो स्थानमा रहेको फ्रान्सले विश्वभर हुने हतियार निर्यातको ११ प्रतिशत ओगटेको छ । चौथो स्थानमा रहेको चीनले ४.६ प्रतिशत र पाँचौ स्थानमा रहेको जर्मनीले ४.५ प्रतिशत हतियार निर्यात गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?