+
+

आरोप-प्रत्यारोपमा उत्रिए उपभोक्ता अधिकारकर्मी

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ फागुन ३० गते १७:०६

३० फागुन, काठमाडौं । सोमबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा उपभोक्ता अधिकारकर्मीहरुको ७ वटा संस्थाका प्रतिनिधिहरु भेला भएका थिए । विश्व उपभोक्ता अधिकार अन्तर्राष्ट्रिय दिवसको अघिल्लो दिन आयोजित कार्यक्रमको सुरुवातमै उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले आफ्नो धारणा राखे ।

‘एक्ला एक्लै हिंडेर हामी गन्तव्यमा पुग्दैनौं भन्ने निचोड भएपछि आज हामी सबै उपभोक्ता अधिकारकर्मीहरु मिलेर जाने निधो गरेका छौं,’ बानियाँले भने, ‘एक ठाउँमा बसेर साझा मुद्दामा पहल गर्ने गरी अब हामी संयुक्त धारणा बनाउँछौं । हामी नै लड्दा अर्कोले फाइदा लियो ।’ आफ्नो धारणा सकिने बित्तिकै बानियाँले बोल्नका लागि फोरममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनलाई बोलाए ।

बानियाँले राखेको प्रस्तावप्रति आपत्ति जनाउँदै मर्हजनले ज्योति बानियाँको प्रतिबद्धतामा आफू सहमत नभएको बताए । ‘मलाई घुसाखोरी भन्नेसँग कसरी सहकार्य हुन्छ,’ मर्हजनले प्रश्न गरे ‘दुई वर्ष अघि पानीको मूल्य तोक्ने विषयमा प्रेमलालले घुस खायो भनेर प्रचार गर्ने तपाईंहरु नै होइन ? के मैले घुस खाएको हो ? प्रमाणित गर्न सक्नु हुन्छ ?’

उपभोक्ता अधिकारकर्मीको रुपमा काम गर्नेहरुले एक अर्कोको अस्तीत्व नै स्वीकार गर्न नसकेको आरोप महर्जनले लगाए । अधिकारकर्मीहरु एक हुन नसक्दा अनुगमन र उपभोक्ता सचेतना कमजोर भएको मर्हजनले बताए । उपभोक्ता अधिकारकर्मी सहयात्रीहरुससँग आक्रोशित बनेका मर्हजन फोरम छोडेर बाहिरिए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमिल्सिनाले दातृ निकायको पैसाले अधिकारकर्मी चलेको आरोप लगाए । बजारको अवस्था बर्बाद भए पनि उपभोक्ता अभियान बलियो हुन नसकेको भन्दै उनले भने, ‘हामी एक नभएपछि राज्यले पनि काम गर्ने सकेको छैन,’ उनले भने, ‘आधारभूत कुरामै हामी कमजोर छौं । उपभोक्ताको मुद्दा ओझेलमा छ ।’

नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समूहका अध्यक्ष अप्सरा कोइरालाले उपभोक्ता अधिकारकर्मीहरुले एक मुखले अधिकारीको कुरा गर्ने र अर्को मुखले हप्ता असुल्ने काम भएपछि अधिकारकर्मीहरु बीच एकता नभएको बताइन् । ‘उपभोक्ताको नाममा शुद्धताको कुरा गर्ने अधिकारकर्मीले डिजेलमा ८० प्रतिशत मट्टितेल मिसाएको पम्पबाट हप्ता असुलेको पाइयो ।

‘कसरी उपभोक्ताकर्मीहरु एक हुन सक्छन् ?’ कोइराललाले प्रश्न भनिन् । अर्का अधिकारकर्मी शत्रुघनप्रसाद देवले अधिकारकर्मीहरुको बेमेलको फाइदा व्यापारीले उठाएको बताए ।

कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले उपभोक्ताको हितमा काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई छुट्याएर उपभोक्ता मन्त्रालय बनाउनु पर्ने बताइन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?